मेरा बा

कविता

प्रतिज्ञा न्यौपाने

अनेकौं रहर हुँदाहुँदै परिवारको खुसी नै

मेरो खुसी भनी खुसी देखिन्छन् मेरा बा

कैयौं चोटसँग लड्दा लड्दै

आँसु पनि लुकाइदिन्छन् मेरा बा ।।

भोको पेट र अनिदो बानी

तर, हामीलाई सधैं टन्न खुवाई सुताउँछन् मेरा बा ।

दुःख कहिले नदेखाई हामीलाई संसारको सबैभन्दा

धेरै सुख मिलोस् भन्ने चाहना राख्छन् मेरा बा ।।

माया गर्छु भन्न कहिले जानेनन्

तर आँट, भरोसा, हौसला दिएर हामीलाई

अघि बढाउन कहिले पछि परेनन् मेरा बा

आफ्नो जिम्मेवारी पूरा गर्न थकित शरीर भए पनि

संघर्ष गर्न सधैं तयार हुन्छन् मेरा बा ।।

तपाइँको ओठमा हाँसो कमाएको दिन म धनी हुनेछु

अनि खुसी बाँड्दै

तपाइँको काँध सुम्सुमाएर रुनेछु मेरा बा ।।

काँधमा मलाई बोक्दा कति थकाई लाग्यो होला ?

तर कहिल्यैँ गुनासोका पोकाहरु फुटाउनु भएन मेरा बा ।।

एकहस्ती, मान हो मेरो

मेरो बुवा पहिचान हो मेरो

मेरो सपना पूरा गर्न जिम्मेवारीबाटै

कहिल्यै नभाग्ने मेरो शान मेरा बा ।।

मलाई पिठ्युँमा बोकेर डुलाई राख्दा

ती घुँडा कति दुखे होलान् ?

अब त छोरी ठुली भइसकी

तपाइँको जिम्मेवारी मेरो काँधमा छ ।।

अभावमा हुँदा पनि हाँसीहाँसी इच्छा पूरा गरिदिने

आफ्नो सन्तानको लागि जिन्दगी बिर्सिदिने तपाइँ ।।

अब त्यही अवस्थामा फर्किनु छ मलाई मेरो बा

जहाँ खुसीले एक गाँस तपाइँलाई खुवाउन सकुँ ।।

प्रतिक्रिया