को थिए राजा वीरेन्द्र र मदन भण्डारीका हत्यारा ?

एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली प्रधानमन्त्री भए । भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी आफैँ दुई कार्यकाल राष्ट्रपति भइन् । तर, अहिलेसम्म हत्यारा पक्राउ परेनन् । जसका कारण प्रश्न एमालेमाथि नै तेर्सिएको छ । यो घटना अझै पनि रहस्यमय नै छ । एमाले बारम्बार सरकारमा त गयो तर, उक्त घटनामाथि छानबिन गर्न चासो देखाएन । न कुनै समिति नै गठन गरियो । जीवित साक्षी उनका ड्राइभर अमर लामालाई पनि माओवादीमार्फत गोली हानेर मारियो ।

अनुषा थापा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सर्वसाधारणले दुईटा कुराको माग गर्छन्, ‘एउटा मदन भण्डारीको रहस्यमय मृत्यु खोतल्नुप¥यो, अर्को दरबार हत्याकाण्ड छानबिन गर्नुप¥यो ।’ यसका लागि प्रधानमन्त्री प्रचण्डले तत्काल छानबिन समिति बनाउनुपर्ने सर्वसाधारणको माग छ । भण्डारीको निधनपछि नेकपा एमाले पटकपटक सरकारमा गयो । एमालेले धेरैपटक मुलुकको नेतृत्वको जिम्मा पनि सम्हाल्यो ।

एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली प्रधानमन्त्री भए । भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी आफैँ दुई कार्यकाल राष्ट्रपति भइन् । तर, अहिलेसम्म हत्यारा पक्राउ परनेन् । जसका कारण प्रश्न एमालेमाथि नै तेर्सिएको छ । यो घटना अझै पनि रहस्यमय नै छ । एमाले बारम्बार सरकारमा त गयो तर, उक्त घटनामाथि छानबिन गर्न चासो देखाएन् । न कुनै समिति नै गठन गरियो । जीवित साक्षी उनका ड्राइभर अमर लामालाई पनि माओवादीमार्फत गोली हानेर मारियो । आफ्नो ज्यान असुरक्षित भएको बताउँदै आएका उनी २०६० साउन १२ गते डिल्लीबजारबाट अपहरणमा परे । उनलाई कीर्तिपुरमा लगी गोली हानेर मारिएको हो । लामा मरेको यत्रो वर्ष बितिसकेको छ । तर, उनको मृत्युमाथिको पर्दा अहिलेसम्म पनि उठ्न सकेको छैन । लामालाई माओवादीले किन मा¥यो ? गम्भीर प्रश्न उठेको छ । तर, यो विषय गुमसुम पारियो । लामा एउटा प्रमाण थिए, त्यो पनि सिध्याइयो । लामा मर्नेबित्तिकै भण्डारीका हत्याराहरू बचे । योजनाकारहरू बच्न सफल भए ।

२०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । राजा वीरेन्द्रका सन्तान नै सखाप पारियो । तत्कालै नजिकको हकवालाका हैसियतले राजा भएका ज्ञानेन्द्र शाहले घटनास्थलका भवन जगदेखि नै भत्काएर प्रमाण नष्ट गरिदिए । राजाको परिवार सकाउनेलाई सरकारले अहिलेसम्म बाहिर ल्याउन सकेको छैन । राजाजस्तो व्यक्तिको हत्यारालाई पक्राउ गर्न नसक्नुले मुलुकको सुरक्षा व्यवस्थामाथि नै प्रश्न खडा भएको छ । सरकार र प्रहरी प्रशासन के हेरेर बसेको छ ? यो सानो घटना थिएन । राजाको वंश नै मासियो । राजदबारजस्तो सुरक्षाले घेरिएको ठाउँमा यत्रो घटना यो पूरै योजनाका साथ गरिएको हत्या हो भन्ने त घटनास्थल नष्ट गर्नुले पनि शंका गर्ने आधार खडा गरेको छ । तैपनि सरकारले अपराधी खोज्न सकेको छैन । प्रहरी प्रशासन मुलुकमा घटेको यति ठूलो घटनामा समेत हात बाँधेर बसेको छ । देशले असल नेतृत्व गुमायो । मुलुकलाई ठूलो घाटा भयो । विडम्बना, सरकारले उनीहरूका हत्यारालाई कानुनको कठघरामा उभ्याउन सकेन । नेपाल प्रहरीसमेत यी घटनालाई टुंगोमा पु¥याउन असफल रह्यो । जसले गर्दा प्रहरी प्रशासनको क्षमतामाथि नै प्रश्न उठेको छ ।

बाटो हिँडिरहेका निर्दोष व्यक्तिलाई झ्यापझ्याप समातेर थुन्ने प्रहरीले दोषीलाई किन कारबाही गर्न सकेन ? यहाँ पनि ‘सानालाई ऐन, ठूलालाई चैन’ भएको छ । गल्ती नै नगरेका व्यक्तिहरूले प्रहरीका कारण जेलजीवन बिताइरहेका छन् । तर, दोषी भने निस्फिक्री घुमिरहेका छन् । भुरादेखि बुढासम्मले राजा वीरेन्द्र र नेता भण्डारीको हत्यारा सार्वजनिक गर्न माग गरिरहेका छन् ।

सरकारले अहिले ठूल्ठूला अपराधमा छानबिन गरिरहेको छ । यही मौकामा सरकारले राजा वीरेन्द्र र नेता भण्डारीको हत्यारा खोज्नुपर्छ । उनीहरूलाई लुकाउन पाइँदैन । प्रहरी प्रशासनले फरार अभियुक्तलाई पक्राउ गरेको भनि दिनहुँ सार्वजनिक गरिरहेको हुन्छ । वर्षौंदेखि फरार रहेकालाई पक्राउ ग¥यौँ भनेर प्रहरी आफैँमाथि गर्व गर्छ । तर, राजदरबारमा भएको हत्या किन खोतल्न सकेन ? राजदरबारमा एक जनाको होइन, पूरै परिवारको हत्या भएको छ । प्रहरीले अहिलेसम्म अभियुक्तलाई किन सार्वजनिक गर्न सकेन ? किनकि प्रहरी आफैँ पनि यो घटना खोतल्न चाहँदैन ? राजा वीरेन्द्र र नेता भण्डारीको हत्यारालाई पक्राउ गर्नुपर्छ भनेर जनताले पटकपटक माग राख्दा पनि कतैबाट सुनुवाई हुन सकेको छैन । सदनमा कुनै पनि राजनीतिक दलका सांसदहरूले यस विषयमा आवाज उठाएका छैनन् ।

एमालेका सांसदहरू पनि यसबारे मौन छन्, किन ? एमालेलाई जनतामाझ भिजाउन ठूलो भूमिका खेलेका आफ्ना नेता भण्डारीलाई मार्नेलाई कानुनको दायरामा ल्याउनुपर्छ भनेर कोही बोलेका छैनन् । सत्ताका लागि मात्रै लडिरहेको हुन्छ एमाले । बिनाकाम सदन अवरोध मात्र गर्छन् । राप्रपाका नेतासमेत यसविषयमा चुपचाप नै छन् । सबै जना मिलेर घटना ढाकछोप गरिरहेका छन् भन्ने त स्पष्ट छ ।

राजाजस्तो व्यक्तिले त न्याय पाउँदैनन् भने जनताले के न्यायको अनुभूति गर्न पाउँछन् ? देशको शान्तिसुरक्षाको अवस्था के छ ? यो पनि प्रमाणित भयो । प्रहरी प्रशासनलाई जनताको प्रश्न, ‘जहिले सानाले मात्रै सजाय भोग्नुपर्ने हो ?’ ठूलाले जे गरे पनि हुने, कस्तो चलन हो यो ? उनीहरूले भ्रष्टाचार गरुन् या मान्छे मारुन्, कानुन लाग्दैन । कि उनीहरूलाई थुन्ने जेल छैन । राजा वीरेन्द्र र नेता भण्डारीको हत्याकाण्डमा सरकारले छानबिन समिति नै गठन गरेको छैन । कारण के हो ? यसको जवाफ सरकारले दिनुपर्छ । सर्वसाधारण मर्दासमेत चासोका साथ हेरिन्छ । उनीहरू त जनताको राजा, जनताको नेता । तैपनि घटना लुकाइछिपाइ गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले राजा वीरेन्द्र र नेता भण्डारीका हत्यारालाई तत्काल समात्नुपर्छ । तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ ।

देशमा गणतान्त्रिक व्यवस्था ल्याउनुको उद्देश्य के हो ? यो कुरा प्रधानमन्त्री प्रचण्डले बिर्सिएजस्तो छ । उनले जनयुद्ध सुरुपछि १७ हजार नेपालीले ज्यान गुमाए । तर, उपलब्धि के हात लाग्यो ? अपराधीलाई छोड्दिन, देशको विकास गर्छु, विदेशी हस्तक्षेप हुन दिन्न, जनताको शासक होइन्, सेवक बन्छु भनेर उनले हिजो हतियार उठाएका थिए । उनी तीनपटक मुलुकको प्रधानमन्त्री भए । तर, जनताले परिवर्तनको महसुस गर्न पाएनन् । बरु, उनको जिन्दगीमा चाहिँ धेरै परिवर्तन भयो । हिजो दौरासुरुवालको विरोध गर्ने उनी आज आफैँ दौरा सुरुवाल लगाउँछन् । उनका पार्टीका नेता नै ठूल्ठूला अपराधमा मुछिएका छन् । दौरा सुरुवाल लगाउनका लागि त १७ हजार नेपाली मार्नु पर्दैनथ्यो, होला ?

त्यतिबेला राजाको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको थियो । तर, नेपाली सेना नै चुपचाप बसेको छ । यसले त सबैले मिलेमतो देखाएको छ । यहाँ त ‘तै चुप, मै चुप’ भइरहेको छ । राजा वीरेन्द्र र नेता भण्डारीका लागि जनताले नै सरकारलाई दबाब दिनुपर्ने देखिएको छ । मारिएको व्यक्ति मरेको मरै हुन्छन्, उनीहरूले न्याय पाउने रहेनछन् भन्ने त प्रमाणित भइसकेको छ । जनताले उठाएको प्रश्नको जवाफ सरकारले दिनैपर्छ । होइन भने प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्छ । सरकारमाथि जनताले लगाएको आरोप सरकारले काम गरेर मेटाउन सक्नुपर्छ । २०५० सालपछि गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई, खिलराज रेग्मीलगायत थुप्रै प्रधानमन्त्री आए र गए ।

तर, राजा वीरेन्द्र र नेता भण्डारीको हत्यालाई किन समातिएन ? यसको जवाफ उल्लिखित सबैले दिनुपर्छ । सबै मिलेर घटनालाई झिसमिस बनाउने काम भएको छ । राजा वीरेन्द्रको हत्यापछि उनकै भाइ ज्ञानेन्द्र राजा भए । भण्डारीको मृत्युपछि उनकै श्रीमती विद्यादेवी भण्डारी पटकपटक मन्त्री भइन् । राष्ट्र प्रमुख भएरसमेत काम गर्ने मौका पाइन । यद्यपि, उनले नै छानबिनमा चासो देखाइनन् ।

राजा वीरेन्द्र जनताले रुचाएका राजा थिए । नेता भण्डारीलाई त जननेताकै रूपमा चिनिन्छ । यस्ता व्यक्तिको हत्यारा खोज्न नसक्नुभन्दा लाजमर्दो विषय के होला ? अब सरकारले हत्यारालाई कानुनको दायरामा ल्याउनुपर्छ । नेपालीले आफ्नो राजा र नेताको हत्यारा खोजिरहेका छन् । उनीहरूको मनमा थुप्रै प्रश्न उठेको छ । सरकारले हत्यारालाई सार्वजनिक गर्नुप¥यो । तत्काल छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाउनु प¥यो ।

प्रतिक्रिया