प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अर्को अग्नि परीक्षा

लोकनारायण सुबेदी

नेपाल र भारत निकट छिमेकी हुन् । तर सम्बन्ध निकट छिमेकीको जस्तो नभएर भारतको प्रभूत्व र अधिनताविरुद्ध नेपालको अनवरत संघर्षको स्थितिमा रहेको छ । अरू कुरालाई छाडेर भारतको मोदी सरकारको समेत स्वीकृतमा बनेको इपिजी (इमिनेन्ट पर्सन गु्रप)को प्रतिवेदन जसले दुई देशका बीचका समस्यालाई उजागर गरेको र समाधानको बाटो पनि देखाउन खोजेको भनिन्थ्यो, त्यो प्रतिवेदन औपचारिकरूपमा बुझ्नसमेत भारतका प्रधानमन्त्री तयार देखिदैनन् । त्यसले गर्दा भारतीय सत्ता नेपालसँग पुरानै बृटिस–भारतकालीन प्रवृत्तिकै आधारमा व्यवहार गर्न चाहन्छ भन्ने प्रष्ट छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मुखैमा आएर भारतले आफ्नो नयाँ संसद् भवनको भित्तामा ‘अखण्ड भारत’भन्ने एउटा भित्ते चित्र अंकित गरेको छ । त्यस नयाँ भवनको विवादास्पद प्रकरणलाई प्रतिपक्षले बहिष्कार गरेको थियो भने उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । त्यस भित्ते चित्रमा नेपालको लुम्बिनी र कपिलबस्तुलाई पनि समावेश र अंकित गरेको छ । जसले नेपालको स्वाभिमान र देशभक्तिमाथि ठूलो चोट पु¥याएको छ । नेपालको सत्तामै रहेका कतिपय घटक र प्रतिपक्षमा रहेका दलहरूले पनि त्यसको विरोध गरेका छन् । सडक सदन सबैतिर अहिले त्यसको विरोध भइरहेको छ । खासगरी बामपन्थी र कम्युनिस्ट पार्टीहरूले त्यसको विरोध गरेका छन् । यस गम्भीर र संवेदनशील विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण स्थगित या रद्द नै हुनुपर्दछ भन्ने माग उनीहरूले गरिरहेका थिए । यसलाई भारतले सच्याउनुपर्दछ भनिरहेका छन् । उनीहरूले यस विषयमा प्रचण्डलाई खबरदारी गर्दै नेपालको हित विपरीत विगतमा जस्तो यस्ता कुनै सम्झौता या सन्धि नगर्न जोडदार आवाज उठाउन अग्रसर रहेका छन् । यस विषयलाई समेत लिएर १६ जेठमा मण्डलामा राष्ट्रिय क्रान्तिकारी मोर्चाले डेढ घण्टासम्म मण्डला नाराबाजी गर्दै विरोध जनाएको थियो ।

नेपाल र भारत निकट छिमेकी हुन् । तर सम्बन्ध निकट छिमेकीको जस्तो नभएर भारतको प्रभूत्व र अधिनताविरुद्ध नेपालको अनवरत संघर्षको स्थितिमा रहेको छ । अरू कुरालाई छाडेर भारतको मोदी सरकारको समेत स्वीकृतमा बनेको इपिजी (इमिनेन्ट पर्सन गु्रप)को प्रतिवेदन जसले दुई देशका बीचका समस्यालाई उजागर गरेको र समाधानको बाटो पनि देखाउन खोजेको भनिन्थ्यो, त्यो प्रतिवेदन औपचारिकरूपमा बुझ्नसमेत भारतका प्रधानमन्त्री तयार देखिदैनन् । त्यसले गर्दा भारतीय सत्ता नेपालसँग पुरानै बृटिस–भारतकालीन प्रवृत्तिकै आधारमा व्यवहार गर्न चाहन्छ भन्ने प्रष्ट छ ।
यस स्थितिमा नेपालले भारतसँग प्रस्तुत हुनुपर्ने पुराना नसुल्झेका विषयहरू कायमै छन् भने नयाँ विषयहरू पनि उत्पन्न भएका छन् । तर यी सबै कुरा भारसँग समानस्तरमा र सम्मानकासाथ कुरा उठाउने वातावरण नबनेको आजसम्मको स्थितिमा कुनै चमत्कार होला भन्ने अन्धविश्वास कसैले लिन सक्तैन र लिन पनि हुँदैन । नेपालका अमूल्य स्रोत साधन भारतलाई बुझाउने र रिझाउने जुन नेपाली सत्ता परम्परा छ त्यसको अन्त्य नभएसम्म नेपाल फस्दै जाने र भारत पस्दै जाने कुरा मात्र दोहोरिन्छ भन्ने कुरा सबैलाई दिउँसो मध्यदिनको घाम जत्तिकै छर्लंग छ ।

यस्तो अस्वीकार्य स्थितिमा जस्तो परिवेशमा ठूलो समूह लिएर प्रधानमन्त्री प्रचण्ड भारतको चार दिने भ्रमणमा गएका छन् त्यसले यो भ्रमण निर्विघ्न सम्पन्न होला तथा नेपाल र नेपालीको सदासयता, सम्मान र सद्भाव बढाउला भन्ने कुरामा विश्वास गर्न सकिने कुनै भरपर्दो स्थिति छैन । सन्देहकै कुइरीमण्डलका बीच भएको यो उच्चस्तरीय भ्रमणले नेपालको राष्ट्रिय हितमा सकारात्मक परिणाम ल्याउन सक्ने अपेक्षा गर्न अहिलेसम्मको स्थितिले दिँदैन ।

नेपालको प्रधानमन्त्री बनेपछि विदेश भ्रमणको सुरुआत भारतबाटै गर्नुपर्ने र नगरे अनेक आशंका उब्जने जस्तो मान्यता रहेको सत्तासीनहरू सत्ता सुरक्षाको हिसाबले मात्र यस्ता भ्रमणहरू हुँदै आएको पनि विगतदेखि वर्तमानसम्म देखिँदै आएको हो । यस क्रममा गएको मंसिरको चुनावपछि प्रधानमन्त्री बनेका प्रचण्डको यो पहिलो भारत भ्रमण हो । उनले यस क्रममा भारतका राष्ट्रपति, उपराष्ट्रपतिसँग भेट गर्नुका साथै समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेट वार्ता गरेका छन् । विगतको कुरा गर्ने हो भने योभन्दा अघिको प्रधानमन्त्रीको कार्यकालमा तीनपटक भारत भ्रमण गरिसकेका हुन् । यो उनको प्रधानमन्त्रीको हैसियतले चौथो भ्रमण हो ।

हरेक भ्रमणलाई भारतसंँगको शदियौँ पुरानो बहुयआयामिक ‘सौहाद्र्रपूर्ण’ सम्बन्धलाई सबल तुल्याउने कुरा गर्न छाडिँदैन । तर, व्यवहारमा नेपालले त्यस्तो भएको कुनै उल्लेख्य आधार पाउँदैन । यद्यपि प्रकृतिले पनि कतिपय देश–देशको सम्बन्धलाई, सुगम, सहज र सार्थक या कठिन बनाउन सक्ने कुरा पनि हुन्छ । यसले पनि नेपाल–भारत सम्बन्धलाई एउटा आधार दिएको छ । तर त्यो आधारलाई सही दिशामा सही किसिमले सदुपयोग गर्न र दुई सार्वभौम देशको परस्पर समानतामा आधारित सम्बन्धको विकास हुन सकेको छैन ।

नेपाल–भारत सम्बन्धलाई चीनको हाउगुजी देखाएर भारतले आफ्नो पक्षमा पार्न खोजेको कुरा प्रायःजसो उठाउने गरिएको पाइन्छ । यद्यपि भारत जातीयता, धर्म र भूगोलका साथै साझा राजनीतिको अर्थ सधैँ के लगाउँदै आएको छ भने नेपाल हमेसा भारतको निकट छिमेकी रहेको छ । हिमाल पारिको चीनको तुलनामा भारतका बन्दरगाहहरू र भारतका बजारमा पुग्ने पहुँच सहज छ भन्ने नेपालको तर्क छ । तर त्यसमा रहेका बाधा अडचनहरू हटाउन र सहज तुल्याउन भने भारत गर्न अनिच्छुक र संकीर्ण देखिन्छ ।

अहिले प्रचण्डको भारत भ्रमणका क्रममा उनले सञ्चालन गरेको १० वर्षको सशस्त्र संघर्षको अधिकांश समय भारतमै बिताएको र उनको पहिलो प्रधानमन्त्रित्व कालमा दुईपटक भारत भ्रमण गरेको पनि भारतले औँल्याउँदै गरेको छ । तर, प्रचण्डको चीनसँगको कथित निकटताका कारणले भारत र नेपालको परस्पर सम्बन्धमा त्यत्ति न्यानोपना रहन नपाएको या कम भएर गएको भनेर पनि भारततर्फ ढल्काउने दबाब पनि दिइरहने गरेको पाइन्छ ।
यसै सम्बन्धमा भारतका एक पत्रकार कपूरले भनेका पनि छन्, ‘भारतका छिमेकी देशहरू – नेपाल, श्रीलंका, माल्दिभ्स भारतसँग राम्रो सम्झौता गर्नका लागि चीनसँगको आफ्नो सम्बन्धको लाभ लिन चाहन्छन् । तर भारतसँगको सम्बन्धबाट अलग हुने कुरा सोच्न पनि सक्तैनन् ।’ उनले थप भनेका छन्, ‘प्रचण्डले पनि यो कुरा बुझेका छन् कि उनको र उनको देशको नियति भारतसँग जोडिएको छ, जुन भारतको अमेरिकासँग पनि घनिष्ठ सम्बन्ध छ ।’

भौगोलिक हिसाबले जोडिएको नेपाल र भारतको १ हजार ८ सय किलोमिटरको खुल्ला सीमाना छ । भारतलाई बृटेनको इस्ट इन्डिया कम्पनीले गाँजेको बेला नेपालसँग भएको लडाइँमा १८१६ मा सुगौली सन्धी भएको थियो । सुगौली सन्धीले तय गरेको सिमानामा पनि भारतले सबै तथ्यहरूबाट आँखा चिम्लिएर विवाद निकालेको मात्र छैन कालापानी, लिपुलेक र लिम्पियाधुरामा त ८ वटा ब्यारेक राखेर कब्जा नै गरेको छ भने कतिपय सीमा क्षेत्रहरू मिचेर राखेको छ । भारतले जम्मू काश्मिरको विशेष राज्यको दर्जा समाप्त पारेर जुन नयाँ नक्सा २०१९ मा बनायो त्यसबेला नेपालको कालापानी क्षेत्रलाई पनि गाभेकोले उत्पन्न भएको विवाद अझ चर्किएको छ । यद्यपि गतवर्ष अप्रिलमा नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबाले भारत भ्रमण गरेको र त्यसै वर्षको मईमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेपछि दुईदेश बीच परस्पर भरोसा बढेको पनि भनिन्छ । तर, कुनै पनि समस्या हल नगरिकन छोपछाप पारेर राख्दा विश्वास र भरोसा कसरी बढ्छ बुझ्न नसकिने कुरा भएको छ । समस्यालाई यसरी कचल्ट्याएर राख्दा वातावरण मैत्रीपूर्ण र सम्बन्ध प्रगाढ हुने कुरा कूटनीतिज्ञहरूका लागि नसुल्झने पहेलीको कुरा मात्र ठहरिन्छ भन्ने बुझ्नु जरुरी छ ।

प्रतिक्रिया