मणिपुरका महिलाले भोगेको जंगली अत्याचार

चमिना भट्टराई

भारतको मणिपुर घटनाले भारतीय शासक, त्यहाँका राजनीतिक पार्टीका नेता र अधिकारकर्मीको कति मन दुख्यो थाहा छैन । एक छिमेकी नागरिक र महिला भएका नाताले मेरो भने मन दुखेको छ । शिर निहुरिएको छ । आजको युगमा पनि महिलाले यो तहको हर्कत बेहोर्नु परेकोमा । कुनै पनि सभ्यसमाजका लागि यो भन्दा लज्जाको विषय केही हुनै सक्दैन । यसको जति निन्दा गरे पनि कम हुन्छ । यसबारेमा भारतीयले मात्रै होइन, विश्वका सबै महिलाले पीडित महिलाले न्याय पाउनुपर्छ भनेर ऐकवद्धता गर्नुपर्छ

भारतको पूर्वोत्तर राज्य मणिपुरमा केही दिनअघि भिडले दुई महिलालाई निर्वस्त्र बनाएर सार्वजनिक रूपमा हिँडाएको भिडिओ भाइरल भयो । उक्त भिडियो बाहिरिएसँगै त्यहाँका अन्य महिलाले पनि आफूहरूमाथि पनि हिंसा भएको भन्दै त्यसबारे बोल्न सुरु गरे । उक्त घटना निकै पीडदायिक छ । यस घटनाले भारत मात्रै होइन, धेरैको आङ सिरिङ बनाएको छ । यो विश्वका सबै महिलामाथि गरिएको पाशविक अत्याचारको पराकाष्ठा हो । यसलाई मणिपुर र भारतीय महिलाको मात्रै अपमानका रूपमा बुझ्नु हुँदैन । हामी सबैप्रति गरिएको जंगली अत्याचार हो ।

दुई महिलालाई केही पुरुष समूहले निर्वस्त्र बनाएर सडकमा हिँडाएको भिडिओ सार्वजनिक भएपछि भारतभरि चर्को आक्रोश बढ्यो । चौतर्फी विरोध भएपछि प्रहरीले पीडित महिलाहरूमाथि सामूहिक बलात्कार भएको मुद्दा अघि बढायो र एक आरोपितलाई पक्राउ ग¥यो । उक्त घटनाका बारेमा छलफलको माग गर्दे गएको बिहीबार भारतको संघीय संसद्को बर्खे अधिवेशन अवरुद्ध भयो । प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाले भारतलाई लज्जित बनाएको र दोषीलाई उम्किन नदिने बताए । मणिपुर घटनाबारे मोदीले पहिलोपटक सदनमा बोलेका हुन् ।

विपक्षीहरूले लामो समयदेखि प्रधानमन्त्री मोदीले मणिपुरमा जारी हिंसाबारे नबोलेको भन्दै उनीमाथि प्रश्न उठाउँदै आएका थिए । त्यसपछि उनी चाहेर वा नचाहेर बोले । उनले बोलेर मात्रै पुग्दैन जिम्मेवारीपूर्ण ढंगले पीडितलाई न्याय दिलाउनुपर्छ । यो घटना राजनीतिको खोल ओडाएर मात्रै हुने प्रकृतिको छैन । हुन त मणिपुरका मुख्यमन्त्री बीरेन सिंहले उक्त घटनाका दोषीहरूलाई मृत्युदण्ड दिन लगाउने प्रयास गर्ने बताए । उनको यो भनाइ व्यवहारमा पनि लागू हुन्छ कि हुन्न त्यो हेर्न बाँकी नै छ ।

भारतको मणिपुर घटनाले भारतीय शासक, त्यहाँका राजनीतिक पार्टीका नेता र अधिकारकर्मीको कति मन दुख्यो थाहा छैन । एक छिमेकी नागरिक र महिला भएका नाताले मेरो भने मन दुःखेको छ । शिर निहुरिएको छ । आजको युगमा पनि महिलाले यो तहको हर्कत बेहोर्नु परेकोमा । कुनै पनि सभ्य समाजका लागि यो भन्दा लज्जाको विषय केही हुनै सक्दैन । यसको जति निन्दा गरे पनि कम हुन्छ । यसबारेमा भारतीयले मात्रै होइन, विश्वका सबै पीडित महिलाले न्याय पाउनुपर्छ भनेर ऐकवद्धता गर्नुपर्छ । आफूलाई प्रजातन्त्र र मानवअधिकारको दुहाइ दिएर नथाक्ने भारतमा भएको महिला हिंसाको यो घटना जति निन्दा गरे पनि कम हुने घटना हो ।

त्यहाँको प्रहरीका अनुसार पीडित महिलाहरूमाथि गत मे ४ मा आक्रमण भएको थियो । तर उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि बिहीबार मात्रै उक्त घटनाका समाचार बाहिरियो । यति बेला भने भारतको संघीय सरकारले सबै सामाजिक सञ्जाल प्रदायकहरूलाई आफ्नो सञ्जालबाट उक्त भिडिओ हटाउन निर्देशन दिएको छ । सरकारको निर्देशनपछि भिडियो सामाजिक सञ्जालबाट हटेको छ । तर, ती महिलाले भोगेको पीडा उनीहरूको मष्तिस्कबाट हटाउन जरुरी छ । उनीहरूले भोगेको पीडाबाट न्याय दिलाउनु जरुरी छ । यो सरकारको दायीत्व हो ।

दर्दनाक उक्त भिडिओमा ती दुई महिलालाई भिडले समातेर घिसार्दै खेतमा धकेलेको देखिन्छ । भिडिओमा देखिएकी एक महिलाको उमेर झन्डै २० वर्ष र अर्की महिलाको उमेर ४० वर्ष जति रहेको बताइएको छ । आदिवासी जनजातिहरूको संस्था आइटिएलएफले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार कांगापोकपी जिल्लामा कुकी–जो आदिवासी समुदायका महिलाहरूलाई त्यसरी यातना दिइएको थियो । भिडियोमा घिसारेको देखाइए पनि उक्त संस्थाको रिपोर्टअनुसार ती महिलाहरूमाथि सामूहिक बलात्कारसमेत भएको दाबी छ । यसले पनि उक्त समुदायमा महिलाले कति हिंसा खेप्दा रहेछन् भन्ने देखाउँछन् ।

भारतमा बेलाबेलामा हुने गरेको जातीय वा कुनै नामको दंगामा र द्वन्द्वमा महिलामाथि हिंसा हुने गरेको सुनिन्छ । कुकी समुदायका ती आमा र छोरीलाई मणिपुरमा भिडले निर्वस्त्र बनाएर सडकमा हिँडाएको तथा कुटपिट र दुव्र्यवहार गरेको घटना यसमध्येकै पछिल्लो उदाहरण हो । विश्वव्यापीरूपमा अनेक नाममा महिलामाथि हुने गरेको हिंसा अन्त्य हुनपर्छ । मणिपुरका महिलाले राज्य छ, कानुन र प्रशासन छ भन्ने अनुभूति गर्न पाउनुपर्छ । समाजभित्र सबै नागरिक सुरक्षित छौँ भन्ने अनुभूति गर्न पाउनुपर्छ ।

भिडिओमा ती महिलाहरू रुँदै गरेको, पीडाका कारण चिच्याएको र आक्रमणकारीहरूलाई आफूहरूप्रति दया देखाउन याचना गरिरहेको हृदयविदारक दृश्य देखिन्छ । दृख्यले ती पुरुषमा मान्छेको रूपमा मात्रै भएको अनुभूत गराउँछ । उनीहरूसँग मान्छेसँग हुने कुनै पनि गुण छैन भन्ने लाग्छ । उक्त भिडियो हेर्नेलाई त पीडाको अनुभूति हुन्छ भने भोग्नेको पीडा कम दर्दनाक हुन सक्दैन । हेर्दा लाग्छ मान्छेको मनमा मानवता भन्ने कुनै भावना नै छैन । मानवता शून्य भएको पशुवत भावनाले पनि गर्न नसक्ने प्रकारको घटना हो त्यो । उक्त घटनाको जति निन्दा गरे पनि कम हुन्छ ।

सो घटना मे ४ को भए पनि लामो समयपछि मात्रै बाहिरिएको हो । लामो समय पीडितले त्रासका कारण हुन सक्छ त्यसबारे मुख खोल्न सकेनन् । घटना बाहिरिएपछि र घटनाका आरोपितप्रति मानिसहरूको आक्रोश बढ्दै गएका कारण घटनाको ७८ दिनपछि मात्रै पक्राउ गरियो । तर पीडित महिलाहरूले दुई महिनाअघि नै प्रहरीमा उजुरी दिएका थिए । सार्वजनिक भएका भिडिओमा हिंसामा संलग्न मानिसहरू स्पष्ट रूपमा चिनिने भए पनि प्रशासनले सुरुमै चासो दिएन । यसले पनि पीडकलाई यस्ता अपराध गर्न अझै सघाउन पु¥याउने देखिन्छ । त्यहाँको पुलिस प्रशासन पनि दोषी देखिन्छ ।

भिडिओ सामाजिक सञ्जालहरूबाट फैलिँदै गएपछि बढेको ठूलो जनआक्रोशपछि भारतमा यो घटनाबारे धेरैलाई ध्यानाकृष्ट बनायो । यसले यौन हिंसाको घटनाका पीडितहरूका पक्षमा राज्यको बेवास्ताबारे प्रश्नहरू उठेका छन् र प्रधानमन्त्री मोदी आफैँ यो जातीय हिंसाबारे बोल्न बाध्य भए । अरूको पनि मौनता तोडियो र पीडितको पक्षमा बोले । जनआक्रोस बढेपछि सबैजसो बोल्न बाध्य भए । यदि राज्य इमानदार भएको भए र समाज यस्ता घटनाविरोधी छ, अपराधीलाई समाजमा उन्मुक्ति छैन भन्ने विश्वास भएको भए त्यस प्रकारको घटना हुने थिएन होला ।

एक २० वर्षीया युवतीलाई घरबाहिरबाट अपहरण गरेर लगियो । रातभरि बलात्कार र मरणासन्न हुनेगरी कुटपिट गरेपछि उनलाई घरको ढोकामा लगेर छाडियो । यति मात्रै होइन कहीँ कतै उजुरी गरे तिम्रो छोरी मारी दिन्छु भन्दै आमालाई धम्कीसमेत दिए अपहरणकारीले । यो सुन्दा कति करुणदायिक छ । पढ्दा, लेख्दा, दृश्य हेर्दा र सुन्दा आङ सिरिंङ हुन्छ । उनीहरूले भोगेको पीडा, अपमान कम छैन ।

यद्यपि दुई कुकी महिलालाई नग्न हिँडाएको भिडिओ सार्वजनिक भएपछि मैतेई समुदायका महिला पनि विरोधमा ओर्लिए । भिडिओमा देखिएका दुई कुकी महिलामाथि आक्रमण भएको गाउँको समूहमा मीरा पेइबिसको नेतृत्व गर्ने सिनाम सुर्नलता लेइमाका अनुसार गाउँलेहरूले नै मुख्य सन्दिग्धलाई प्रहरीसमक्ष हस्तान्तरण गरे । त्यसपछि मीरा पेइबिसका स्थानीय सदस्यहरू जम्मा भए र ती व्यक्तिको घरमा आगो लगाए । उनीहरूले आक्रोश शान्त पार्ने प्रयासमा पीडकको घरमा आयो लगाए पनि त्यसले पीडितले न्यायको अनुभूति गर्न सक्दैनन् । उक्त घटना जघन्य अपराधको विरोधमा समुदायले जनाएको निन्दाको प्रतीक हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई महिलाको भिडिओ सार्वजनिक भएपछि मात्र मणिपुरमा चर्किएको द्वन्द्वबारे आफ्नो मौन भंग गरे । उनलाई समाजिक आक्रोशले बोल्न बाध्य बनायो । निःसन्तान मोदीले भारतका सबै महिलालाई छोरी देखुन र अनुभूत गरुन् ती महिलाले भोग्ने सबै प्रकारको हिंसाको । मणिपुर घटना एउटा प्रतिनिधि पात्र हो, विश्वका हरेक कुनामा बस्ने महिला कुनै न कुनै नाममा हिंसाबाट मुक्त छैनन् ।

प्रतिक्रिया