काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको भन्दै गायिका मल्लले अन्य कलाकारलाई मानव तस्करी नगर्न र नलुक्न सुझाव दिएकी छन् ।
गायिका मल्लले आफूलाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । कलाकारले मानव तस्करी गर्ने र गैरकानूनी रुपमा लुक्ने कार्यले आफूले भिसा नपाएको हुन सक्ने उल्लेख गरेकी छन् ।
आफ्नो करिब तीन दशकको गायन यात्रामा पहिलोपटक अष्ट्रेलयाले समयमा भिसा नदिएको भन्दै उनले तीजको अवसरमा त्यहाँ हुने आप्ना पूर्वनिर्धारित कार्यक्रमहरु रद्द भएको समेत जानकारी गराएकी छन् ।
यस्तो छ उनले फेसबुकमा दिएको जानकारी
समयमा भिसा नदिएका कारण अष्ट्रेलियाको पूर्वनिर्धारित मेरा सम्पूर्ण कार्यक्रमहरु रद्द भएका छन् । म अष्ट्रेलियामा तीज विशेष कार्क्रममा आउन नसकेकोमा सम्पूर्ण आदरणीय दर्शक-श्रोताज्यूहरुसँग क्षमा माग्दछु । कोही पनि कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्य नगर्नुहोला । यसको असर अन्य सच्चा कलाकारहरुलाइ पर्दो रहेछ । विदेशमै बस्न वा स्थापित हुन मन छ भने कानुनी प्रक्रिया पूरा गरेर बस्न सक्नुहुन्छ ।’
उनले आफ्नो झण्डै तीन दशकको गायन यात्रामा पहिलो पटक अष्ट्रेलियाले समयमा भिसा नदिएको बताएकी छन् । ‘नेपालमा मन्दी छ, नेपाली कलाकारहरु विदेशमै गैरकानुनी रुपमा लुक्छन् अनि कार्यक्रमको नाममा मानव तस्करी गर्छन् भन्ने रहेको छ । संसारका ठूला देशहरु अमेरिका, बेलायत, क्यानडा, युरोप, जापान लगायतका २० वटाभन्दा बढी देशमा पटकौं कार्यक्रम गरेर समयमै नेपाल फर्केको मेरो रेकर्ड छ,’ सिन्धुले भनेकी छन्, ‘कुनै पनि देशमा एक मिनेट पनि ओभर स्टे भाको छैन । अष्ट्रेलियामा पनि चार पटक पहिले नै गइसकेको र भिसा अवधि समाप्त हुनु अगावै नेपाल फर्किएको रेकर्ड छ । तर योपटक अष्ट्रेलियाले समयमा भिसा नदिनुलाई मैले मेरो कलाकारिताको अपमान ठानेकी छु ।’
प्रतिक्रिया