मेजर पण्डितको शव फेला, पोस्टमार्टका लागि अस्पताल पुर्याइयो

रुकुम पश्चिम । गत भदौ १० गते बेपत्ता भएका सेनानी विमल पण्डित १६ दिन पछि मृत फेला परेका छन । १६ दिन अघि कार्य क्षेत्रबाटै बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी पण्डितको मंगलबार भेरी नदीमा शव फेला परेको हो ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ करबगाडस्थित चिन्ढेबगर नजिक भेरी नदीको किनारमा मेजर पण्डितको शव फेला परेको हो । मंगलबार बिहानै ६ बजेतिर भेरीमा माछा मार्ने क्रममा त्रिपुरासुन्दरी ५ का शिवमल सार्कीले चिण्ढेबगरस्थित भेरीनदीको किनारमा लाश देखेपछि खदाङमा रहेको प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ जिप्रका डोल्पाको प्रहरी टोली मृतकका परिवार सहित घटना स्थलमा पुगेको थियो । बाँया हातमा घडी र दाँया हातको कान्छी औँलामा औठी देखेपछि त्यही घडी र औठीका आधारमा परिवारले शव पहिचान गरेका हुन । करबगाड नजिकै दुईवटा ढुँङ्गाको बिचमा पण्डितको शव फेला परेको थियो ।

भेरी नदीमा पुरुषको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ आफ्नो नेत्तृत्वमा उद्धार सामाग्री सहित घटनामा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । परिवारले औंठी र घडी हेरेर शव पहिचान गरे पनि सडेको अवस्थामा शव फेला परेकोले पोष्टमार्टम गर्न जिल्ला अस्पताल पु¥याएको बुढाथोकीले बताए । मेजर पण्डितको खोजी तथा उद्दारमा नेपाली सेनाका मेजर रवि शाह सहितको टोली र नेपाल प्रहरीको सयुंक्त टोली खटेको थियो ।

स्थानीयको रोबरमा शवको मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल दुनैमा ल्याईएको प्रहरी प्रमुख बुढाथोकीले बताए । शव पहिचानका लागि मेजर पण्डितका दाजु कुमार पण्डित घटना स्थलमा पुगेको उनले बताए । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते ‘इभिनिङ वाक’ भन्दै अपरान्ह ४ बजेबाट व्यारेकबाट बाहिरिएपछि बेपत्ता भएका थिए । पण्डित बेपत्ता भएदेखि नै उनको खोजिकार्य तिव्र भैरहेको थियो ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया