साउदी जेलमा ४ सय ८० नेपाली : अधिकांशको कसुर मदिरा कारोबार

साउदीले गैरकानुनी कामदारमाथि धड्पकड तीव्र पारेसँगै थप १५ हजार २ सय ४५ जना जना आप्रवासी नागरिक पक्राउ परेका छन । एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

दोहा । रोजगारीका लागि साउदी अरब पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा साउदी जेलमा छन् । रियादस्थित नेपाली दूतावासका सूचना अधिकारी भूपेन्द्र प्रसाद घिमिरेले हालसम्म विभिन्न मुद्दाहरूमा त्यतिको संख्यामा नेपालीहरू जेलमा रहेको बताए ।


हालसम्म थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको सूचना अघिकारी घिमिरेले बताए । रक्सी ओसारपसार गर्न लगाउनेहरू पनि धेरैजसो नेपाली नागरिक नै हुने गरेको बताउँदै यस्तो कार्यमा नलाग्न दूतावासले आग्रह गरेको छ । दूतावासले जेलमा पुगेर भेट्दा चिनजानकै मान्छेबाट ठगिएको भन्ने गुनासो आएकोले यसबारे सबैले सचेत रहन पनि आग्रह गरेको घिमिरेले बताए । ‘जेलमा गएर बुझ्दा सबैले चिनेकै साथीभाइले काम गर्न लगाएको भन्ने सुनियो’, उनले भने, ‘बढी पैसा कमाउने प्रलोभनमा परेर आफ्नो जीन्दगी खराब नगर्नुस्, जे कामको लागि आउनुभएको हो त्यही काम गर्नुस् ।’

साउदी नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य देश हो । तर यहाँको कानुन कडा छ । नियमकानुनको बारेमा थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् । साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । बिक्रीवितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षाैंवर्षसम्म जेल सजाय हुन सक्ने तथा जरिबाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले साउदीस्थित नेपाली समुदायलाई आग्रह गरेको छ ।

अवैध रूपमा साउदीमा रहेका नेपाली तथा आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ । अहिलेसम्म हजारौँको संख्यामा नेपालीहरू एक्जिट भिसा प्राप्त गरी स्वदेश फर्किसकेको दूतावासले जनाएको छ ।

यसैगरी, साउदीले गैरकानुनी कामदारमाथि धड्पकड तीव्र पारेसँगै थप १५ हजार २ सय ४५ जना आप्रवासी नागरिक पक्राउ परेका छन । एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

साउदीको गृह मन्त्रालयका अनुसार अगस्ट १० देखि १६ तारिख सम्मको सातामा राज्यभर सुरक्षा बलका विभिन्न इकाइले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लंघन गर्ने ८ हजार ५ सय ३९, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ४ हजार २ सय ५३ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ४ सय ५३ रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा ८ सय २९ जना व्यक्तिहरू पक्राउ परेका थिए । पक्राउ परेका मध्ये ५३ प्रतिशत यमनी, ४४ प्रतिशत इथियोपियाली र तीन प्रतिशत अन्य राष्ट्रियताका थिए भने यसमा ६० जना साउदी अरेबियाबाट बाहिर जानको लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए ।

यी मध्ये कानुन उल्लंघन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने तीन जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उधृत गर्दै साउदी गजेटले जनाएको छ । यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पु¥याएर देश निकाला गरिने जनाएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्ला् समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरि धड्पकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौ नेपालीहरू प्रभावित भएका छन् ।
जेल परेका कामदारहरूलाई सजाय अवधि समाप्त भएपछि आवश्य कानुनी प्रक्रिया पूरा गरेर पुनः साउदी अरब फर्कन नसक्ने गरी डिपोर्ट गर्ने गरिएको छ ।

प्रतिक्रिया