किन बोल्यो अमेरिका ?

संयुक्त राज्य अमेरिकाले नेपालमा हिन्दू राष्ट्रको पक्षमा बोल्न भारतीय नेताहरूले पैसा दिने गरेको कुरा धार्मिक स्वतन्त्रता प्रतिवेदनमा उल्लेख गरेको छ । अमेरिकाले हरेक वर्ष विदेश मन्त्रालयमार्फत विभिन्न देशको धार्मिक स्वतन्त्रताको अवस्थालाई लिएर यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गर्छ । तर यसपटक नेपालका सन्दर्भमा निकै ठूलो चासो दिएको छ । प्रतिवेदनको करिब १० पृष्ठ जति नेपालकै मामिलामा उल्लेख गरिएको छ । नेपालसम्बन्धी प्रतिवेदन बनाउन काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारी अधिकारी, धार्मिक समूह, गैरसरकारी संस्था, पत्रकारहरू, मानवअधिकार अनुगमनकर्ता, शिक्षाविद्, सञ्चारमाध्यम र अन्य ठाउँबाट सूचना संकलन गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

संविधानमा नेपाल धर्म निरपेक्ष राज्य भनिए पनि वास्तविकता त्यस्तो नरहेको र नेपालको संविधानले नै धर्म परिवर्तनलाई निषेध गरेको अमेरिकी प्रतिवेदनमा उल्लेख छ । तर यो प्रतिवेदनलाई छिमेकी देश भारत तथा त्यहाँको सत्तारूढ पार्टी भाजपाले खण्डन गरेको छ । नेपालमै पनि हिन्दूवादी एजेन्डा बोकेको राप्रपाले आपत्ति जनाएको छ । नेपालको धार्मिक अवस्थाका बारेमा अमेरिकाले किन यति धेरै चासो देखाएको हो ? भन्ने प्रश्न आफ्नो ठाउँमा छ, तर प्रतिवेदनमा उल्लेख गरिएका कतिपय कुराहरू असत्य होइनन् । नेपालको संविधानमा सनातन धर्म संस्कृतिको संरक्षणको कुरा उल्लेख गरिएको सत्य हो । धर्मनिरपेक्षता हटाएर हिन्दू राज्य उल्लेख हुनुपर्ने गतिविधिमा भारतका विभिन्न संघ संस्था तथा दलहरूले साथ सहयोग गरेको पनि सत्य हो । होइन भनेर पनि कसैले पत्याउने अवस्था छैन । राजनीतिक तथा भौगोलिक रूपमा भारत र नेपाल अलगअलग हुन्, तर धर्म तथा संस्कृति एउटै हो । त्यसैले हिन्दू धर्मको संवर्धनका लागि भारतले सहयोग गरेको कुरा सार्वजनिक हुनुलाई आपत्ति मान्नु पर्दैन ।

नेपालको संविधान (२०७२) जारी हुँदै गर्दा भारतले नेपालमाथि नाकाबन्दी लगायो । नाकाबन्दीका कारण भगवान् पशुपतिनाथको पूजा तथा आरती नै रोकिने अवस्था उत्पन्न भयो । न नेपालका हिन्दूहरूले भारतमा रहेका तीर्थस्थल दर्शन गर्न सहज रूपमा पाए, न भारतका हिन्दूहरूले नेपालका तीर्थस्थल दर्शन गर्न सहज रूपमा पाए । भारतले बेलाबेलामा यस्तो स्थिति सिर्जना गर्ने गरेको छ । त्यसैले भारतका विभिन्न संघ, संगठन तथा दलहरूले नेपालमा हिन्दू राज्य पुनवर्हालीका लागि गरेको आर्थिक सहयोग केबल धार्मिक मामिला मात्रै होइन, राजनीतिक मामिलासमेत हो । धर्मका आडमा गरिएको राजनीति हो यो । यस्तो राजनीति भयंकर खतरनाक हुन्छ । यदि अमेरिकाको चासो यही मामिलामा मात्रै हो भने टाउको दुखाउनु पर्दैन । तर यसैका नाममा इसाइकरण गर्ने राजनीति हो भने नेपालका लागि ठूलो खतरा हुनसक्छ । किनकी अमेरिकालगायत पश्चिमा देशका विभिन्न धार्मिक संघसंगठनहरूले नेपालमा इसाइकरणका लागि गरिरहेको आर्थिक लगानीलाई पनि नजरअन्दाज गर्न मिल्दैन ।

नेपालका ९० प्रतिशतभन्दा बढी जनता वैदिक सनातन धर्म संस्कृतिप्रति आस्था राख्छन् । जसलाई ओमकार परिवार पनि भन्ने गरिन्छ । भगवान गौतमबुद्ध त नेपालमै जन्मेका हुन् । विश्वका समस्त हिन्दूहरूले नेपाललाई तपोभूमि मान्छन् । हिमालय पर्वत शृंखलाभन्दा दक्षिणको क्षेत्र भएकोले छोटकरीमा हिन्द भएको र हिन्दमा बस्नेहरूलाई हिन्दू भनिएको मान्यता पनि छ । त्यसैले हिन्दूहरूको हितका लागि भारतीयहरूले सदासयता देखाएका हुन् भने राम्रै कुरा हो । तर, अहिलेसम्मको अनुभवलाई आधार मान्ने हो भने नेपालको दोहन गरेर आफ्नो स्वार्थसिद्धी गर्ने अल्पदृष्टिभन्दा भारतीयहरू खासै माथि उठ्न सकेको देखिँदैन । किनकी धर्मको मूल ध्येय भनेको मानव कल्याण हो । सक्नेले नसक्नेलाई सहयोग गर्नु नै धर्म हो ।

यो मामिलालाई विश्लेषण गर्ने हो भने इशाई च्यारिटीमार्फत नेपालमा धेरै गरिब गुरुवाका छोराछोरीहरूले अत्यन्त राम्रो शिक्षा आर्जन गर्ने मौका पाएका छन् । इसाइ च्यारिटीमार्फत नेपालका दूरदराजका गाउँहरूमा स्वास्थ्य संस्थाहरू सञ्चालनमा छन् । धेरै गरिब नेपालीको ज्यान बाँचेको छ । तर भारतीय हिन्दू च्यारिटीमार्फत नेपालमा यो यो काम भएको छ भन्ने उदाहरण खासै दिन सकिने अवस्था छैन । बरु भारतीय साधुहरू विभिन्न नाममा नेपाल प्रवेश गरेर दान दक्षिणाका नाममा थुप्रै रकम लैजान्छन् ।

प्रतिक्रिया