उपनिर्वाचन : एमालेबाट तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपाने उम्मेदवार

काठमाडौं । नेकपा एमालेले १० वैशाखमा हुने उपनिर्वाचन लागि चितवन २ र तनहुँ १ को उम्मेदवार चयन गरेको छ ।

आज शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितनव २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले बारा–२ का लागि भने उम्मेदवार टुंग्याउन नसकेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

बारा–२ को राजनीतिक अवस्था अत्यन्तै तरल भएकोले थप छलफल गरेर आइतबार उम्मेदवार टुंग्याइने गुरुङको भनाई छ ।

तनहुँबाट उम्मेदवार बन्न लागेका खनाल पूर्वप्रहरी महानिरीक्षक हुन् । यसअघिका उम्मेदवार एकबहादुर गुरुङ र तनहुँका सिनियर नेता किरण गुरुङले उपचुनावमा नउठ्ने भनेपछि खनालले उम्मेदवार हुनका लागि एमाले तनहुँ जिल्ला कमिटीमा निवेदन दिएका थिए ।

खनाल गत मंसिरको चुनावमा काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।

चितवन २ मा उम्मेदवार बन्न लागेका न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन् । जिल्ला कमिटीले न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो ।

न्यौपान गत मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाएका थिएनन् ।

प्रतिक्रिया