अघोषित लोडसेडिङको चपेटामा औद्योगिक करिडोर

वीरगन्ज । अघोषित लोडसेडिङले औद्योगिक करिडोरका उद्योगी चपेटमा परेका छन् । वीरगन्ज पथलैया क्षेत्रका उद्योग कलकारखानामा अनियमित विद्युत कटौतीले उत्पादनमा ह्रास आउनुका साथै उत्पादित वस्तुहरूको गुणस्तरमा समेत हस आए पछि व्ययवसायीहरु मारमा परेका हुन् ।

लामो समयसम्म उर्जा संकट व्यहोरिरहेका औद्योगिक करिडोरमा २०७५ साल वैशाख ३० मा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य भएको घोषणा गरेपछि राहत महशुस भएको व्यवसायीहरु वताउँछन् । तत्कालिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएको आधारमा औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्यको घोषणा गरेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चर्चा पाएका थिए ।

तर, उनी नै अहिले दोश्रो पटक कार्यकारी निर्देशक भएको समयमा औद्योगिक करिडोरमा अघोषित लोड सेडिङको मारमा उद्योगी व्यावसायी परेकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् । दिनहुँ अनियमित विद्युत कटौतीले समस्या हुने गरेको उद्योगीले गुनासो गर्ने गरेको वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालको भनाइ छ । अनियमित विद्युत कटौतीले उद्योगका मेशिनमा समेत समस्या आउने गरेको उद्योगीले बताउने गरेका छन् । आर्थिक मन्दीमा बैंकहरुको चर्को ब्याज र कर्जा नपाएर व्यापार व्यवसाय आधा मात्रै चलेको अवस्थामा अघोषित लोडसेडिङले उत्पादन घट्ने र गुणस्तरमा समेत हस आएको संघको भनाइ छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले सबैभन्दा बढी औद्योगिक फिडरमा लोडसेडिङ हुने गरेको जानकारी दिए । लोडसेडिङको मुख्य कारण सुक्खा मौसममा उत्पादन कम हुने एवं भारतबाट ल्याएर आपूर्ति गर्दा महंगो पर्ने भएकोले आपूर्तिमा कन्जुस्याई गर्दा लोडसेडिङ भएको आकलन गरिएको छ ।
ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री शक्ति बस्नेतलाई भेटेर समस्या राखेपनि समाधान नभएको गौतमको गुनासो छ । मन्त्री बस्नेतलाई भेटेर समस्या समाधानको उपाय सहितको सुझाव दिएको र मन्त्रीले पनि सकारात्मक रुपमा लिएर त्यसलाई कार्यान्वयन गर्ने आश्वासन दिएपनि प्राधिकरणका कर्मचारीको बदमासीले समस्या समाधान हुन नसकेको आरोप गौतमको छ ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले केही महिना अघिसम्म प्रशारणलाईन समस्याका कारण विद्युत कटौती हुने गरेको भएपनि अहिले त्यस्तो समस्या नरहेको दावी गरे । उनले भने, ‘केही महिना अघि प्रशारण लाईनको समस्याका कारणले अनियमित विद्युत कटौती हुने गरेको थियो, अहिले सामान्य नै छ ।’ औद्योगिक करिडोरमा हुने अघोषित लोडसेडिङ स्वीकार्दै अहिले हावाहुरीको मौसम भएको र कही कतै हावाहुरीले प्रशासरणलाईन अवरुद्ध हुँदा लामो समयसम्म विद्युत आपूर्ति बन्द हुने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया