राष्ट्रसेवकलाई काममा अवरोध नगर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयको आग्रह

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आफ्नो कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई बाधा–अवरोध नपुर्याउन आग्रह गरेको छ । प्रशासनले सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा वक्तव्यबाजी नगर्न आग्रह गरेको हो ।

‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ जिल्ला प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्षेत्रमा खटिएका कर्मचारीहरूबारे कुनै गुनासो भए तथ्य–प्रमाणसहित सम्बन्धित अधिकारीसमक्ष जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।

सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन प्रयोग गर्दा ट्राफिक प्रहरीले चेकजाँच गरेपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले आक्रोश व्यक्त गर्दै स्ट्याटस लेखेका थिए । सो विषयमा आलोचित भएपछि उनको सचिवालयले ट्राफिकले असभ्य व्यवहार गरेको भन्दै विज्ञप्ति जारी गरेपछि जिल्ला प्रशासनले यस्तो विज्ञप्ति जारी गरेको हो ।

प्रतिक्रिया