घुङलाङपार्क धुन्चे

नियात्रा

तलबाट माथि आउँदैछन् चार/पाँच जोडी तन्नेरी तरुनी नेपालीहरू । ढाडमा रुपस्याक झोला । हातमा विदेशी फलामे लौरो । केटीको हात समातेर केटो आउँदै छ । केटाको हात समातेर केटी आउँदै छे । मस्किँदै । सुसेल्दै । गाउँदै । हाँस्दै आउँदै छन् । उर्नेको पारा देखेर मलाई पनि १६ वर्षमा झर्न मन लाग्छ । मिले पो । उनीहरू माथितिर लागे । हामी तलतिर लाग्यौँ ।

पोष चापागाईं

ग्रिनहिल सिटीभित्र । प्रातः भ्रमण गर्दै थियौँ हामी वृद्ध बालकहरू । हिँड्दा हिँड्दै मैले भनेँ, ‘धुरन सर ! २०८० को स्वागत गर्ने होइन ?’
भन्नु भो – हो ।

उसो भए प्रोग्राम बनाउनुस् न त कतै जाम । मैले भनेँ ।

फेरि भन्नुभो – एक गते मेरो फुर्सद छैन । २८ र २९ गते २ दिन कतै जाम । मज्जाले घुमौँ । म प्रोग्राम बनाउँछु ।

२८ गते बिहान हाम्रो यति कुरा भाथ्यो । दिनभरीमा त सबै तयारी भइसकेछ । भोलि जाने ।

साँझतिर मैले मेरीलाई सोधेँ, ‘जाने त टुंगो भएछ राम्रो । तर कता कता जाने नि ?’

भनिन्, ‘दुई दिनमा टाढा जान सकिन्न । केरुङसम्म पुगेर फर्किने कुरा भा छ ।’

भोलि अर्थात् २०७९ चैत २९ को बिहान भो ।

दुई गाडी आए ।

एउटामा म र रश्मी । डा.गोविन्द र डा.मीरा ओझा । रेखा र घुरन । अर्कोमा कमल र रीता श्रेष्ठ । राम र रेखा उप्रेती । डोर र रुमा उप्रेती बस्यौ कस्सिएर । २०७९ चैत २९ गते सात बजे बिहान हाम्रा गाडी कुद्न थाले ।

बिहानको काठमाडौं सधैँ हाँसिबस्छ । न भिड । न कोलाहल । शान्त । गाडीहरूलाई मज्जा । बाघले लखेटेको मृगजस्तै गुडुडु कुद्न थाले गाडी । चेक जाँच गराएर शिवपुरीको जंगलभित्र पस्यौँ ।

शिवपुरी ः लद्दुशमशेर जंगबहादुर राणा म । २०३० सालदेखि काठमाडौं बसेर पनि शिवपुरीबारे फिटिक्कै थाहा छैन । उसो त गफगाफमा केही सुनेथेँ । उडाएँ । देखेको थिएन । कस्तो होला शिवपुरी भन्ने चौ चौ मनमा थियो ।

मज्जा । मज्जै मज्जा । जताततै रुखै रुख । हरिया पुलिस रुख मान्छे । सडकभरि छरिएका सल्लीपिर हेर्दाहेर्दै म त दङ्दास भएँ । मेरा आँखाले भने, ‘यी सल्लीपिरहरू सिरक डसना बनाउने रुवाभन्दा नरम होलान् । सल्लीपिरको ओछ्यान कति लचकदार होला ।

डाँडाको टुप्पामा पुग्यौँ शिवपुरीको । त्यहाँ उभिएर हेर्न पाए त मज्जा आउँथ्यो होला । गाडी मैले मात्रै लगेको होइन । ६ जनाको हो । प्रकृतिको काखमा बसेर लै लै गरी खेल्ने सबैको रहर कहाँ हुन्छ र ?

भो भो नरोकाँै गाडी हिडौँ ।

हुन्छ ।

टुप्पोबाट झर्न थाल्यौँ डाँडापारि । क्या त ढाडपट्टि झर्दैछौँ ।

सु गर्ने मन भो । बल्ल तल्ल गाडीबाट निस्केँ । यही मौका हो हेर कान्छा हेर वन । शिवपुरीको वन । एसो भन्यो मनले । मनका कुरा मानेर मेरा दुई आँखा चारैतिर हेर्न थाले ।

अमिलो खाएपछि कुँढिएको दाँतजस्तै कुँढियो मन । सिरिंग भो । हन के उघि बेवास्ता गरेको कानन द्रव्यलाई । छैनन् त रुख । सबै पोथ्रै रुख । वनमारा र तीतेपातीको बीचमा उभिएका फाट्टफुट्ट डल्ले रुख ।

शिरानदेखि फेदमा झरुञ्जेल वन खोजेँ भेटिनँ । यी देखिएका पोथ्रालाई÷ठुटालाई म कसरी रुख भनेर सम्बोधन गरौँ । स्वाहा मन । रुञ्चे अनुहार पारेर चारैतिर हेर्दै भनेँ – सरकारले जलधार योजनाले । गाउँलेले किन बोटविरुवा नहुर्काएको होला ।

शिवपुरी जलाधार क्षेत्रबाट बाहिर निस्किसकेछौँ ।

चिया सिया नखाने ?

खाने । अलि गएपछि । ‘होटल रिभर साइड । लिखु । छहरे ।’ नुवाकोटमुनि गाडी रोकेर हामी भित्र पस्यौँँ । पेट भर्न । आँगनको कुनामा बसेर मकैका दाना जत्रा सिमीका गेडा बेच्दै रहिछिन् आमै । किन हो कुन्नि । हाम्रा साथीहरू पनि ती आमैको वरपर बसे । किने । पत्रिकामा प्लास्टिकमा थापे । चिया सिया अर्डरअनुसार आयो । खायौँ । साथीहरूले लगेको सलाद खोले । खायौँ ।

फेरि गाडीभित्र लुक्यौँ । के लुक्नु नि । नौलो । हेरेको छु छु । काग नयाँ । बारी नयाँ । कुलो नयाँ । खोलो नयाँ । रुख नयाँ । सबै नयाँ ।
वेत्रावती । विदुर–१० मा ः हामी वेत्रावती अर्थात उत्तरगया अर्थात उत्तरवाहिनी त्रिवेणी नजिकको रोडमा छौँ । ‘हाम्रो रेस्टुरेन्ट एन्ड गेस्ट हाउस, विदुर–१०, वेत्रावती’ लेखेको बोर्ड बाहिर गाडी रोक्यौँ । ओर्लियौँ । स्नान साधन जो सँग जे थियो । बोक्यौ । सडकै सडक जाँदै छौँ । पाँच मिनेट हिँडेपछि देब्रेतिर वेत्रावतीमा जाने कच्ची बाटो (गाडी जाने) आयो । तेतै लाग्यौँ ।

कच्ची बाटो वरपर एक÷दुई घर आए । गए । घरै नभएजस्तो ठाम । सम्म छोड्यौँ । ओर्लियाँै । खुत्रुक खुत्रुक हिँड्दा हिँड्दै त्रिवेणीमा पुग्यौँ ।
फोटा ! हौ फोटा । वर्तमान युग भनेकै फोटाको युग हो भन्छु म । पानी छुँदा फोटा । पानी अर्चदा फोटा । दान गर्दा फोटा । स्नान गर्दा फोटा । हिँड्दा फोटा । ए कलियुग ! कति फोटा खिच्छस् ।

धार्मिक कृत्य गरे । गरेनन् । मेरो विषय होइन । मनलाग्दी । फर्कियौँ ।

त्रिवेणीबाट फिर्दा बाटैमा रहेछ पुल । पुल तर्ने ? पुल पारि जाने ? – घुरन

तर्ने नि । कति मजाले हलिन्छ । सानामा आफूभित्र बसेको कोक्रो हल्लिएजस्तै पुल पनि हल्लिन्छ । मज्जा पो आउँछ त हौँ । – म
पुलको बीचमा हामी थियौँ । दुई मोटरसाइकल घुँइय् पार्दै आए । लुगलुग काम्दै छेउमा उभियौँ । गए । केही भएन । पारि पुग्यौँ । चौतारीजस्तो फोटो खिच्ने ठाउँ रहेछ । खिच्यौँ । हा । हा । हि । हि । सबै मस्त ।

वरपर । माथि । चारैतिर भर्खर हरियो फिरेको धान खेत देखेर मेरो मन कुटुकुटु भो । यतै बस्न पाए नि हुने । वरपीपल चौतारी । मुनि भागिरथी । वरपरि धान खेत । न हल्ला न खल्ला । मध्ये दिन पनि बिहानै जस्तो ।

फिरौँ ?

हुन्छ ।

भोक लागेको थियो । गाडी राखेको होटलसम्म पुग्न पनि पाँच मिनेट जति लाग्यो । पाकिसकेको रहेछ खानेकुरा । ल्याए । दिए । खायौँ । थप्यौँ पनि थपेनौँ पनि । हात धोएर फर्किंदै थिएँ । अघिल्तिर म भन्दा जेठाजस्ता मनुवा देखेँ ।

नमस्ते ।

नमस्ते ।

‘हामी काठमाडौंबाट यता आका । मलाई वेत्रावती बारे थाहै छैन भने पनि हुन्छ । यहाँले वेत्रावती बारे भन्दिनु हुन्थ्यो कि ?’ म
‘बूढो भइयो । के जानम्ला र ! जति जानेको छु सुनाउँछु । सुन्नुस् है त । म कथ्छु’ – उनी

‘हुन्छ । सुन्छु ।’ – म

वेत्रावती भनेको तीनतिरबाट आएको जल एकैठाममा संगम भएको स्थान हो । तीन भागिरथीको संगमस्थल ।
१) त्रिशूली ः देव दानव मिली समुद्र मन्थन गर्दा विष उत्पन्न भो । सो विष शिवले पिए । घाँटीमा अडियो । बालाई औधी पोल्यो । डाह भो । पानी खोज्दै दोडिँदै बा गोसाइँकुण्डमा पुगे । हालको गोसाइँकुण्डदेखि अलि पर । अलिमाथि बाले त्रिशूल पहाडमा गाड्नु भो । त्यहाँ जमीनबाट पानी निस्कियो । पानी निस्कएको ठाममा अझै घ्वाक्कको धारो छ । त्यो धाराको पानी बग्दै गएर गोसाइँकुण्ड बन्यो । ०५८ मा गोसाइकुण्ड जाँदा मेरा आँखैले देखेको थिए त्यो धारो । गोसाइँकुण्डबाट बग्ने नदीको नाम हो त्रिशूली । त्रिशूलीको पानी उत्तरबाट बग्दै वेत्रावतीमा आउँछ । ‘त्रिशूलात् उत्पन्न इति त्रिशूली’ । त्रिशूलबाट उत्पन्न हुनाले त्रिशूली भनियो ।

२) रुद्र गंगा ः रुद्रगंगाको उत्पत्ति स्थल लाङटाङ हिमाल हो । त्यहाँबाट निस्केर पूर्व हुँदै रुद्र गंगा वेत्रावतीमा आएर त्रिशूलीको जलमा मिसिन्छिन् ।
रुद्रगंगा र त्रिशुली गंगा मिसिएको ठाउँलाई त्रिशूली नै भन्छन् ।

‘यति त बुझेँ । वेत्रावती बारे भन्नुस न’ – म ।

टोपी छड्के पार्दै भन्न थाल्नु भो, ‘म खेमलाल सबै भन्छु सुन्नुस् ।’

३) वेत्रावती ः त्रिशुली र रुद्रगंगा मिसिएको ठाउँमा शिवजीले आफ्नो वेतको लठ्ठी गाड्नु भो । गाड्दा जमिनबाट भुलभुल पानी निस्कियो । त्यो पानी ०७२ सालको भुइँचालो अघिसम्म ६÷७ फिट माथि फोहोराजस्तै उफ्रिन्थ्यो । मैले आँखैले देखेथेँ । अचेल छैन ।
अरू सुन्नुस् ।

हुन्छ ।

वेत्रावतीलाई प्राचीन ऐतिहासिक तीर्थ भन्छन् । पुस महिनाको आमावस्या तिथिमा यहाँ विशेष धार्मिक मेला लाग्छ । हिमवत् खण्डमा वेत्रावतीलाई पितृहरूको श्राद्ध तर्पण गर्नका लागि उत्कृष्ट तीर्थ मानिएको छ । वेत्रावतीलाई उत्तर गया तथा उत्तर वाहिनी पनि भन्छन् । रामनवमी, बालाचतुर्दशी, दशहरा, ऋषितर्पणी (जनैपूर्णिमा) जस्ता पूण्यकालमा यहाँ ठूलो मेला लाग्छ । वेत्रावती रसुवा र नुवाकोटको बीचमा पर्छ ।
धन्यवाद ! खेमलालजी ।

धन्यवाद !

गफ सकेर हामी बाटो लाग्यौँ । खाको पेट । टुन टुन । भुसुक्क निद्रा । भुसुक्क सर्वांग । निदाएँ । फेरि बिउझिएँ । बाटोमुनि टाँकी । खनिउ । कुटमिराका रुख देखेँ । दिङ्ला हर्हरायो । डाँडा पाखा । घरबारी उस्तै मेरो घरजस्तै ।

कालिका दर्शन ः बजारको पुछार । रष्ट्रिय निकुञ्जको बोर्ड । सँगै भित्तामा ठाडो खुड्किले भ¥याङ । खुड्किलै खुड्किला । के उघि ठाडो ।
‘मान्छे खेद्नु अघि । जनावर खेद्नु पछि ।’ बाले भनेको सम्झेँ ं। उकालो चढ्दै छु । सबैभन्दा अघि एक्लै । हौ ! के उधि ठाडो । पुग्न पुग्न आँटेपछि एउटा खुड्किलो भत्किएर आँ गरी बसेको रहेछ । साथीहरूतिर हेरेर भनेँ, ‘लडिएला । हेरेर आउनुस । भत्केको छ ।’

टुप्पोमा सम्म । सम्ममा कालिका मन्दिर । वरपर सालघारी । यथेच्च्छा घुम्यौँ । ढोग्यौँ । माग्यौँ । रमायौँ । हास्याँै । मैले धित मरुन्जेल वन पाखो हेरेँ । ख्त्रुक खुत्रुक झ¥यौँ सडकमा ।

गुम्बा आयो । डाँडो आयो । गयो । राम्चे बजार रसुवा पनि त्यसरी नै गयो । ग्राङ गयो । सोले गयो ।
हौ के उधि डरलाग्दो जमीन । स्वाट्टै झ¥यो भने खम्¥याङ खुम्रुङ खोलामा । हाडखोर भेटिन्न होला । माथि टोपी झर्ने ठाडो डाँडो । सडक छ । तल–माथि हे¥यो कि डरले छुलछुल । वन । रुख । पानी । मलिलो जमीन केही देखिन्न । भए पो देख्नु ।
‘ऊ लालीगुराँस’, डा.ओझा ।

‘लभ खेल्न मन लाग्यो ? पातलेको वनमा जस्तै’, म

जान त मन थियो । लभ खेल्न त मन थियो । भीरमा टिप्नै सकिन्न भनेर चित्त बुझायौँ ।
तपस्वी रुख ः पुग्न पुग्न आँट्यौँ धुन्चे बजार । अलि तलै छाँै । लेखको ठाम । पैदल भए जुका लाग्दा हुन् । गाडीमा के को जुका । कतै ठाडो ओरालो । कतै अग्ला मोटा सुरिला रुख । रुखैरुखको अधिराज्य । तेर्पे तेर्पे उकालो जाँदैछौँ पिच बाटोमा ।

सडकमुनि खोल्सो । खोल्सामा उभिएका महान् तपस्वी रुखहरू । ठुटे हाँगा र पात याज्ञवल्क्य मुनिको दारी लाग्छन् ।
प्रकृति ः आहा ! प्रकृति । आजीवन अर्थात् जन्मदेखि मृत्यु पर्यन्त मानव हितमा एकै ठाममा उभ्भिने र त्यही मर्ने परोपकारी रुखहरू ।
गाडीको झ्याल खोलेर बाहिर हेर्दै मैले भनेँ, ‘काननम् वन्दे । मन मन ।’

जिन्दगीभरी खान लाउनका लागि हाइहाइ गर्दै मर्न मार्न तयार हुने मान्छे भोको पर्न पनि सक्छ । तर यी रुख कहिल्यै भोको बस्दैनन् । बाँच्छन् । सास फेर्छन् । मानव मात्रको हितमा अहोरात्र काम गरिरहन्छन् ।

परोपकाराय सतां विभूतयः (सज्जनको विभूति भनेको परोपकार हो ।)

रुखहरूलाई तेतिबेला सम्मान गर्ने शब्द भेटिनँ मैलेँ । खोल्सोबाट सडक माथिसम्म उभ्भिएका अग्ला लेकाली रुखतिर हेरेर मनमनै भनेँ, ‘प्रकृति ! तिमी मानव मात्रको जीवनदायिनी शक्ति हौ ।’ धूर्त मान्छे काँधमा बन्चरो बोकेर वन विनास गर्न जाइलाग्छ ।

हामी धुन्चे बजारभित्र पस्यौँ । आइपुगेछ । घडी हेरेँ । पौने चार ।

को को कुन कुन कोठामा बस्ने एकछिन कुरा भो । मिलिगो कुरो । आ–आफ्ना कोठामा सामान बिसायौँ ।
निस्कौँ बजार हेर्न ?

हुन्छ ।

निस्कियौँ ।

धुन्चेबजारदेखि मिनी गोसाइँकुण्डसम्म ः बजारको पल्लो छेउमा पुगेपछि डा.ओझाले भन्नु भो, ‘मिनी गोसाइँकुण्ड जाने होइन ?’
मैले घुरन सरलाई सोधेँ, ‘जाने ?’

भन्नुभो, ‘जाने । जौँ ।’

खुइँखुइँ हिँड्न थाल्नु भो ।

भनेँ, ‘रात पर्नै लाग्यो । कति टाढा छ ? वृद्ध बालबालिकालाई फिर्न गाह्रो पो पर्छ कि ?’

बाटो अलमलियो । तल झर्ने कि ? तेर्सो ठाडो माथि जाने ।

सोध्यौँ – आधा घण्टा जति लाग्छ । अलि परसम्म गाडी बाटो छ । त्यसपछि छैन । मान्छे । हिँड्ने बाटो चैँ छ ।

गाडी मगायौँ । गाडी पर्खिंदै थियौ । डा.ओझाका नातेदार रसुवाको वन कार्यालयका इन्चार्ज अनिल रेग्मीका बाबुछोरा बाटैमा भेटिए । दुई गाडीमा पाहुनासमेत बस्यौँ । १० मिनेट जति गएपछि गाडी बाटो तुरियो । भाइहरू यहीँ बस्तै गर्नुहोस् । भनेर हामी हिँड्न थाल्यौँ । हाम्रा गाडी उग्राउन थाले ।
हिँड्दैछन् मेरा पाउहरू । हेर्दैछन् मेरा आँखा । खोज्दैछ मेरो मन मेरा वा हरिप्रसाद र आमा हरिप्रियालाई । धर्मको धङधङ्गे लागेको छ । अध्यात्म उफ्रिएको उफ्रियै छ, बुरुक बुरुक । डिलमा उभ्भिएर पारि हेर्न थालेँ । ठीक अघि अग्लो डाँडो देखिन्छ । तलदेखि डाँडाको टुपीसम्म रुखै रुख छन् । हरिया डुकुरुख । कटक्क भाँचेर कुटुक्क टौकौँ लाग्ने । जलवाष्प अभिसिञ्चित कानन ।

यति सुन्दर वन हेर्न सुकर्म गरेकै हुनुपर्छ ।

मान्छे हिँड्न मात्र मिल्ने गाउँको बाटोलाई आधुनिक पारेको अर्थात् सिमेन्ट लिपपोत गरेर चिरिच्याट्ट पारेको छ । यसो भनौ न – तीतेपाती । वनमाराजस्ता घाँस समातेर हिँड्ने डोरी बाटोलाई सिमन्टी घसेर चिल्याएको छ । हो त्यही अन्दाजी तीनफिटे बाटोबाट लुइँलुइँ जादैछौँ । चौडाइ कम भए पनि पक्की बाटो भएकाले हिँड्न डराउनुपर्दैन । ठम् ठम् । न समाती हिँड्दा वनको बाटोमा मज्जै मज्जा ।

कहिले तेर्सो । कहिले ठाडो ओरालो बाटोमा कुल्चिँदै हिँड्दै छाँै । वन । बारी । रुख । पोथ्रा । फोगटा के के आए । के के गए । थाहा भएन । गइरह्यौँ । साँझ साँझ पर्न थाल्यो ।

आन्तरिक पर्यटन ः हाम्रा पालाको जमाना रहेन । अब त तरुनी तन्नेरी हातेमालो गरेर देशभित्र घुम्न कस्सिएर लाग्न पो थालेछन् । कस्तो कस्तो अनौठो दृश्य ।

दृश्य १ ः अँ ओरालो झर्दैछौँ । तलबाट माथि आउँदैछन् चार÷पाँच जोडी तन्नेरी तरुनी नेपालीहरू । ढाडमा रुपस्याक झोला । हातमा विदेशी फलामे लौरो । केटीको हात समातेर केटो आउँदै छ । केटाको हात समातेर केटी आउँदै छे । मस्किँदै । सुसेल्दै । गाउँदै । हाँस्दै आउँदै छन् । उर्नेको पारा देखेर मलाई पनि १६ वर्षमा झर्न मन लाग्छ । मिले पो । उनीहरू माथितिर लागे । हामी तलतिर लाग्यौँ ।

दृश्य २ ः ४० जति उमेरका पाँच÷६ जोडी नेपाली । लौरो टेक्दै तलबाट उकालो आउँदैछन् । कुण्डमा गएर आउनु भा हो – हाम्रो समूह
हो । आउँदै छौँ । – उनीहरू

हाम्राले आउनेहरूलाई अँगालो मारे । धर्म साटासाट गरेको रे ! दुवै समूह उकालोमा उभिए । कुरा गरे । छुट्टिए ।
सम्म सम्म जस्तो ठाममा मैले अनिल रेग्मीलाई सोधेँ, ‘सर, तपाईं त यहि बस्नु भा छ । मिनी गोसाइँकुण्डमा माथिबाट एक सय आठ कुण्ड मध्ये प्रसिद्ध नौ कुण्डको पानी आएको छ रे ! ती नौ कुण्डको नाम भन्दिनुस् न ?’

भन्नु भो, ‘मलाई नि थाहा थिएन । सोधखोज गरेर थाहा पाएको छु केहि दिनअघि ।’

भन्नुस् न त ।

सुन्नुस् –

१) लाभ कुण्ड, २) चन्द्र कुण्ड, ३) वरद कुण्ड, ४) सूर्य कुण्ड, ५) गोसाइँकुण्ड, ६) भैरव कुण्ड, ७) सरस्वती कुण्ड, ८) पीप कुण्ड र ९) दुग्ध कुण्ड
धन्यवाद रेग्मी सर ।

हामी कुण्ड नजिक पुगिसकेछौँ । बाटैमा अग्लो त्रिशूल र मन्दिर रहेछ । फोटा खिच्यौँ । मन्दिर बन्द रहेछ । तल झ¥यौँ । अप्ठ्यारो । वृद्ध वृद्धाका पाउ लर्बराउने ठाम । पानीमा गएर इच्छाअनुसार ग¥यौँ । ढुंगामा बसेर म र राम उप्रेतीले पाँच मिनेट योग ग¥यौँ । बाटोसम्म मलाई एक हात रामले समाए अर्को हात रश्मीले समाइन् ।

लामो सास फेर्दै बाटोमा आएर सोधेँ, ‘कुण्ड खोइ ? दखिएन त ।’

‘कुण्डमा डुबेर गाईवस्तु मरे । बाघ भालु पनि परे । तेसैले अचेल कुण्ड बन्द छ ।’, अनिल रेग्मीको आवाज सुनेँ ।
फर्किन थाल्यौँ ।

त्यहीँ बाटो मास्तिर दुई तले तीन÷चार घर रहेछन् । घरको बादर्लीबाट ३०÷४० जतिकी कुण्डको पानी पिएर हुर्केकी महिला टुलुटुलु हामीतिर हेर्दै थिइन् । धर्मकर्म गर्न हिँड्दा परस्त्रीमा नजर नलाउनु भन्छन् । हेरिनँ उता ।

जुनबाटो गएका थियौँ । त्यही बाटो फर्कियाँै । जाँदा उज्यालो थियो । फर्किंदा अँध्यारो भो । मोबाइलमा बत्ती बाले । राँको बलेभन्दा उज्यालो भो । गाडी भए ठामसम्म आइपुग्यौँ । चढ्यौ । होटल पुग्दा झण्डै ८ बजेको थियो । हतारहतार कोठाभित्र पस्यौँ । एकैछिनमा खान गयाँै । यथेच्छा भोजन ग¥याँै । डम्म । सुत्न जाने होइन ? हो । अँ ।

धुन्चे – केरुङ आउजाउ गर्न अन्दाजी पाँच घण्टा लाग्छ रे ! बिहानै ५ः३० मा हिँडौँ हुन्न । – म
हुन्छ । हुन्छ । – सबै

आ–आफ्ना कोठाभित्र पसेर चुकुल लगायौँ ।

लाङटाङ दृश्य ः ५ बजे बिहान । ३० चैत २०७९ । रसुवाको धुन्चे बजार । पपुलर गेस्ट हाउस
बार्दलीमा उभिएर पूर्व हेर्दै छु म ।

लाङटाङ हिमालको टुप्पो देखिन्छ । मुनि छ चेनचेनवाडी डाँडो । अलि पर छ गोसाइकुण्ड जाने ठाडो बाटो । हिउँको सेतो बर्को ओढेको हिमाल मतिरै हेरिरहेको छ । पर माथि आकाशको बादललाई छेडेर लाङटाङ हिमालतिर कुद्दैछन् ताता राता न्याना सूर्य । म नयनाभिराम अलौकिक दृश्य हेरिरहेको छु । स्वर्ग छैन । कल्पना हो । नरक छैन । गफ हो ।

धर्ती छ । सत्य हो । अहिले मैले देखेको हिमालको दृश्य सत्य हो । म नेपाली भएकोमा गौरव अनुभूति गरिरहेको छु । यति सुन्दर प्राकृतिक दृश्य नेपालबाहेक अन्यत्र कहाँ पाइन्छ र ? हेर्न ।

म किचेनतिर लागेँ बार्दलीबाट । ५ः३० बज्दै छ । झुरुम्म बसेर चिया कफी खाँदैछन् । म पनि त्यहीँ गएर बसँे साथीहरूसँग । खाइसकेपछि गाडीभित्र पस्यौँ । हिँड्दा ६ बजिसकेको थियो ।

ठाडो ओरालो । कुइँ कुइँ घुमेको रोडमा बङ् कि बङ् धुलो उडाउँदै बुर्कुसी मारेर खुइँ कि खुइँ कुद्दै छ हाम्रो गाडी । माथि अग्लो ठाडो पहाड । तल कतै खोच कतै सम्म । बारीका पाटा कतै डरलाग्दो । कतै लोभलाग्दो परिवेश ।

तल पुगेपछि मुन्टो बटारेर धुन्चे बजारतिर हेरेँ । कस्तो विकट ठाउँमा खुट्टा टेकेर उभिएको होला रसुवाको सदरमुकाम धुन्चे बजार भन्ने लाग्यो । मनै तम्तमायो । धुन्चे बजारजस्तै हो मान्छेको जिन्दगानी । न मरि जानु । न बाँची बस्नु । स्वाहा ।

पैरो आए । पानी ओइरिए । हावा हुरि आए । चट्याङ परे । गल्र्यामगुर्लुम ढल्ने बजार । धुन्चे बजार ।

स्वाहा ।

तपाईं स्वाहा ।

म स्वाहा ।

धुन्चे बजार स्वाहा ।

लिपी होइनन् । डाँडा । पाखा । वन । पर्वत । धरा । सुकेनास लाग्दो जीवन । झरेको छ । झरेको छ । ओरालो । घरि खोल्सो । घरि डाँडो । घरि भ्यागुत्ते वन । घरि काँकरी चिरा रुख । यता पाखो । उता डाँडो । उता हिमशृंखला यता अलओल्ले डरलाग्दो ढुंगे पर्वत । न मान्छे । न खेतबारी । न स्कुल । न रमाइलो । त…ल खोला माथिको सडकमा पुग्यौँ ।

ठूला अग्ला डाँडाँ मुनि । देखिन्छ प…र चाइना बोर्डर । यतै छौ । जाँदैछौँ । पुगेका छैनौँ हामी । ढुंगा । ढुंगा । ढुंगै ढुंगा सडकमुनि । सडकमाथि ढुंगा । पानी । पानी । सर्वत्र पानी । छङछङ बग्दैछ खोलो । डाँडाको टुप्पामा बसेर खितिति खितिति हाँस्तै छ चिबे चरो ।
ढुंगा । पानी । चरा । सबै मान्छे हुन् । नबोल्ने मान्छे ।

हामी बोर्डरमा पुग्यौँ । गाडी नै गाडी । भित्र छिर्न दिएनन् । बाहिर फोटा खिच्न दिए । खिच्यौँ । ६० नाघेका बाआमाहरूका कति राम्रा फोटा । चियासिया तुरेर फिर्न थाल्यौँ । धुन्चे बजारको पपुलर होटलमा पुग्दा १२ बजेको थियो ।

बजार घुम्न थाल्यौँ पोका बिसार । अरू चौरीको घिउ किन्न थाले । म खुसुक्क शंखपार्कभित्र पसेँ । लेखेको पढेँ–‘घुङलाङ (शंख) पार्क, गोसाइँकुण्ड गाउँपालिका स्यापु्रmबेँसी, रसुवा’ फोटो खिचि मागेँ । आयो ।

गएर गाडीभित्र लुकेँ अरू सँगै । खुइँ कि खुइँ कुद्दै छ गाडी ।

नुवाकोट दरबार हेर्न पुग्यौँ । मर्मत गर्दैरहेछन् । भैरव थानमा झरेर फोटो खिचँे । म पनि आएँ फोटोमा । फर्कौँ । हुन्छ ।
आठ बजे बेलुका पुगिएला । – म ।

सात बजे नै पु¥याउँछु । – धुरन ।

हो नि । हामी ग्रिनहिल सिटीको कम्पाउन्डभित्र छिर्दा सवा सात बजेको थियो ।

प्रतिक्रिया