क्षतविक्षत सडक स्तरोन्नति हुँदै

बझाङ । जिल्लामा ०७८ असोज ३१ देखि कात्तिक २ सम्म परेको अविरल वर्षा र बाढीपहिरोका कारण बनेको सडकको स्तरोन्नतिका लागि काम सुरु भएको छ ।

खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकायाको पहलमा उक्त सडक खण्डको स्तरोन्नति भएको हो । खप्तडछान्ना गाउँपालिका सेती लोकमार्गअन्तर्गत जडार थाम लेख सडक खण्डको काम सुरु भएपछि त्यहाँका स्थानीयहरू खुसी भएका हुन् ।
गाउँपालिका अध्यक्ष रोकायाले भने, ‘गाउँपालिकाको प्रमुख सडकका रूपमा रहेको यस सडकलाई स्तरोन्नति गर्नु हाम्रो पहिलो प्राथमिकता रहेको र सडक निर्माण लगायतका विभिन्न विकास निर्माणका कामका लागि तीनपटकसम्म काठमाडांैमा गएर विभिन्न निकायमा पहल गरीदिन आग्रह गरेका थियौँ । यस सडकको बजेट व्यवस्थापन र टेन्डर खोल्नका लागि निकै मिहिनेत गरेका हौँ ।’ उनले आफूहरू हल्लाभन्दा पनि काममा विश्वास राख्ने हुँदा अन्य महत्वपूर्ण योजना तथा कामका लागिसमेत विभिन्न निकायमा पहल भइरहेको बताए ।

अध्यक्ष रोकायाले यहाँका नागरिकहरूले भोग्दै आएका समस्यमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएपछि एक वर्षदेखि गर्दै आएको पहल अहिले पूरा भएको समेत बताए । उनले अब काम गुणस्तरीय र छिटो छरितो गराउनका लागि सबैको सहयोग आवश्यक भएको समेत बताए ।

बाढीले क्षति भएको जडार थाम लेख सडकलाई १२ महिनै सञ्चालन गर्ने गरी अहिले चार करोडको काम यसै असार मसान्तमा सम्पन्न गर्ने गरी सुर्मा सरोवर प्रालिले जिम्मा पाएको छ । अध्यक्ष रोकायाले डोजरमा चढेर कामको शुभारम्भसमेत गरेका छन् ।

सुर्मा सरोवर प्रालिका सञ्चालक शेरबहादुर बोहराले यसै असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी काम सुरु भएको बताए । गाउँपालिकाले गरेको यस कामको सबै क्षेत्रबाट समेत प्रशंसा भएको छ । वर्षायाम सुरु भएपछि सडक अवरुद्ध हुने डरमा रहेका स्थानीयहरूमा केही आशा जागेको छ । जडार थाम लेख सडकको अधिकांश सडक बगाएर अहिले बगरमा परिणत भएको छ ।

प्रतिक्रिया