न्यायिक पुनः स्थापनाका लागि मुक्त हलियाको ‘क्याराभान’

धनगढी । राष्ट्रिय मुक्त हलिया समाज महासंघले मुक्त हलियाको न्यायिक पुनः स्थापनाका लागि अधिकार यात्रा (क्याराभान) गरेको छ । बुधबार डडेल्धुराबाट सुरु भएको महासंघको क्याराभान बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै समापन भएको छ ।

महासंघले हलिया मुक्तिको १५औँ मुक्ति दिवसको अवसरमा अधिकार यात्रा (क्याराभान) को आयोजना गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय मुक्त हलिया समाज महासंघका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले अझै २० प्रतिशत मुक्त हलिया पुनः स्थापनाको पर्खाइमा रहेको बताए ।

उनले भने, ‘मुक्तिको लामो समय हुँदा पनि पुनः स्थापनाको कामले पूर्णता पाएको छैन, पहिलो किस्ता पाएकाले दोस्रो किस्ता पाएका छैनन, छुट मुक्त हलियाको तथ्यांक समेटिएको छैन्, मुक्त हलियाले पीडादायी जीवनयापन गर्नुपरेको छ, सरकारले नीति तथा कार्यक्रममा मुक्त हलिया कुरा ल्याउँछ बजेटमा ल्याउँदैन ।’

तीनै तहका सरकारलाई पुनः स्थापनाको काम अझै बाँकी छ भन्ने सन्देश दिन ,छिटोभन्दा छिटो पुनः स्थापनाका लागि ध्यानाकर्षण गराउन क्याराभान गरिएको उनले बताए । नेपाल सरकारबाट प्रमाणिकरण भएको १६ हजार ९ सय ५३ घरधुरीमध्ये १३ हजार ५ सय ४६ घरधुरीले मात्रै पुनः स्थापना प्याकेज पाएको जनाइएको छ ।

क्याराभानमा सहभागी महासंघका केन्द्रीय सदस्य राजुराम भूलले मुक्त हलियाको पुनः स्थापनामा सरकारको लापरबाही भएका कारण न्यायिक पुनः स्थापनाका लागि तीनै तहका सरकारलाई दबाब दिन क्याराभान गरेको बताए । उनले भने, ‘सरकारले मुक्त हलियाका लागि बजेट पनि छुट्याउँदैन, तीन तहका सरकारले मुक्त हलियाको पुनः स्थापनाका लागि ध्यान दिएको छैन, सरकारको ध्यानाकर्षणका लागि क्याराभान गरिएको हो ।’

डडेल्धुराबाट सुरु भएको क्याराभान डोटीको बुडरमा हलिया बस्तीमा छलफल गरेर धनगढी पुगेको उनले बताए ।
त्यस्तै क्याराभानमा सहभागि महासंघ अछामका सचिव डन्डीबहादुर विकले नेपाल सरकार र हलिया महासंघबीच भएको सहमति अनुसार मुक्त हलियाको न्यायिक पुनः स्थापना नभएको बताए ।

उनले भने, ‘मुक्त हलियाको न्यायिक पुनः स्थापनासँगै शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा सरकारलाई दवाव दिन क्याराभान गरिएको हो ।’ छुट मुक्त हलियाको तथ्यांक संकलन गरेर पुनः स्थापना गर्नुपर्ने,परिचयपत्र पाएकालाई पुनः स्थापना प्याकेज दिनु पर्नेलगायतका माग रहेको उनले बताए ।

क्याराभानमा सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ, अछाम, डोटी, बाजुरा, बैतडी र डडेल्धुराका २२ जनाको सहभागिता रहेको राष्ट्रिय मुक्त हलिया समाज महासंघका कार्यकारी निर्देशक हरिसिंह बोहराले जानकारी दिए ।

क्याराभान इएबीएल परियोजना अन्तरगत एक्सन एड इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा गरिएको उनले बताए । क्याराभानका लागि डडेल्धुराको अमरगढी नगरपालिका ३५ र अजयमेरु गाउँपालिकाले २० वटा भेष्ट सहयोग गरेको उनले बताए ।

प्रतिक्रिया