काठमाडौं । नेपालमा अटोमोवाइल व्यवसायको सम्बद्र्धन र प्रबद्र्धनका लागि संस्थागतरुपमा २०३२ सालमा तोलाराम दुगडको अध्यक्षतामा अटोमोबाइल एसोसिएस अफ नेपाल (नाडा) पहिलो कार्य समिति गठन भएको थियो ।
नाडा अटो शो ले एकै थलोमा सम्पूर्ण अटोमोवाईल तथा यसका पार्टपुर्जा अनि सेवाको बारेमा जानकारी दिने र खरिद बिक्री पनि हुने भएकाले अटो प्रेमीहरुको लागि मेला उत्सवको रुपमा परिणत हुदैं आएको छ । उक्त संस्था २०६१÷६२ मा आइपुग्दा नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) मा परिवर्ततन गरिएको थियो । एसोसिएसनमा १ हजार भन्दाबढी संस्थागत सदस्य रहेका छन् ।
अटोमोवाइल्सको कुरा गर्दा राजा त्रिभुवनको लागि सन् १९४० मा पहिलो सवारीसाधन काठमाडौं भित्रिएको थियो । खासै लामो इतिहास नभए पनि नेपालमा पछिल्ला दिनमा सवारीसाधनको बजार विस्तारले निकै विस्तार गरेको छ ।
हाल, अन्तर्राष्ट्रियस्तरमा नाम कमाएका अटो उत्पादक कम्पनीले उत्पादन गरेका सवारीसाधन आधिकारीक वितरकमार्फत नेपाली बजारमा प्रबेश गरिरहेका छन् । यति मात्रै नभई अहिले अटो बजारमा प्रतिस्पर्धा चर्को रुपमा रहेको छ ।
नाडाले सवारीसाधनको बिक्री–वितरणलाई सहज बनाउने उद्देश्यअनुरुप १९९८ बाट नाडा अटो शो आयोजना गर्ने निर्णय गरेको थियो । सुरुआति दिन हरेक २ वर्षमा आयोजना हुने अटो शो पछि आएर हरेक वर्ष भइरहेको छ ।
१५ औं संस्करणसम्मको नाडा अटो शो
पहिलो : सन् १९९८ को ५ देखि ८ नोभेम्बरमा सम्पन्न गरेको पहिलो अटो शोमा २६ कम्पनी सहभागी भएका थिए । भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित सो अटो शो, नेपाल अटोमाबाइल डिलर्स एशोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेसले संयुक्तरुपमा आयोजना गरेका थिए ।
दोस्रो : सन् २००० को नोभेम्बर २२ देखि २६ सम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा दोस्रो अटो शो आयोजना गरेको थियो । त्यतिबेला ३१ कम्पनीले सहभागिता जनाएका थिए । आयोजकमा नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज नै रहेको थियो ।
तेस्रो : नेपाल अटोमाबाइल डिलर्स एशोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेसले संयुक्तरुपमा सन् २००४ मा आयोजना गरेको थियो । उक्त अटो शोमा ६२ ब्रान्डको सहभागिता रहेको थियो । फ्रेब्रअरी १८ देखि २२ सम्म वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित अटो शोमा धैरै गाडीहरुलाई सहभागी गराइएको थियो ।
चौथो : करिब तीन वर्षको फरकमा २७ सेप्टेम्बरबाट १ अक्टोबरसम्म सञ्चालित अटो शोमा सहभागी हुने संख्या केही कम रहेको थियो । वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित शोमा ४३ कम्पनीले सहभागिता जनाएको थिए । आयोजकमा नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज रहेका थिए ।
पाँचौं : सन् २००९ को अगस्ट २८ बाट १ सेप्टेम्बरसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित अटो शोमा जम्मा ३२ ब्रान्डको सहभागिता रहेको थियो । आयोजकमा नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज रहेका थिए ।
छैटौँ : सन् २०११ को सेप्टेम्बर ७ बाट ११ सम्म आयोजित अटो शोमा सहभागी हुने कम्पनीको संख्या अघिल्लो वर्षको अटो शोभन्दा बढेको थियो । त्यतिबेला ३८ कम्पनीको सहभागिता रहेको थियो ।
सातौं : सन् २०११ बाट एशोसिएसनले नेपालमा प्रत्येक वर्ष अटो शो आयोजना गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप २०१२ को सेप्टेम्बर १९ बाट २३ सम्म आयोजित सातौँ अटो शोमा ५५ कम्पनीले सहभागिता जनाएका थिए ।
आठौँ : २०१३ सेप्टेम्बर ११ बाट १५ सम्म आयोजित आठौं अटो शोमा ४० कम्पनीको सहभागिता रहेको थियो । यसभन्दा अगाडि आयोजकमा ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस पनि सहभागिता हुने गरेकोमा त्यतिबेला नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनले मात्रै अटो शो सञ्चालन गरेको थियो ।
नवौं : नवौं अटो शो २०१४ को सेप्टेम्बर ३ बाट ८ सम्म सञ्चालन भएको थियो । अटो शोमा ५० कम्पनीको सहभागिता रहेको थियो । भृकुटी मण्डपमा प्रदर्शनी भएको उक्त अटो शोको आयोजकमा नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन मात्रै रहेको थियो ।
दशौं : दशौं नाडा अटो शो देखि सहभागी हुने कम्पनी तथा उपभोक्ताका संख्यामा उल्लेख्य वृद्धि भएको थियो । सन् २०१५ को सेप्टेम्बर १५ बाट २० सम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित अटो शोमा ६५ कम्पनीको सहभागिता रहेको थियो ।
एघारौं : सन् २०१६ को ३० अगस्टबाट ४ सेप्टेम्बरसम्म सञ्चालित अटो शोमा भने ७४ कम्पनीको सहभागिता रहेको थियो । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले आयोजना गरेको शोमा सर्वसाधारण पनि गाडी खरिदको लागि आकर्षित भएको कारण सहभागित हुने संख्या बढेको थियो ।
बाह्रौं : सन् २०१७ को २९ अगस्टदेखि ३ सेप्टेम्बरसम्म सञ्चालित अटो शोमा ९० कम्पनीको सहभागिता रहेको थियो । अटो शोमा सहभागी हुने कम्पनीले करोडौँको व्यापार गरेका थिए । उपभोक्ताको पनि उल्लासमय सहभागिता रहेको थियो ।
तेह्रौं : सन् २०१८ को ११ सेप्टेम्बरबाट १६ सेप्टेम्बरसम्म काठमाडौंको भृकुटीमण्डपमा १३ औँ नाडा अटो शो भएको थियो । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले सदाझैं उक्त वर्ष पनि आयोजना गरेको अटो शोमा चारपांग्रे, दुईपांग्रे र अटो कम्पोनेन्टको अत्याधिक मागलाई ध्यानमा राखी तीनवटा ह्यागंर समेत राखिएको थियो । उक्त मेलामा साना–ठूला गरी एक सय ३४ वटा स्टल रहेका थिए । मेला अवधिभर ६० हजार दर्शकले प्रत्यक्षरुपमा अवलोकन गरेका थिए ।
चौधौं : २०७६ भदौ १० देखि १६सम्म १४ औं नाडा अटो शो भएको थियो । उक्त मेलामा २३ चारपाङ्ग्रे र १९ दुइपाङ्ग्रे सवारी बिक्रेता कम्पनीले सहभागिता जनाएका थिए । ६ दिनसम्म चलेको सवारीसाधन सम्बन्धी प्रदर्शनीमा संसारकै चर्चित सवारीसाधनले सहभागिता जनाएका थिए ।
उक्त अटो शोमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे बाहेक १२ ब्रान्डका लुब्रिकेन्ट, ९ ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री, १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरणका कम्पनी तथा १३ वित्तीय संस्थाको सहभागिता रहेको थियो ।
मेलामा इसुजु, रेनो, हुन्डाई, फक्सवागेन, ड्याटसन, फोर्ड, सुजुकी, होन्डा, एमजी, पुज्यो, फोटोन, फियात, जिप, साङयोङ, टोयोटा, महिन्द्रा, टाटा, किया, माज्दा, मित्सुविसी, निसान र बीवाईडी, दाय कम्पनी सहभागी भएका थिए ।
दुई पाङ्ग्रेमा यामाहा, हिरो, सीएफमोटो, बेनेली, भेस्पा, अप्रिलिया, रोयल इन्फिल्ड, होन्डा, केटीएम, सुजुकी, एनआइयु, बजाज, रनर, बीएमडब्ल्यु, मियामा, एमभी अगस्टा, टीभीएस, सुपर सोको र जीपीएक्स ब्रान्डको सहभागिता रहेको थियो । अटो शोमा करिब ७५ हजार आगन्तुकले अवलोकन गरेका थिए ।
पन्ध्रौ : २०८० भदौ २६ देखि ३१ गते सम्म १५ औं नाडा अटो शो हुदैंछ । अटो शोमा १२० वटा स्टल रहने । कोभिड महामारीको कारण ३ वर्षपछि नाडा अटो शो भएको हो । प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत छ ।
प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता छ ।
प्रतिक्रिया