भाले हात्तीमाथि महिला माउतेको सवारी

बाँके राष्ट्रिय निकुञ्जमा महिलाको साहसिक कथा

बाँके । माहुते महिला उपनामले यहाँ परिचित मिनु खड्का आफ्ना सन्तानका साथै हात्तीको पनि अभिभावक बनेकी छन् । ०७४ सालमा हात्ती सफारीका लागि परीक्षामा निकालेर माहुते बनेकी उनले साढे पाँच वर्षको अवधिमा छोरोछोरी र हात्ती दुबैको माया उत्तिकै गर्दै आएकी छन् । चार दशक पार गरिसकेकी मिनुलाई हात्तीमाथि बसेर परिचालन गर्न झण्डै एक वर्ष हात्तीसँगै बस्नुप¥यो । काठमाडौंमा ज्याला मजदुरी गरेर आजित बनेकी उनी आफ्नै गाउँमा हात्ती सफारी खुलेको छ भन्ने थाहा पाउने बित्तिकै फर्किएर माहुतेका लागि फारम भरेर नामसमेत निकाल्न सफल भएकी थिइन् ।

प्रत्येक दिन घरबाट जंगल र जंगलबाट घर गर्दा सधैँ हात्ती नै साथी भएको बताउँदै मिनुले अब सकुन्जेल हात्तीकै सेवा गर्ने र हात्तीसँगै जंगल सफारी गर्ने बताइन् । ‘मलाई मेरो छोरा र हात्तीमा एउटै जस्तो लाग्छ तर फरक छोराहरू बोल्छन् हात्ती बोल्दैन् । मेरा लागि दुबै उस्तै हुन्’, उनले भनिन्, ‘विगत साढे पाँच वर्षदेखि हात्ती मेरो साथी भएको छ ।’ हात्ती सफारीका लागि नाम निस्कन्छ भन्ने कल्पनासम्म नगरेकी मीनुले अहिले माहुते बनेर आन्तरिक पर्यटक घुमाउँदा आफैँ दंग परेको बताइन् । ‘मेरो नाम निस्कन्छ भन्ने मलाई लागेको थिएन तर निस्कियो । कहिलेकाहीँ पहिलाका दिनलाई सम्झन्छु । अनि आफैँ दंग पर्छुु ।’

एकल महिला रहेकी उनको श्रीमान् आजभन्दा आठ वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा कतार गएकोमा त्यही छतबाट खसेर मृत्यु भएको थियो ।

आफ्ना दुई छोरालाई सामान्य जीवनयापन गर्नसमेत गाह्रो भएका बेलामा मीनुलाई माइती र घर दुबै पक्षबाट साथ र सहयोग नपाएपछि ज्याला मजदुरी गररै भए पनि छोरा पाल्नका लागि काठमाडौं आएर झण्डै डेढवर्षसम्म काम घर बनाउने काम गरिन् । स्थायी कर्मचारी उनले सुरुमा १५ हजारबाट हात्तीको सेवा गर्दै आइरहेकीमा अहिले मासिक २५ हजार रुपैयाँ बुझ्छिन् । बिहान ५ बजे उठेर जंगल जाने र बेलुका ५/६ बजे जंगलबाट फर्कने त मीनुको दिनचर्या नै बनिसकेको छ ।

सामान्य लेखपढ भएकी उनले हात्तीलाई भने आफ्नै भाषामा धेरै कुरा पढाइसकेकी छन् । मिनुले भनिन्, ‘मेरो हात्तीले मैले जे भन्यो त्यही मान्छ । मेरो भाषा बुझ्छ । जब यसले मैले भनेको सबै मान्छ तब मलाई असाध्यै खुसी लाग्छ ।’ मीनुले सौराज गज नामक भाले हात्तीमामाथि बसेर जंगल सफारी गराउँदै आएकी छन् ।

मीनु जस्तै बाँके राष्ट्रिय निकुञ्जमा हात्ती हाँक्ने महिलाको रूपमा चिनिन्छन् रिताकुमारी सुवेदी पनि । उनले पनि हात्तीलाई आफ्नो भाषा सिकाउँदै आन्तरिक पर्यटकलाई निकुञ्ज सफारी गराउन थालेको ६ वर्ष भइसकेको छ । तीन दशक पार गरेकी रीताले पनि परीक्षा दिएरै माहुते बनेकी हुन् ।

प्लस टुसम्म पढेकी उनले माहुते बन्न कम्तीमा पनि ६ महिना हात्तीको सेवा गर्नुपरेको बताइन् । रिताले भनिन्, ‘हात्तीको सेवा गर्दै गर्दा उसले हाम्रो भाषा बुझ्ने रहेछ अनि हामीले पनि उसको आवश्यकता । हात्तीमाथि बस्न मलाई कम्तीमा पनि ६ महिना लाग्यो ।’

बाँके राष्ट्रिय निकुञ्जमा हिजोआज हात्ती सफारिका लागि पर्यटक नआए पनि पहिला दैनिक २० देखि २५ आन्तरिक पर्यटकलाई हात्तीमा बसालेर जंगल सफारी गराउने गरेको रीताले बताइन् ।

बिहानै उठेदेखि बेलुका नहुुँदासम्म पनि जंगलमै दिन बित्दा कहिलेकाहीँ दिक्क लाग्ने रीताले बताइन् । ‘कहीलेकाहीँ त दिक्क लागेर आउँछ । जागिर छोडिदिउँ कि जस्तो पनि लाग्छ । तर फेरि यो आर्थिक मन्दीमा अरूले जागिर नपाएर भौतारिएको देख्दा जस्तो भए पनि सरकारी जागिर छ भन्ने सम्झन्छु र मन बुझाउँछु ।’ बच्चा सानो हुँदा श्रीमान्लगायत परिवारका अन्य सदस्यले जागिर छाड्न कर गरे पनि रीताले घर र जंगल दुबै सम्हाल्न सक्ने अठोट गर्दै माहुते बनिरहिन् । अहिले आफू हात्ती हाँक्ने महिलाका नामले चिनिन पाएकोमा गौरव लाग्ने पनि उनले बताइन्
आजभन्दा दुई वर्ष पहिला माहुते आफूलाई ‘गणेश गज’ नाम गरेको भाले हात्तीले हानेर घाइते बनाएको घटना उनले सुनाइन् । अहिले उनी शान्तिकली नाम गरेको हात्तीको माहुते छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले निकुञ्जमा हात्ती हाँक्ने महिला र पुरुषमा कुनै फरक नभएको तर जंगल सफारी गर्न आउने पर्यटकले भने महिला माहुुते भएको हात्तीमा सफारी गर्न अलि आनाकानी गर्ने गरेको बताए । ‘जंगल सफारीमा आउने पर्यटकले महिला माहुतेभन्दा पुरुष माहुतेलाई रोज्ने गरेको पाइन्छ ।’ उनले भने, ‘सायद शारीरिक रूपमा पुरुषको तुलनामा महिला कमजोर हुन्छन् र जंगलमा भैपरी आउने घटनाबाट जोगाउन सक्दैनन् भनेर पनि हुनसक्छ । तर हामीले पर्यटकलाई सम्झाउने गरेका छौँ ।’

अधिकृत साहले माहुते हुनका लागि पहिला शरीरिक परीक्षा पास गर्नुपर्ने प्रावधानअनुसार महिला माहुतेले पनि रुख चढ्ने, दौडने र पौडने गरी तीन चरणका परीक्षा पास गरेको जानकारी दिए ।

उनका अनुसार शारीरिक परीक्षा पास गरेपछि मात्रै लिखित र मौखिक परीक्षा गर्ने नेपाल सरकारको नीति अनुरूप नै माहुते छनोट गरिन्छ । महिला माहुतले पनि ती सबै तहका परीक्षा पास गरेको हुनाले पर्यटकलाई महिला माहुतेप्रति लिंगका आधारमा भेद्भाव नगर्न आग्रह गरिन्छ ।

प्रमुख संरक्षण अधिकृत साहले महिला माहुुतेलाई महिनावारीको समयमा आराम गर्न भनेर बिदा दिने गरेको बताए । उनले भने, ‘महिनावारीका समयमा महिलालाई आराम चाहिन्छ । त्यसैले उक्त समयमा निकुञ्जले महिला माहुतेलाई आरामका लागि बिदा दिने गरेको छ ।’ उक्त समयमा पुरुष माहुतेले महिला माहुतेले हाँक्ने हात्तीको हेरचाह गर्ने गर्दछन् । निकुञ्जमा सफारीका लागि ६ वटा हात्तीमध्ये भेले हात्ती दुई र पोथी हात्ती चार वटा रहेको निकुञ्ज प्रमुख साहले जानकारी दिए । उक्त निकुञ्जमा महिला पुरुष गरी २० जना माहुते छन् ।

प्रतिक्रिया