मधेश ब्युरो । रौतहटको मौलापुर नगरपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । एक समारोहका बीच पूर्ण रूपमा खोप घोषणा गरिएको हो । जिल्लाको स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता पालिका हुनेमा १५औँ पालिका बनेको छ ।
शुक्रबार जिल्ला समन्वय समिति रौतहटका सभापति एवं खोप समन्वय समिति रौतहटका संयोजक रामअयोध्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरी मौलापुरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहले जानकारी गराएकी हुन् ।
मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबुु साहका अनुसार १५ महिनामा ७ पटकसम्म लगाइने हरेक १३ वटा खोपहरू लगाइएको छ । नगरभरिको खोप लगाउनुुपर्ने सम्पूर्ण बालबालिकाहरूलाई खोप लगाइसकिएको छ । पूर्ण खोप लगाउनबाट छुटेका बालबालिकाहरू एउटा अभियान सञ्चालन गरी पहिचान गरेर खोप लगाइएपश्चात् पूर्ण घोषणा गरिएको बताए ।
पूर्ण खोप घोषणा कार्यविधि अनुरूप निर्देशिकाको सम्पूर्ण प्रक्रिया पूरा गरी सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको मौलापुर नगरपालिकाले जनाएको छ ।
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या प्रसाद यादवले मौलापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै नगरप्रमुख रिनाकुमारी साहलाई घोषणापत्र हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई समापन गर्दै नगरप्रमुख साहले सबैको साथ र सहयोगले नै मौलापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सकिएको बताउँदै । यसमा सहयोग गर्नुु हुने सबैलाई धन्यवाद ज्ञापन गरेकी हुन् । कार्यक्रम समापनपश्चात् प्रमुख अतिथिलगायत सबै जनाले नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा मेयर साहले सहभागी सबै वडाका प्रतिनिधिहरूलाइ पूर्ण खोप सुनिश्चितता वडा भएको प्रमाणपत्र प्रदान गरेकी छन् । साथै स्वास्थ्य स्वयंसेविकाहरू र स्वास्थ्य शाखा इन्चार्जहरूलाई कदरपत्रसहित सम्मान गरिएको हो । अतिथिहरूलाइ मायाको चिनोका साथ सम्मान गरिएको हो ।
कार्यक्रममा पूर्वसंघीय सांसद समिना हुुसैन, मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र यादव, स्वास्थ्य कार्यालय रौतहटका सूचना अधिकारी एवं खोप फाँट प्रमुख अनिलकुमार कर्ण, मौलापुर नगरप्रवक्ता चन्देश्वर बैठा, वडा–५ का वडा अध्यक्ष चन्देश्वर साह लगायतले आआफ्नो शुुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो पूर्ण खोप घोषणा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अच्छेलाल साहले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन मौलापुर नगरपालिकाकी लघुउद्यम शाखाका प्रमुख सुुमन यादवले गरेकी थिइन् ।
यता जिल्लाको पूर्ण खोप पालिका घोषणा भएको नगरपालिकामा गौर नगरपालिका, दुर्गा भगवती गाउँपालिका, इशनाथ नगरपालिका, राजपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गुजारा नगरपालिका, चन्द्रपुर नगरपालिका, वृन्दावन नगरपालिका, गरुडा नगरपालिका, माधवनारायण नगरपालिका, परोहा नगरपालिका र बौद्धिमाई नगरपालिका रहेका छन् ।
जेठ महिनाको दोस्रो हप्तामा रौतहट जिल्ला नै पूर्ण खोप जिल्लाको रूपमा घोषणा गरिने तयारी तीव्र रूपमा भइरहेको र बाँकी रहेको पालिका पूर्ण खोप घोषणाको अन्तिम चरणमा रहेको बताइएको छ ।
अब उपरान्त जिल्लामा तीन वटा पालिकाहरू वैशाख २९ गते राजदेवी नगरपालिका, वैशाख ३१ गते गढिमाई नगरपालिका र जेठ २ मा कटहरिया नगरपालिका घोषणा हुने तयारीमा रहेको बुझिएको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया