बहुआयामिक मदन

कलाकार मदनका कलाले नेपाली कलाक्षेत्रमा फरक धार, चिन्तन र शैलीको अवधारणा प्रस्तुत गरेको छ । उनका कलाको प्रभावले नेपालीत्वको झल्कोलाई प्रष्ट भन्न खोजेको देखिन्छ । कलामा राजनैतिक, सामाजिक घटना, धार्मिक, सांस्कृतिक एवम् नेपालीपनको प्रभाव विभिन्न बिम्व प्रतीकहरूका माध्यमबाट समसामयिक रूपमा आएका छन् । यिनै प्रभावहरू कलाकारका कलाका प्रमुख विषय हुन्

देवेन्द्र थुम्केली

विषय प्रवेश

नेपाली ललितकला क्षेत्रमा मदन चित्रकार परिचित नाम हो । उनी समसामयिक नेपाली चित्रकलामा विचार, दर्शन र सिर्जनशील क्षमता दिन सक्षम छन् । कला क्षेत्रमा बहुआयामिक व्यक्तित्वका रुपमा परिचित चित्रकारले कलारचना, कला समीक्षा, कला इतिहास लेखन आदिमा काम गर्दै आएका छन् । कला क्षेत्रमा निष्ठापूर्वक लागेका उनले एउटा छुट्टै र विशिष्ट इतिहास नेपाली कला क्षेत्रमा स्थापित गर्न सफलसमेत भएका छन् । २०१५ साल पछाडि उनी निरन्तर कलासाधना र कलायात्रामा छन् । जागिरे जीवनमा पनि समय निकाली कलाकै साधनामा लागेका मदनले कलामा नवीन विषयवस्तुमा नेपाली बिम्व प्रयोग गरी आफ्नो विशिष्ट पहिचान बनाएका छन् । उनले विश्वकला क्षेत्रमा नेपाली कलाको अवस्था र यसका मौलिकताको सवल रुपमा उठान गर्दै आएका छन् ।

मदन चित्रकार दृश्यचित्रमा एकताका चर्चित नाम थियो । उनले सुरु गरेका दृश्यचित्र चित्रणको रङ संयोजन, विषय छनोट र त्यसको सौन्दर्य पक्ष निकै सशक्त रहेको पाइन्छ । उनले सामाजिक, सांस्कृतिक तथा प्राकृतिक विषयमा समेत चित्र बनाउँदै आएका छन् । उनका कलामा मानवताको विषयसमेत घनिभूत रुपमा उठान भएको पाउँछौं । उनले नेपाली समाजको बेथिति, विसंगति एवम् विकृतिको पर्दाफाससमेत बडो शालिन, सभ्य र शिष्ट रुपमा आफ्ना कलामार्फत दिन सफल भएका छन् । २०२४ सालतिर काठमाडौंमा बम्बईबाट कलाको औपचारिक अध्ययन गरेर फर्किएका मदनले नेपाली कलाक्षेत्रमा अतुलनीय योगदान दिएका छन् ।

परिचय

वि.सं. २००४ सालमा असनको तलाछीं टोल काठमाडौंमा जन्मिएका कलाकार मदन पिता तेजबहादुर चित्रकार र माता मनकेशरी चित्रकारका एक मात्र सुपुत्र हुन् । मूर्धन्य कलाकार तेजबहादुर औपचारिक कला शिक्षा ग्रहण गर्ने अग्रणी कलाकारका रुपमा नेपालमा परिचित छन् । उनले थुप्रै विद्यार्थीलाई कलाका व्यवहारिक तथा सैद्धान्तिक पक्षहरुको ज्ञान दिएका थिए । पिता नेपालकै अग्रणी र मूर्धन्य कलाकार हुनुका नाताले पनि मदनमा सानैदेखि कलाप्रति रुचि जाग्यो ।

उनले दरबार हाइस्कुलबाट विद्यालयस्तरीय अध्ययन एवम् त्रिचन्द्रबाट आइएस्सी र आइएसम्मको अध्ययन गरेका छन् । आइए अध्ययन गर्दागर्दै नेपाल सरकारलाई भारतीय सरकारबाट दुईवटा छात्रवृत्तिमा कला विद्यार्थीको माग भएबमोजिम मदन ग्राफिक डिजाइनमा बम्बईको सर जे.जे. स्कुल अफ आर्टसमा गइ विसं. २०२४ सालमा एप्लाइड आर्टमा स्नातक गरेर काठमाडौं फर्किए । २०३१ सालमा त्रिभुवन विश्वविद्यालयबाट इतिहास र संस्कृतिको अध्ययन पूरा गरेपछि कलाकार मदन नेपाली कलामा थुप्रै कला गतिविधिमा सहभागी भए ।

यस्तै, सुरुमा उनले प्रचार विभाग सिंहदबारमा २०२६÷०२७ सालमा काम गरे । एक वर्षपछि उनी जनक शिक्षामा जागिरे भए । वरिष्ठ आर्टिष्ट पदका लागि उनी जनक शिक्षामा प्रवेश गरेका थिए । २०३५ सालसम्म त्यही जागिरलाई निरन्तरता दिँदै बीच बीचमा उनले कला सिर्जना एवम् एकल प्रदर्शनी समेत गरे । २०३५ सालमा त्यहाँबाट सरुवा भई पर्यटन विभाग बागबजार आए । विभागमा उनले प्राविधिक अधिकृत÷प्रशासनिक, प्रकाशन शाखामा समेत काम सम्हाले । त्यस्तै अन्तर्राष्ट्रिय प्रचार–प्रसारको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गरे ।

यसबाट कलाकारिताको भन्दा भिन्नै व्यक्तित्व निर्माण गर्न सफल मदनले २०५५ सालमा जागिरबाट अवकाश लिए । त्यसपछि केही समय कला सिर्जना, पुस्तक लेखन तथा कलासम्बन्धी लेखरचना आदि लेखन प्रकाशनको कार्यतिर लागे । यस्तै, उनले ललितकला क्याम्पस, सिर्जना कल्ज अफ फाइन आर्टस्, काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस्, सेन्टर फर आर्ट एण्ड डिजाइन आदिमा कला विषय प्राध्यापन गरे । स्पष्ट वक्ताका रुपमा परिचित कलाकार मदनको प्रमुख रुचि अध्ययन हो । उनले कलासम्बन्धी इतिहास÷समीक्षा तथा कला गतिविधि नछुट्याइकन् अध्ययन गर्ने सुनाए । त्यस्तै, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनैतिक गतिविधिका बारेमा आफूलाई अप टु डेट राख्छन् । मदनले भन्छन्, ‘अध्ययनविना कला अपूर्ण हुन्छ ।’ संगीत सुन्ने उनको अर्को रुचिको विषय हो । उनी प्रवल गोरखा दक्षिणबाहु (चौथो) बाट विभूषित भएका छन् । त्यस्तै, उनले राष्ट्रिय कला प्रदर्शनी २०२५÷०२६ सालमा दुईपटक सान्त्वना पुरस्कार पाएका छन् ।

मदन चित्रकार

प्रदर्शनी

आफ्ना कलाका सोच, शैली, दर्शन र विचारलाई बाहिर ल्याउन कलाकार मदनले विभिन्न पटक एकल तथा सामूहिक कला प्रदर्शनीमा सहभागी भएका छन् । उनको पहिलो एकल कला प्रदर्शनी २०३४ सालमा नेपाल भारत सांस्कृतिक केन्द्रमा भएको थियो । उनका जे.आर्ट ग्यालरीमा ०४१, ०४९, ०५६ सम्म भएका एकल प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएका थिए । त्यसैगरी नेपाल पर्यटन बोर्डमा २०५५ सालमा नेपाल पर्यटन वर्षको सन्दर्भमा एकल प्रदर्शनी भएको थियो । यस प्रदर्शनीमा नेपाल चिनिने कलाकृतिहरु थिए । २०५९ सालमा नेपाल कला परिषद्मा उनको छैठौं एकल प्रदर्शनी भएको थियो । उनको सातौं एकल प्रदर्शनीको आयोजना सिद्धार्थ आर्ट ग्यालरीले ०६५ मा बबरमहलमा गरेको थियो ।

उनले दर्जनौं पटक सामूहिक कला प्रदर्शनीमा नेपाल तथा विश्वका अन्य मुलुकमा सहभागी भई आफ्नो उपस्थिति जनाइसकेका छन् । उनले बियानाले बंगलादेशमा दुईपटक भाग लिएका छन् ।

संलग्नता

कला क्षेत्रको विकासका निम्ति कलाकार मदनले थुप्रै कलासम्बन्धी संघसंस्थामा आवद्ध भइ काम गरेको अनुभव छ । त्यसका साथै उनी भारतमा अध्ययनरत् छँदा नेपाली स्टुडेन्ट एसोसिएसनमा सहसचिव १९६५, त्यसपछि सेक्रेटरी भई कार्य गरेका थिए । नेपाल बौद्धिक परिषद्, ललितकला एकेडेमी स्थापनार्थ समिति आदिमा सक्रिय भइ लागेका उनले २०४१ सालमा नेपाल कलाकार समाजको सदस्य तथा २०४८ देखि २०५६ सम्म अध्यक्ष भई कार्य गरिसकेका छन् ।

कलामा सिर्जनशीलता बढाउन कलाकार घुम्नुपर्दछ । नयाँ नयाँ ठाउँमा भएका प्रगति र विकासको अवलोकन तथा सीप र शैली सिक्न भ्रमण उपयुक्त हुन्छ । यही मेसोमा कलाकार मदनले विश्वका धेरै देश भ्रमण गरेको सुनाए । उनले बेलायत, नेदरल्याण्ड, बेल्जियम, अमेरिका, फ्रान्स, जर्मनी, इटली, भारत, बंगलादेश, डेनमार्क, जापान, हङ्कङ, इण्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलिया, थाइलैण्ड, इजरायल, श्रीलंका, मलेसिया, सिंगापुर लगायतका देशमा नेपाली कला, संस्कृति तथा पर्यटन विकास र प्रवद्र्धनका निम्ति भ्रमण गरेका छन् ।

कलाकार मदन नेपाली ललितकला क्षेत्रमा प्रवेश गरेको साढे छ दशक हुन लाग्यो । त्यो पनि उनको सिर्जनाप्रतिको निरन्तरको क्रियाशीलता, नयाँ शिल्पविधि, विचार, दर्शनमा कलाकर्म गर्न उनी अभिरुचि राख्छन् । मानवीय पीडा, समवेदनाले उनलाई गहिरो गरी छुने गर्दछ । वास्तवमा उनका रचनामा मानवीय पक्षको उद्घाटन एकातिर भएको हुन्छ भने अर्कोतिर हाम्रो मौलिक सांस्कृतिक वैभव र राष्ट्रियता सशक्त रूपमा मुखरित भएको हुन्छ । कलाका यी र यस्तै विचारमा अन्तघुर्लित हुँदै कलाकार मदनले नेपाली कलाक्षेत्रमा आफ्नो स्थान दह्रो गरी जमाउन सफल भएका छन् । उनको कलाकारिताको व्यक्तित्व नै नेपाली कला आकाशमा सशक्त रूपमा आउँदछ । उनीसँग समीक्षक लेखक तथा कलाकारको व्यक्तित्व रहेको छ । वास्तवमा उनको व्यक्तित्व अरुका जीवनका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।

मदन चित्रकार

मदनले बनाएका केही चित्र

(क) दृश्यचित्रहरू

(१) स्वयम्भु

(२) हनुमानघाट

३) भक्तपुरका गल्लीहरू (थुप्रै)

(४) पाटनका गल्लीहरू (थुपै्र)

(ख) संस्कृतिसम्बन्धी चित्रहरू

(१) माछा (अष्टमंगलको एक भाग)

(२) प्रज्ञा–१ (ज्ञानको खोजी)

(३) प्रज्ञा–२ (ज्ञानको खोजी)

(४) प्रज्ञा–३ (ज्ञानको खोजी)

(५) प्रज्ञा–४ (ज्ञानको खोजी)

(६) प्रज्ञा–५ (ज्ञानको खोजी)

(ग) राष्ट्रियतासम्बन्धी चित्रहरू

(१) चन्द्र र सूर्य–१

(२) चन्द्र र सूर्य –२

(३) चन्द्र र सूर्य –३

(४) चन्द्र र सूर्य–४

(घ) सामाजिक जीवनसंग सम्बन्धित चित्रहरू

(१) बस्तीहरू–१

(२) बस्तीहरू–२

(३) बस्ती–३

(४) बस्ती–४

(५) बस्ती–५

(६) बस्ती–६

(ङ) संरचना

(१) संरचना–१
(२) संरचना–२

(३) संरचना–३

(४) संरचना–४

(५) संरचना–६

(६) संरचना–७

(७) संरचना–८

(८) संरचना–९

कलाकार मदनका चित्रको काल विभाजन

कलाकार मदनले नेपाली कलाक्षेत्रमा लामो अनुभव सँगालेका छन् । उनका कलामा सामाजिक, राजनैतिक, भूदृश्य तथा नेपाली संस्कार भेट्न सकिन्छ । उनका चित्रहरूको काल खण्ड निम्नानुसार गर्नुपर्ने हुन्छ ।

क. दृश्यचित्रण (०१५ सालदेखि–०५० सम्म)

ख. संरचनागत विषय (०५० सालदेखि)

ग. सामाजिक विषय (०५० सालदेखि)

घ. राजनैतिक विषय (०६० सालदेखि)

ङ. सांस्कृतिक विषय (०५० सालदेखि)

च. राष्ट्रियतासम्बन्धी विषयका चित्र (०६० सालदेखि)

क. दृश्यचित्रण

उनले २०१५ सालदेखि दृश्यचित्र बनाउन थालेका हुन् । त्यो क्रम २०५० सालसम्म रह्यो । यसबीचमा उनले एकल तथा सामूहिक प्रदर्शनीसमेत गर्न भ्याए । बीच बीचमा कलाका अन्य विधा र शैलीमा पनि उनको तुलिका चलेको पाइन्छ । उनले काठमाडौं, भक्तपुर, ललितपुर सहरका गल्ली, मन्दिर लगायतका थुपै्र दृश्यचित्र बनाएका छन् ।

ख. संरचनागत चित्र

यसमा सिर्जनात्मक पक्षलाई लिई उनले चित्र बनाएका छन् । रङको सन्तुलित संयोजनबाट बनाएका कलाकृति निकै आकर्षक र सिर्जनात्मक छन् । यो विषयमा बनाइएका अधिकांश चित्रमा बिम्बहरू नेपाली समसामयिकता नै छन् । यस्ता चित्र कलाकारले ०५० सालको दशकदेखि बनाएको पाइन्छ ।

ग. सामाजिक विषयका चित्र

कलाकार मदनले सामाजिक विषयमा पनि कलाकृति रचना गर्दै आएका छन् । नेपाली समाजका विभिन्न पक्षलाई कलामार्फत कलाकारले उजागर गर्दै आएका उनले समाजका वेथिति विकृति असंगतिलाई बिम्ब र प्रतीकका माध्यमबाट प्रस्तुत गरेका पाइन्छ ।

घ. राजनैतिक विषयका चित्र

कलाकार मदनले नेपाली तथा अन्तर्राष्ट्रिय राजनीतिका विषयमा समेत कला रचना गर्दै आइरहेका छन् । राजनीतिले समाजमा परेको प्रभाव, द्वन्द्व तथा हिंसाका घटनालाई रङ र संरचनागत विषय संयोजनमार्फत कलाकृतिमा उठान गरेका छन् । उनले सचेत ढंगले नेपालको राजनीतिको अवस्था, विदेशमा भएका युद्ध र ध्वंसका विषयलाई समेत विषय बनाएका छन् । उनले बनाएको सिंहदरबारको द्वारमा रागोको सिङ राखेको चित्रले नेपाली राजनीतिको अवस्थालाई बुझाउँछ । उनले ५० सालको दशकपछि यस्ता चित्र बनाउन थालेका हुन् ।

ङ. सांस्कृतिक विषयका चित्र

उनले काठमाडौं उपत्यकाको नेवारी संस्कृतिलाई कलाकारले बिम्बात्मक रूपमा आफ्ना कलामा उतारेको पाइन्छ । जस्तो ढोकामाथि लगाउने रातो र पहेलो रङको टीकालाई समसामयिक शैलीमा आकर्षकरूपमा प्रस्तुत गरेका छन् । कलाकार मदनका कलामा भेटिने अन्य थुपै्र सांस्कृतिक बिम्बहरू छन् । संस्कार तथा सामाजिक जीवनमा हुने संस्कृतिसम्बन्धी विषयलाई कलामा उतारेर नेपाली स्वाद दिनसक्ने खालका कलाकृति बनाउन सफल उनले पौभाचित्रका केही बिम्बलाई समेत समसामयिक रूपमा प्रस्तुत गरेको पाइन्छ ।

च. नेपाली राष्ट्रियतासम्बन्धी विषयका चित्र

नेपाली राष्ट्रियतालाई कलाकारले सशक्त रूपमा क्यानभासमा उठाउँदै आएका छन् । राष्ट्रिय झण्डालाई टुक्रिएको देखाएर अथवा पहेला र खतरनाक गोहीले घेरिएको राष्ट्रिय अस्मितालाई कलाकारले चित्रमार्पmत उठाइएको छ । उनले यस्ता चित्र ०६० सालको दशकमा बनाउन थालेका हुन् ।

मदनका कलागत प्रवृत्ति तथा विषय

मदनका कलामा मूल रूपमा नेपाली बिम्वहरूको प्रयोग भएको पाइन्छ । हुनत् उनले मानवीय संवेदनालाई कलामार्पmत प्रस्तुत गर्दै आएको पाइन्छ । सांस्कृतिक वैभव र तिनबाट समाजले सिकेको ज्ञान उनका कलाका मुख्य विशेषता हुन् । ज्ञानको खोजी, राष्ट्रियता, संस्कृति तथा युद्धबाट प्रभावित नेपाली समाज आदिलाई चित्रमार्पmत व्यक्त गर्दै आएका उनका कलामा भेटिने प्रवृत्ति र विषय यसप्रकार रहेका छन् –

(क) दृश्यचित्रणमा आफ्नै शैली र परिचय ।

(ख) ज्ञानको खोजीमा लिपिहरूको प्रयोग । रञ्जना, ब्रह्मा, देवनागरी, रोमन लगायतका लिपिलाई समिश्रण गरी कला सिर्जना ।

(ग) सांस्कृतिक एवम् वैचारिक दृष्टिले मजवुत विषयवस्तु ।

(घ) कालो, निलो, सुन्तला, रातो तथा हरियो रङको प्रयोग । कालो रङलाई बढी प्रयोग गर्नु ।

(ङ) राष्ट्रियता, संस्कृति एवम् ज्ञानको खोजीमार्पmत वैचारिक दर्शनलाई अगाडि ल्याउनु ।

(च) शिवलिंग, अष्टमंगलका चित्रहरू, राष्ट्रिय झण्डा चन्द्र सूर्य, पौभाका केही अंशहरू आदि विषयको प्रयोग ।

(छ) आकृतिमूलक भन्दा पनि प्रतीकात्मक बिम्वको प्रयोग बढी ।

(ज) रङ र विषय संयोजनमा कलाकार बढी सचेत ।

(झ) थोरै विषयमार्पmत धेरै वैचारिक बहसहरू चलाउन सक्ने खुबी ।

(ञ) कलामा अन्तर्मन भित्रका दृष्टिकोणलाई देखाउन खोज्नु ।

(ट) संस्कारजन्य बिम्वलाई आधुनिक शैलीमा चित्रण गर्नु ।

(ठ) सबैजसो कलामा स्वदेशी बिम्वहरूको झल्को आउनु

(ड) विश्वकलाका मान्यतालाई आत्मसात् गर्नु आदि ।

निष्कर्ष

मानिसलाई सामाजिक जीवनमा केही न केही वस्तुले प्रभाव जमाई हाल्छ । विज्ञान र प्रविधिको आजको दुनियाँमा मानिस एकै ठाउँमा हुनपुगेका छन् । तर उनीहरूको परिवर्तनमा आउनलाई पनि तत्समाज, देश र त्यहाँको वातावरणको भूमिका महत्वपूर्ण हुन्छ । त्यस्तै, एउटा कलाकारलाई पनि समाज, देश र वातावरणले निकै प्रभाव पारेको हुन्छ । हरेक सन्दर्भमा वातावरण देश र समाजका यथार्थ चित्रण गर्ने मदन नेपाली बिम्वलाई कलामा सिर्जनाका विषय बनाउँदै आएका छन् ।

विशेषगरी, नेपाली बिम्वहरूको प्रभाव मदनका कलामा प्रशस्तै भेटन सकिन्छ । उनले धर्म, संस्कृति, भाषा, तथा संस्कारजन्य विषयलाई समसामयिक कलामा उतारेका छन् । थोरै विषयमा ओजिलो प्रस्तुति दिन सफल उनले सामाजिक तथा राजनैतिक विकृति, विसंगति तथा राष्ट्रियताका विषयलाई सशक्त रूपमा जोड दिएको पाइन्छ । उनका कलामा प्रतीकात्मक रूपमा बिम्व प्रयोग भइरहेको हुन्छ । ती बिम्वको अर्थात स्वदेशी विषयवस्तु कलामा घनिभूत रूपमा आएकै कारण कलाकारको मौलिक पहिचान बन्न पुगेको छ ।

बिम्वको स्वतन्त्र प्रयोग र त्यसले विषयलाई उठाएको प्रस्तुति नै कलाकार मदनका कलाको प्रमुख विशेषता हो । हुन त उनले नेपाली संस्कृतिलाई भिन्न दृष्टिकोणबाट उठाउने प्रयास गरेका छन् । लिपि, टुँडालका साना अंश, राष्ट्रिय झण्डा, नेवारी संस्कृति र संस्कारका साना इकाइ, थाङका÷पौभा चित्रका बिम्वलाई लिई तिनको प्रभाव समसामयिक कलामा देखाएका छन् । स्वदेशी बिम्वहरूमार्फत संस्कृति जगेर्ना गर्ने, राष्ट्रियताका बारेमा केही गर्नुपर्ने लगायतका कुरालाई जोड दिइएको पाइन्छ ।

तसर्थ कलाकार मदनका कलाले नेपाली कलाक्षेत्रमा फरक धार, चिन्तन र शैलीको अवधारणा प्रस्तुत गरेको छ । उनका कलाको प्रभावले नेपालीत्वको झल्कोलाई प्रष्ट भन्न खोजेको देखिन्छ । कलामा राजनैतिक, सामाजिक घटना, धार्मिक, सांस्कृतिक एवम् नेपालीपनको प्रभाव विभिन्न बिम्व प्रतीकहरूका माध्यमबाट समसामयिक रूपमा आएका छन् । यिनै प्रभावहरू कलाकारका कलाका प्रमुख विषय हुन् ।

प्रतिक्रिया