राष्ट्रपतिलाई यो विधेयक तपाईंको दराजमा छ, हेर्नुहोस् त भनेको मात्र हो : प्रधानमन्त्री

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो संसदबाट पारित भएर राष्ट्रपति कार्यालयमा प्रमाणीकरण नभई बसेको नागरिकता विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्ले सिफारिस नगरी अनुरोध मात्र गरेको प्रतिक्रिया दिएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संसदबाट पारित भइरहेको विधेयक प्रमाणीकरण गर्न मन्त्रिपरिषद्ले सिफारिस गर्न नसक्ने तर त्यो विधेयक प्रमाणीकरण हुन बाँकी छ भनेर देखाउने काम गरेको बताए । उनले धेरै पटक संविधानविद् कानूनविद्सँग छलफल गरेर सरकारले सो अनुरोध गरेको बताए ।

‘संसदले पास गरेको र प्रमाणीकरण नभएको विधेयक राष्ट्रपति कार्यालयमा विचाराधीन छ भनेर जानकारी गराएको मात्र हो,’ प्रधानमन्त्री दाहालले भने, ‘औपचारिक जानकारी कसले गराउन सजिलो र वैधानिक हुन्छ भन्दा त्यो सरकारको हो, यो अरुजस्तो विधेयक हैन, प्रतिनिधिसभामा पारित भएको, राष्ट्रियसभामा पारित नभएको जस्तो पनि हैन, वा दुवैबाट मात्र नभएको वा प्रस्तुत मात्र भएको वा अर्को संसद् आएपछि स्वतः जिरोमा जाने प्रकारको विधेयक पनि यो हैन, यो बिधेयको स्थिति विशिष्ट रह्यो, यो विधेयक तपाईँको दराजमा छ हेर्नुहोस् त भनेको मात्र हो ।’

अहिले प्रधानमन्त्री दाहालले सांसदहरुलाई जवाफ दिइसकेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भनाइ राख्दै छन् ।

प्रतिक्रिया