नेपाली पत्रकारिताको जग बसाल्ने जयपृथ्वी !

बझाङ । नेपालमा पत्रकारिताको इतिहास हेर्दा १९४३ सालमा फर्कनुपर्छ । युवाकवि मोतीराम भट्टले काशी (बनारस) पढ्न गएको बेलामा नेपाली भाषाको पत्रिका ‘गोरखा–भारत जीवन’ प्रकाशन गरेका थिए । त्यो पत्रिका दुई वर्षसम्म चल्यो । उनी नेपाल फर्किएपछि ‘मोतीमण्डली’ टोली बनाएर पत्रिकाको तयारी गरे । १९५३ सालमा मोतीरामको निधन भएपछि १९५५ सालमा मोतीमण्डलीले ‘सुधासागर’ पत्रिका प्रकाशनमा ल्यायो तर, त्यसलाई तत्कालीन सरकारले मान्यता भने दिएन ।

१९५८ सालमा तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह २४ वर्षका थिए । त्यो समयमा सरकारलाई चेतना जगाउन जो कोहीले सक्दैनथे । आफ्ना नातेदार तथा भारद्वाजबाहेक राणाको नजरमा वीरलै मान्छेको मात्रै नजर पर्दथ्यो । जयपृथ्वीबहादुर सिंह त्यसबेलाका अध्येता तथा लेखक राजाको नामले चिनिन्थे । नातेदार भएकै कारण प्रधानमन्त्री देवशमशेर राणाले सिंहलाई सल्लाहकार बनाए ।

जयपृथ्वीले धेरै प्रयास गरेर प्रधानमन्त्री देवशमशेरलाई पत्रपत्रिकाको महत्व बुझाए र उनी पत्रिका प्रकाशन गर्न राजी भएपछि १९५८ वैशाख २४ गते सोमबारका दिन गोरखापत्र साप्ताहिकको रूपमा प्रकाशनमा आयो । प्रधानमन्त्री देवशमशेरले प्रकाशन समयमा गोरखापत्रको सम्पूर्ण जिम्मेवारी जयपृथ्वीलाई नै दिए । तर, जयपृथ्वीले व्यवस्थापकीय जिम्मेवारी भने पण्डित नरदेव पाण्डेलाई दिन सुझाव दिए । पाण्डेले नै दुई वर्ष गोरखापत्र साप्ताहिकको सम्पादक र व्यवस्थापकीय जिम्मेवारीमा सम्हाले । १९६० सालमा फेरि गोरखापत्रको दोस्रो व्यवस्थापकको रूपमा जयपृथ्वीबहादुरलाई नै जिम्मेवारी दिइयो । सिंहको पालामा गोरखापत्रको सम्पादकको रूपमा चिरञ्जीवी शर्मा पौड्याल थिए । बाह्र वर्षसम्म जयपृथ्वीले गोरखापत्र प्रकाशनलाई निरन्तरता दिए ।

गोरखापत्रमा रहँदा उनले राष्ट्रियता र जनजागरणका मुद्दा उठाइरहेपछि उनकै ससुरा अर्थात् प्रधानमन्त्री चन्द्रशमशेरले हटात्रूपमा गोरखापत्र नै बन्द गराए । जयपृथ्वी भागेर भारत पुगे । पछि प्रधानमन्त्री चन्द्रशमशेरले आफ्ना नातागोतालाई पत्रिकाको जिम्मेवारी दिए र सरकार अनुकूल समाचारहरू प्रकाशन हुन थाले ।

नेपाली पत्रकारितामा गोरखापत्रकालअर्थात् प्रजातन्त्रभन्दा अगाडि दर्जनभन्दा बढी पत्रिकाहरू सञ्चालन भएका थिए । गोरखापत्रपूर्व, गोरखापत्रकाल, प्रजातन्त्रकाल, पञ्चायतकाल, बहुदलीय व्यवस्थापछिको गणतान्त्रिक व्यवस्थामा पुग्दा नेपाली पत्रकारितामा धेरै परिवर्तन भइसकेको छ । ‘नेपाली पत्रकारिताको जग जयपृथ्वीबहादुरले नै हाल्नुभएको हो,’ इतिहासविद् तथा डोटी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाले भने, ‘सिंहले राणाहरूलाई धेरै फकाएर गोरखापत्र सञ्चालनमा ल्याउनुभएको हो । उहाँकै प्रेरणाले नेपाली पत्रकारिता आजको अवस्थामा पुगेको हो ।’
जनताको आवाज प्रकाशन हुन थालेपछि १९७२ मा गोरखापत्र नै बन्द भएको इतिहासविद् देउवाले बताए । पत्रिका बन्द भएपछि जयपृथ्वी चन्द्रशमशेरका डरले भारत गए । त्यहाँबाट बेलायत पुगे । कसैका आँखामा नपर्नका लागि उनी ब्रमेली पोसाक लगाएर भागेको देउवाले बताए ।

यता चन्द्रशमशेरले जयपृथ्वी दाखिल गराउनेलाई पाँच हजार रुपैयाँ इनामको सार्वजनिक घोषणा गरे । तर, उनी राणाको सम्पर्कमा नआएपछि तलबभत्ता बन्द गराइयो । ‘राणाले जयपृथ्वीबाट आफ्नी छोरीलाई पनि छुटाए,’ देउवाले भने, ‘राजा भइसकेपछि पनि उनको लवाइखवाइ देखेर राणाहरूले खिसिटिउरी गर्थे । तर, उनी विद्वान् भएको हुँदा राणाको कुराले छुँदैनथ्यो । उनी मानव जातिकै वकालतमा लागिरहे ।’
जयपृथ्वीबाट आफ्नी छोरी छुटाएपछि चन्द्रशमशेरले कम्पनीको आठ हजार छोरीलाई वार्षिक भत्ता तोके त्यसपछि राणाले जयपृथ्वीको जात च्युत गरी पानीसमेत काँडे । जयपृथ्वी आफ्ना ससुरा चन्द्रशमशेरको निधनपछि मात्रै नेपाल आए ।

जयपृथ्वीले भारतको बेंग्लोर चेट्टीरोडस्थित जया भवनमा सन् १९२८ (विसं १९८५) मा ‘ह्युमानिस्ट क्लब’ खोले । क्लबमार्फत सिंहले विश्वका सम्पूर्ण प्राणी र बोटबिरुवालाई माया र संरक्षण प्रदान गर्न विभिन्न चेतनामूलक कार्य गरे । क्लबको मुखपत्रका रूपमा ‘द ह्युमानिस्ट’ नामक पत्रिकासमेत प्रकाशित गरे । जसमा मानवतावादसम्बन्धी विविध विषय प्रकाशित हुन्थे । पछि सिंहले मानवतावादी क्लब खोलेर ‘ह्युमानिस्ट’ नामक अंग्रेजी पत्रिका नियमित प्रकाशन गरे ।

बझाङ राज्य स्थापना भएयता बझाङमा २४ जनाले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा राजकाज चलाए । त्यसैमध्ये १८औँ नम्बरका राजा हुन् जयपृथ्वीबहादुर सिंह । शक्ति सिंहले १५०३ सालमा स्थापना गरेको बझाङ राज्य अघोषितरूपमा पाँच सय ६२ वर्षसम्म चल्यो र औपचारिकरूपमा १८४८ सालमा राजा समुद्र सिंहको पालामा सकियो । अघोषित रूपमा भने २०६५ जेठ १५ गतेसम्म नै चल्यो ।

बझाङ राज्यका १७औँ राजा विक्रमबहादुर सिंहका १४ सन्तानमध्ये पहिलो सन्तान हुन् जयपृथ्वीबहादुर । विक्रमबहादुरकी चार रानीमध्ये जेठी रानी रुद्रकुमारीको जेठो सन्तानको रूपमा जयपृथ्वी हुन् । उनलाई प्रधानमन्त्री वीरशमशेर राणाले १६ वर्षको उमेरमा विसं १९४४ मा बझाङको राजा घोषित गरेका थिए । सत्र वर्षको उमेरमा श्री ३ चन्द्रशमशेरकी १४ वर्षीया छोरी खगेश्वरीदेवीसँग उनको विवाह भयो ।

सिंहले जंगबहादुर राणाकै (छोरीबाट) नाति भएका कारण आठ वर्षको उमेरमै काठमाडौँको दरबार हाइस्कुलमा अध्ययन गर्ने मौका पाए । राजा भएको बेलामा जयपृथ्वीले आठ विद्यार्थी काठमाडौँमा पढ्न पठाए । काठमाडौँको नक्सालको आफ्नै घरमा सत्यवादी पाठशाला पनि खोले । पछि सत्यवादी प्राथमिक पाठशाला बझाङमा सारे र बझाङमा सर्वसाधारणले पनि पढ्ने मौका पाए ।

राजा जयपृथ्वीले विभिन्न पाठ्यपुस्तक पनि लेखे । उनले नै लेखेको नेपाली भाषाको ‘अक्षरांक शिक्षा’ पठनपाठन गरिन्थ्यो । उनले ‘अक्षरमाला’, ‘पदार्थ तत्व विवेक,’ ‘बालबोध भाग १’, ‘जापानको इतिहास’ ‘शारीरिक शिक्षा दर्पण’ र ‘स्रेस्ता दर्पण भाग १ र २’, ‘बालबोध’ ‘प्राकृत ब्याकरण’ ‘भूगोलविद्या,’ ‘मानवतावादसम्बन्धी ३ भोल्युम’ ‘द फ्ल्याग अफ पिस’ जस्ता १८ वटा दार्शनिक पुस्तक लेखेका थिए । उनले कोलकत्ता गएर म्याट्रिक पास गरे । प्रयागमा गएर आइए पढे तर, पूरा गरेनन् ।

बझाङमा जयपृथ्वीले भूमि सुधारको व्यवस्थापन गरे । उनले नै नापीको व्यवस्था गरे । औषधालय खोले । बझाङमा खग औषधालय र जयपृथ्वी धर्म औषधालय उनले नै स्थापना गरेका हुन् । कोलकत्ताबाट समेत बझाङमा चिकित्सक ल्याएर सर्वसाधारणको उपचार गराए । चन्द्रशमशेरले २५ वर्षीय जयपृथ्वीलाई कोलकत्तामा वकिल बनाएरसमेत पठाएको इतिहासकार बताउछन् । १९६५ सालमा प्रधानमन्त्री चन्द्रशमशेरसँगै उनी बेलायत पनि गए । बेलायतमा उनलाई कर्नेलको दर्जा दिइयो । साथै उनी अमेरिका र रुस भ्रमण गर्ने पहिलो नेपालीको रूपमा चिनिन्छन् । विभिन्न पुस्तकमा उल्ललेख भएअनुसार उनीे नक्कली भिसा लिएर जापान पुग्दा पक्राउसमेत परेका थिए ।

इतिहासविद् देउवाका अनुसार जयपृथ्वी विश्वमा जति मुलुक पुगे त्यो देशमा शान्ति, मानवता र भ्रातृत्वकै अभिवृद्धिको सन्देश मात्र दिए । जयपृथ्वीले मानवतावादी संस्था खोल्ने अभियान चलाए । उनको संरक्षकत्वमा एसियाका विभिन्न राष्ट्रमा मानवतावादी संघहरू पनि खुले । १९९७ असोज १ गते भारतको बेंग्लोरमा जयपृथ्वी ६४ वर्षको उमेरमा निधन भयोे । उनको निधनपछि विदेशीले दोस्रो गौतमबुद्धको नामले सम्मान नै ग¥यो । भारतबाट प्रकाशित हुने ‘अमृतबजार पत्र’ नामक पत्रिकाले ‘नेपालका दोस्रो गौतमबुद्धको निधन’ भनेर समाचार प्रकाशित गरेको देउवाले बताए ।

प्रतिक्रिया