विनायोजना सडक स्तरोन्नति गर्दा खानेपानीबाट वञ्चित उपभोक्ता

रौतहट । चन्द्रपुर नगरपालिकाका पाँच सयभन्दा बढी उपभोक्ता खानेपानीबाट वञ्चित भएका छन् । विनायोजना सडक स्तरोन्नति गर्दा गर्दा उनीहरू खानेपानीबाट वञ्चित हुनुपरेको हो । रौतहटको चन्द्रनिगाहपुर गौर सडकको स्तरोन्नति गर्न नाला र सडकपेटी खन्नेक्रममा खानेपानीको पाइप फुटेपछि उपभोक्ता खानेपानीबाट वञ्चित भएका हुन् । पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकदखि गौर जाने सडकको पुरानो बजार खण्डसम्म करिब १२ सय मिटर सडक चार लेनको हुने भएको छ । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको करिब १४ करोड रुपैयाँको बजेटमा सडक विस्तार गर्न लागेको इन्जिनियर मदनमोहन सिंहले जानकारी दिए । सिंहका अनुसार यो दुई वर्षे योजना भए पनि चालु आर्थिक वर्षमै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

यता सडक स्तरोन्नति गर्ने क्रममा खानेपानीको पाइप फुट्नाले पानी पिउनबाट वञ्चित उपभोक्ता भने आक्रोशित बनेका छन् । निर्माण कार्य सुरु भएको दिनदेखि नै पालिकाको वडा–५ स्थित पूर्वटोल, बजारटोल र वडा–६ को बजारटोल, झनझनी टोल, गैरी गाउँ, बेल्डीलगायत गाउँका उपभोक्ता खानेपानीबाट वञ्चित भएका छन् । झनझनी टोलका उपभोक्ता महेश पण्डितले १० दिनदेखि धारामा खानेपानी नआएको बताए । खानेपानीको जोहो गर्न उनीलगायत सो गाउँका वासिन्दा दुई किलोमिटर धाएर डावरी वनक्षेत्रको जरुवा पानी पिउन बाध्य छन् । कतै कतै उपभोक्ता आफैँले चापाकल जडान गरी पानीको व्यवस्थापन गरेका छन् ।

खानेपानी सरसफाइ उपभोक्ता समितिका सचिव रामबहादुर घलानका अनुसार सडक डिभिजन कार्यालयले खानेपानीको पाइप व्यवस्थापन गर्न यही चैत ९ गते पत्राचार ग¥यो र १३ गतेदेखि नै काम सुरु ग¥यो । त्यति थोरै समयमा खानेपानीले पाइप व्यवस्थापन गर्न नसकेका कारण उपभोक्ता खानेपानीबाट वञ्चित हुनुपरेको हो । सडक खन्दा खानेपानीको करिब करोड रुपैयाँभन्दा बढी क्षतिसमेत पुगेको उनले बताए ।

यता चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले बुधबार बसेको बैठकले सडकका अवरोध हटाउने काम सम्पन्न भएलगतै खानेपानीको पाइप व्यवस्थापन गर्ने र पाइप व्यवस्थापनको लागि नगरपालिका, सडक र खानेपानीको संयुक्त लगानी रहने निर्णय भएको बताए । उनकाअनुसार सडकले खानेपानी र विद्युत्सँग समन्वय गरी योजनाबद्ध तरिकाले अघि बढेको भए समस्या आउने थिएन । अझै पनि विद्युतीय पोलको व्यवस्थापन भने हुन सकेको छैन । त्यसको लागि पहल भइरहेको छ ।

प्रतिक्रिया