पृथ्वीराजमार्गको आँबु खैरेनी–पोखरा खण्डको विस्तार थालिएको साढे दुई वर्ष पुग्नै लागेको छ । तर अहिलेसम्म भौतिक प्रगति १८ प्रतिशत मात्रै भएको छ । यही रफ्तारमा काम हुने हो भने निर्माण सम्पन्न हुन अझै १० वर्ष लाग्नेछ । जबकी आजभन्दा ५४ वर्षअघि चीन सरकारले पृथ्वीराजमार्गको नौबिसेदेखि पोखरासम्मको १ सय ७० किलोमिटर सडक चार वर्षमै निर्माण सम्पन्न गरेको थियो । त्यतिबेला अहिलेका जस्ता निर्माण उपकरण थिएनन् । डोजरहरू थिएनन् ।
निर्माण सामग्री ढुवानी गर्न सडकको सुविधा थिएन । तर अहिले यतिधेरै उपकरण तथा प्रविधि हुँदा पनि ८० किलोमिटर सडक बिस्तारका लागि १२ वर्ष समय लाग्ने अवस्था देखियो । त्यसो त यो सडक बिस्तारको आर्थिक लागत पनि निकै नै ठूलो छ । ८० किलोमिटर सडकलाई थप चार मिटर फराकिलो बनाउने यो आयोजनाको लागत १४ अर्ब रुपैयाँ छ । अर्थात यो ८० किलोमिटर सडकको चौडाइ चार मिटर विस्तार गर्नका लागि ठेकेदारसँग १४ अर्ब रुपैयाँको संझौता गरिएको छ । यस हिसाबले सडक विस्तारको प्रतिकिलोमिटर लागत २० करोडभन्दा माथि छ । जबकी केही वर्षअघि ४२ किलोमिटर लम्बाइको डुम्रे बेँसीसहर सडक निर्माणका लागि ३८ करोड रुपैयाँ ठेक्का दिँदा ठूलो घोटाला भएको भनिएको थियो । त्यतिबेला प्रतिकिलोमिटर ९० लाख रुपैयाँ लागतमा नयाँ सडक बन्ने, तर यतिबेला पुरानै सडकलाई चार मिटर फराकिलो बनाउ“दा प्रतिकिलोमिटर लागत २० करोड रुपैयाँभन्दा माथि पर्ने अवस्था किन आयो ? के यो दुई दशकभित्र मह“गी यतिविधि बढिसकेको हो त ? यथार्थ छानविन गर्नु आवश्यक छ ।
ब्याज तिर्ने गरी एसियाली विकास बैंक (एडिबी) सँग ऋण लिई लिई चालु हालतको यो सडक बिस्तार गर्नु जरुरी थियो कि थिएन ? यो १४ अर्ब रुपैयाँ लगानी सडकको सुविधा नपुगेका कुनै ठाउँमा गरिएको भए देशलाई के नोक्सान हुन्थ्यो ? भन्ने प्रश्न पनि आफ्नो ठाउ“मा छ । भ्रष्टाचारको नियत राखेरै यो आयोजना छनौट गरिएको यथार्थ पनि आफ्नो ठाउ“मा छ । तर, निर्माणमा भइरहेको ढिलाइका कारण मुलुकले आर्थिक व्ययभार मात्रै बोक्नुपरेको छैन, विविधि समस्या उत्पन्न भएका छन् । पहिलो कुरा त विगत दुई वर्षदेखि सडक आसपासका जनता हिलो र धुलोले हैरान छन् । दोस्रो कुरा अत्यन्तै व्यस्त यो ८० किलोमिटर सडक पार पर्न यात्रुहरूलाई ७–८ घण्टा लाग्ने गरेको छ । तेस्रो कुरा निर्माणका क्रममा सडक अवरुद्ध हुन पुगेकोले पोखराको मात्रै होइन, मुक्तिनाथ बन्दीपुर, घलेगाउँ, सिरुबारीलगायत गण्डकी प्रदेशको पर्यटन व्यवसायमा निकै ठूलो धक्का लागेको छ । निर्माणको गति यही हुने हो भने अझै १० वर्ष धक्का लाग्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।
पृथ्वी राजमार्ग यसै पनि देशकै सबैभन्दा व्यस्त अर्थात धेरै गाडी चल्ने सडक हो । त्यसमा पनि आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर खण्ड सहरीकरण भइसकेको छ । त्यसैले यो सडकलाई चार लेन फराकिलो बनाउने गरी योजना अघि बढाउनु त्यति ठूलो अर्घेल्याइँ होइन । नेपालमा पनि यत्तिको सडक रहेछ है भनेर विदेशीलाई देखाउन पनि सकिन्छ । यस क्षेत्रको पर्यटन व्यवसायले पनि थप रफ्तार लिन्छ, तर विस्तार गर्न न्यूनतम पाँच वर्षको समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्था गरेर मात्रै निर्माणको काम थालनी गर्नुपथ्र्यो । त्यसमा पनि यो क्षेत्र भनेको वैकल्पिक सडकको सहज व्यवस्था गर्न सकिने क्षेत्र हो । एउटा मात्रै होइन दुई–तीन वटा वैकल्पिक सडकको व्यवस्था सहजै गर्न सकिन्थ्यो ।
आँबुखैरेनीबाट गोरखा हुँदै मध्यपहाडी लोकमार्ग पक्डेर पोखरा पुग्ने व्यवस्था मिलाउन सकिन्थ्यो । डुम्रेबाट लमजुङको सुन्दरबजार हु“दै पोखरा पुग्ने व्यवस्था गर्न सकिन्थ्यो । दमौलीबाट लमजुङको दुईपिप्ले वा भोटेओडार हुँदै पोखरा पुग्ने व्यवस्था गर्न सकिन्थ्यो । दमौलीबाट सेतीनदीको किनारै किनार घुमाउनेघाट हुँदै मुग्लिनसम्म निस्कने व्यवस्था गर्न सकिन्थ्यो । सडक बनिसकेकै थिए, सामान्य मर्मत गरे भइहाल्थ्यो । त्यसो त खैरेनीटारबाट भीमाद, डेडगाउँ हुँदै कावासोती वा गैंडाकोट पुग्न सकिने सडकलाई सामान्य मर्मत गरिएको भए हुन्थ्यो । तर, जनतालाई सेवासुविधा दिने कुरामा भन्दा भ्रष्टाचार र कमिसनमै लिप्त हुने नीति निर्माता भएपछि के गर्नु ?
प्रतिक्रिया