कहाँबाट आयो तिजका नाममा फजुल खर्च गर्ने पैसा ?

जनप्रतिनिधिहरूले समेत भोटका लागि तीजको कार्यक्रम आयोजना गरेका छन् । अधिकांश नगरपालिका, वडाले निःशुल्क तीजको दर खुवाउने कार्यक्रम राखेको छ, त्यो पनि महँगा पार्टी प्यालेसमा । यता, जनताहरू पनि त्यो रकम कहाँबाट आयो ? भनेर सोचविचार नै नगरी भोज खान पुगेका छन् । आज निःशुल्क खुवाउँछ भोलि हामीलाई नै तिराउँछ भन्ने कुरा बिर्सिएको स्पष्ट बुझिन्छ । वडाध्यक्ष, नगरप्रमुखहरूले तीजको कार्यक्रम पैसाको खोलो बगाएका छन् । कारण एउटै हो भोट ।

अनुषा थापा

यतिखेर तिजको लहर चलेको छ । तिज नेपाली महिलाहरूले मनाउने प्रमुख चाड हो । परम्परादेखि नै नेपाली समाजमा तिज मनाउँदै आइएको छ । विगतदेखि वर्तमानसम्म आइपुग्दा हरेक चाडपर्वमा परिवर्तन आएको छ । पहिलेजस्तो रौनक र महत्व पनि घट्दै गएको छ । दुई दशक अघिसम्म चेलीबेटीका लागि तिज भनेपछि केके न आयोजस्तो हुन्थ्यो । आफ्नो जन्मथलो जानकै लागि पनि छोरीचेली तीजको पर्खाइमा बस्थे । तीज आउनुभन्दा एकदिन अघि दाजुभाइहरू दिदीबहिनी लिन उनीहरूको घर जान्थे । तिजको अघिल्लो दिन मात्र दर खाने चलन थियो । नाच्ने, गाउने र रमाउने त तिजको दिन मात्र हुन्थ्यो । जसले गर्दा तिजको रौनक पनि छुट्टै थियो ।

बल्लतल्ल माइती पुगेका चेलीबेटीहरू तिजको दिन आफ्नो वर्षको पीडा, हर्ष पोख्थे । दाजुभाइ, आमाबुबासँग आफ्ना मनका कुराहरू बिसाउँथे । तिज महिलाको चाड भएकाले यसमा पुरुषहरूको सहभागिता रहँदैनथ्यो । तर, अहिले तिजले धेरै विकृति ल्याएको छ । तिज आउनुभन्दा दुई महिना अघिदेखि नै दर खान सुरु गरिन्छ । त्यो पनि घरमा नभई पार्टी प्यालेसमा । मांस मदिरा सेवन, उत्ताउलो नाचगान अहिले त प्रचलन बनिसकेको छ । महँगा वस्त्र लगाएर, गरगहना भिरेर नाच्न गाउने जानेको संख्या बढेको छ । यता, पुरुषहरू पनि तीजको दर खान पुगेका छन् । स्वास्नीको पछि लागेर लोग्नेहरू पनि तीजको कार्यक्रममा नाच्न पुगेका छन् ।

जनप्रतिनिधिहरूले समेत भोटका लागि तीजको कार्यक्रम आयोजना गरेका छन् । अधिकांश नगरपालिका, वडाले निःशुल्क तीजको दर खुवाउने कार्यक्रम राखेको छ, त्यो पनि महँगा पार्टी प्यालेसमा । यता, जनताहरू पनि त्यो रकम कहाँबाट आयो ? भनेर सोचविचार नै नगरी भोज खान पुगेका छन् । आज निःशुल्क खुवाउँछ भोलि हामीलाई नै तिराउँछ भन्ने कुरा बिर्सिएको स्पष्ट बुझिन्छ । वडाध्यक्ष, नगरप्रमुखहरूले तीजको कार्यक्रम पैसाको खोलो बगाएका छन् । कारण एउटै हो भोट । त्यति खान दिइसकेपछि भोट सजिलै पाइन्छ । कसैले आफ्नो पार्टीको विरोध गर्दैन भन्ने सोचाइ राखेर सित्तैमा तिजको भोज खुवाएको हो । यो रकम पनि जनप्रतिनिधिहरूले भ्रष्ट्राचार गरेरै आएको हो । तिजमा राजनीति छिरेको छ । चाडपर्वमा राजनीति छिर्दा त्यसले धेरै असर गर्छ ।

तिजको नाममा ठूलठूला आवाजमा गीत बजाउने र अरूलाई डिस्टर्ब गर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । आफ्नो स्वार्थका लागि अन्यलाई दुःख दिन त पाइएन नि । चाडबाडका नाममा विकृति र विसंगति फैलिएको छ । भ्रष्ट्राचार गरेर जोडेको सम्पत्ति पोख्ने राम्रो माध्यम तीज बनेको छ । राजनीतिक दलदेखि सरकारी कर्मचारीका श्रीमतीहरूले तीजको रमझममा भ्रष्ट्राचार गरेको सम्पत्ति उडाइरहेका छन् । नेपाली समाजमा तँ ठूलो कि म ठूलो भन्ने प्रवृत्ति अझै पनि यथावत छ । आफूलाई अरूभन्दा माथि देखाउन यहाँ होडबाजी नै चल्ने गरेको छ । देखासिकी यसको प्रमुख कारण हो । चाडपर्व पनि देखासिकी गरेर मनाउन थालिएको छ जसले गर्दा बेतिथि बढ्यो । हाम्रो मुलुकमा धेरै जनता मागेर खाइरहेका छन् । उपचार नपाएर सडकमा थलिएका छन् । तर, यसतर्फ कसैको अलिकति पनि ध्यान जाँदैन ।

तिजमा जथाभावी खर्च गर्नुको साटो कसैलाई सहयोग गरिदिने हो भने बिरामीले नयाँ जीवन पाउथे । खान नपाएकाले एक पेट भए पनि टन्न खान पाउथे । आश्रमतिर लगेर दान गरिदिँदा बुढाबूढी र बालबालिकाको अनुहारमा अलिकति भए पनि चमक आउँथ्यो । तर, सहयोग गर्न भनेपछि नेपालीको हात काम्छ । भोज खुवाएर सिद्धयाउँछन् तर गरिबलाई दिन भनेपछि उनीहरूको दाँतबाट पसिना आउँछ । दुई महिनाअघिदेखि नाच्नुको साटो आफ्नो घर वरपर सरसफाइ गर्दा सबैलाई सहज हुन्थ्यो । सडक बढारकँुडार पारेर चिटिक्क बनाउने, वृक्षरोपण गर्नेलगायतका काम गर्दा आफू बस्ने समाज सफासुग्घर देखिन्थ्यो । तर, यसतर्फ कसैको ध्यान जाँदैन । नाँच्न जान भनेर सबैसँग फुर्सद हुन्छ तर आफ्नै टोल समाज सफा गर्न कसैसँग समय हुँदैन ।

देशका जनता नै यस्तो भएपछि मुलुकको अनुहार फेरिनु असम्भव कुरा हो । यता, वडा र नगरपालिकाले अहिले जति पनि तिजका कार्यक्रम गरिरहेको छ, यो सब जनताले तिरेको कर हो । जनताले तिरेको कर जनप्रतिनिधिले जथाभावी खर्च गर्न पाउँदैनन् । आफ्नो कार्यकर्ता खुसी पार्नका लागि जनप्रतिनिधिले मनोमानी चलाएका छन् । वडा र नगर पालिकासँग तीजको कार्यक्रम गर्न जति पनि बजेट छ । तर, मिर्गौला, क्यान्सरजस्ता अन्य रोगबाट पीडितलाई सहयोग गर्न बजेट छैन । उनीहरूको उपचारमा थोरै भए पनि सहयोग गरिदिऊ भन्ने भावना अहिलेका जनप्रतिनिधिमा पाइँदैन । बाउआमा गुमाएका टुहुरालाई पनि सहयोग गर्ने चलन छैन । तर, तीजको कार्यक्रममा लाखौँ रुपैयाँ खर्च गरिएको छ । यस्ता जनप्रतिनिधिले के स्थानीय तहमा सुधार्न गर्लान् । जनताले तिरेको करमा वडाध्यक्ष र मेयरको रजाइँ चलेको छ ।

कार्यक्रम राख्ने अनि ठूलै नेता गएर दन्काउने । नेतालाई यस्तो अनुचित कार्य गर्न नैतिकताले दिन्छ ? गए गुज्रिएका नेताकै कारणले पनि हाम्रो चालचलन संकटमा परेको छ । यसमा पार्टी प्यालेसको पनि उत्तिकै हात छ । आखिर व्यापारीलाई जसरी हुन्छ कमाउनेतिर मात्र ध्यान हुन्छ । पार्टी प्यालेस सञ्चालकले अन्य समय आफ्नो कार्यक्रम त्यही गर्छन् अनि मौका छोपेर सञ्चालकहरूले फाइदा उठाउँछन् ।

घरपरिवार पनि जिम्मेवार हुनुपर्ने बेला आएको छ । सबैले छुट पाउनुपर्छ तर त्यसको पनि एउटा निश्चित सीमा हुन्छ । आफ्नो हकअधिकार प्रयोग गर्ने भन्दैमा समाजमा बसोवास गर्ने अन्यलाई दुःख दिन पाइँदैन । घरका पुरुषहरू महिलाको अगाडि निरीह बन्दा पनि यो क्रम बढेको हो । सही र गलत छुट्याउन नसक्नु र अरूको लहैलहैमा दौडिनुले मुलुकलाई ठूलो क्षति पु¥याउँछ ।

घरको मूलीसँग घर सञ्चालन गर्न सक्ने क्षमता नहुँदा विकृति मौलायो । पुरुषहरू नै तीजको कार्यक्रममा पुगेर नाचिरहेको भेटिन्छन् । पुरुषहरू तिजको कार्यक्रम गर्न जान मिल्छ ? महिलाको कार्यक्रममा पुरुष पुगेर छमछमी नाच्नुले समाजलाई कतातिर लैजाँदै छ भनेर स्पष्ट देखाएको छ । पुरुषको प्रमुख चाड भनेको जनै पूर्णिमा हो । पुरुषले तिज मनाउने हो भने महिलाले पनि जनै बाँध्न थाले हुन्छ ।

तिज मनाउन जाँदा टन्न गरगहना लगाएर हिँडेको देखिन्छ । यसले सुरक्षामै खतरा देखिएको छ । धाक दिन खोज्दा चोरीका घटना बढ्ने निश्चित छ । सुनकै कारणले भोलि ज्यान जानेसम्मको अवस्था बन्न सक्छ । एउटाले टन्न गहना लगाएको देखेपछि अर्कोलाई पनि उही रहर जाग्छ । ऋण लिएर, सम्पत्ति बेचेर तिज मनाउने काम भइरहेको छ । घाँटी हरेर हाड निल्नु भनेर बुढापाखाले भनेका कुरा सबैले बिर्सिएका छन् ।

जनताले सुन्न र हेर्न नसक्ने तिजका गीत र भिडियो बजारमा आएका छन् । यसलाई रोक्न सूचना तथा प्रविधि मन्त्रालय असफल भएको छ । समाजको शान्ति खलल पार्ने गीतहरूलाई प्रतिबन्ध लगाउनुप¥यो । भड्किलो गीत गाउने र त्यसमा नाँच्नेलाई कारबाही गर्नुप¥यो । समाजमा बस्नेहरूलाई अपच हुने गीतसंगीत ल्याउन पाइँदैन । कलाकारहरू जिम्मेवार नहुँदा कला क्षेत्रको इज्जतमाथि दाग लागेको छ । तीजका नाममा गाइएका गीत घरपरिवारसँग बसेर सुन्न सक्ने अवस्था छैन् । कलाकारलाई छाडा छोड्ने हो यसले ठूलो जोखिम निम्त्याउछ । यसको जिम्मा सरकारले लिने कि कलाकारले ? पैसा कमाउनका लागि समाज भड्काउन मिल्छ ?

प्रतिक्रिया