बेसीशहर नगरपालिका– ११ का टोलटोलमा स्टेचर वितरण

लमजुङ । बेसीशहर नगरपालिका– ११ ले वडाभित्रका प्रत्येक टोलमा स्टेचर वितरण गरेको छ । वडाको आर्थिक वर्ष ०८०–०८१ को बजेटबाट १० वटा टोललाई स्टेचर प्रदान गरेको हो ।

वडा नम्बर ११ का वडाध्यक्ष शिव जोशीले एक कार्यक्रमका बीच ११ वटा स्टेचर टोलसुधार समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरेका हुन् । विपद् जतिखेर पनि आउन सक्ने भएकाले प्रतिकार्यका लागि टोलटोलमा स्टेचर प्रदान गरिएको वडाध्यक्ष जोशीले बताए ।

सदरमुकाम भएर पनि सबै टोल र बस्तीमा यातायातको पहुँच नपुगेकाले गर्भवती, सुत्केरी, बिरामी र विपद्का घटनामा घाइते भएकालाई तत्काल अस्पतालसम्म पुर्याउन स्टेचर आवश्यक पर्ने भएकाले वडा कार्यालयले स्टेचर खरीद गरेर वितरण गरेको उनले बताए ।

आर्थिक वर्ष २०८०–०८१ मा वडाले स्टेचर खरिदका लागि ४५ हजार रुपैयाँ रकम छुट्याएको वडाले जनाएको छ । ‘जहाँ आवश्यक पर्छ त्यही दिन्छौँ,’ उनले भने, ‘हाम्रो जस्तो भौगोलिक विकट ठाउँमा स्टेचरको आवश्यकता निकै महसुस भएकोले खरिद गरीएको हो ।

प्रतिक्रिया