‘गोर्खा वारियर’ को प्रिमियर

काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’ को प्रिमियर बेलायतको लिसेस्ट स्क्वायर लन्डनस्थित ‘आइम्याक्स सिनेवल्र्ड’ मा गरिने भएको छ । चलचित्रका निर्माता एवम् निर्देशक मिलन चाम्सले त्यहाँ नेपाली चलचित्रकै इतिहासमा पहिलो पटक चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको जनाए । उनका अनुसार प्रिमियर सन् २०२३ सेप्टेम्बर १० मा गरिने छ । निर्देशक चाम्सले प्रिमियरमा दुई हजार दर्शकलाई ‘गोर्खा वारियर’ देखाइने बताए ।

मंगलबार राजधानीमा पत्रकार भेटघाटमा निर्देशक चाम्सले भने, ‘नेपाली चलचित्रलाई विश्वव्यापी बजारमा पु¥याउन देखेको सपनालाई ‘गोर्खा वारियर’ मार्फत अब साकार पारिने भएको छ । नेपाली साहसीको रुपमा विश्वमा चिनाउन सफल नेपाली गोर्खा सैनिकको वीरगाथामा यो चलचित्र आधारित रहेको छ ।’

आयोजक चाम्स इन्टरटेनमेन्टले ‘आइम्याक्स सिनेवल्र्ड’ मा गरिने ‘गोर्खा वारियर’ को प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटी, हलिउड डिस्ट्रिब्युटरसँगै बेलायतका राजपरिवार, सांसद, स्थानीय निकाय प्रमुख, बेलायती सैनिकका जनरल, ब्रिटिस गोर्खा सैनिकका विभिन्न ओहदाका अफिसर, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारी, विभिन्न सरकारी र गैरसरकारी संघसंस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वलाई निमन्त्रणा गरिएको जनाएको छ ।

निर्देशक चाम्सका अनुसार ‘आइम्याक्स सिनेवल्र्ड’ मा ‘गोर्खा वारियर’ लाई रेड कार्पेट प्रिमियर गर्नुको उद्देश्य नेपाली चलचित्रलाई विश्वबजारमा पुर्याउनु नै हो । उनले भने, ‘यो प्रिमियरको खर्च निकै छ । जसबाट एउटा नेपाली चलचित्र नै निर्माण गर्न सकिन्छ । तथापि नेपाली चलचित्रलाई विश्वबजारमा पुर्याउनका लागि मार्केटिङको योबाहेक अरु बिकल्प हामीले देखेनौं ।’

हलिउडको ३०० मिलियन अमेरिकी डलरमा बनेका सिनेमा पनि लिसेस्ट स्क्वायर लन्डनको ‘आइम्याक्स सिनेवल्र्ड’ मा प्रिमियर हुन्छ । नेपाली चलचित्रलाई त्यहाँ प्रिमियर गर्न आफुले २० वर्षअघि देखेको सपना बल्ल पुरा हुन लागेको पनि निर्देशक चाम्सले बताए । उनले थपे, ‘यो नेपाली चलचित्र उद्योगकै लागि गौरवको कुरा हो । अर्कोतर्फ अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रलाई पु¥याउनका लागि यो अन्तर्राष्ट्रिय स्तरकै उपयुक्त विषयवस्तु भएकाले पनि हामीले यो साहस गरेका हौं ।’

यसरी ‘आइम्याक्स सिनेवल्र्ड’ बाट सुरु भएको चलचित्र ‘गोर्खा वारियर’ को प्रिमियरलाई सेप्टेम्बर महिनाभरी निरन्तरता दिइने भएको छ । यो चलचित्रलाई बेलायतपछि हङकङ, सिंगापुरलगायत विभिन्न देशमा पनि सेप्टेम्बर महिनाभरी प्रिमियर गर्ने तयारी भइरहेको पनि निर्देशक चाम्सले जानकारी गराए । कलाकार विजय लामाले आफुले अहिलेसम्म काम गरेका चलचित्रमध्ये गोर्खा वारियर सबैभन्दा ठुलो महत्वको भएको बताए ।

सन् १९४९ को ‘मलाया इमरजेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई चलचित्रमा उतारिएको छ । ‘गोर्खा वारियर’ नेपाली, अंग्रेजी र हिन्दी गरी तीन भाषामा सार्वजनिक हुँदैछ । यो चलचित्रलाई हलिउडको वितरक कम्पनीले विश्वव्यापी वितरण गर्ने निर्माण पक्षले जनाएको छ । यसको हिन्दी र अंग्रेजी संस्करण पनि अन्तिम तयारी अवस्थामा छ । निर्माण पक्षका अनुसार ‘गोर्खा वारियर’ को पोस्ट प्रोडक्सनको कार्य यतिबेला भारतको मुम्बई र बेलायतको लन्डनस्थित स्टुडियोमा भइरहेको छ । निर्देशक चाम्सले यो चलचित्रलाई हलिउड स्तरको बनाउने प्रयास भइरहेको पनि बताए ।

‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट अभिनेता रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै ‘गोर्खा वारियर’ मा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ । ‘गोर्खा वारियर’ मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’ को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिदाको मार्मिक कथा पनि समेटिएको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

प्रतिक्रिया