एनआइसी एशियाको पेमेन्ट स्वीच संचालनमा

काठमाडौ । एनआइसी एशिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ । बैंकले एसटुएमसँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको हो ।

डिजिटल कारोबारमा आम ग्राहकको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको पनि जनाएको छ । स्वीचको मद्दतले यस बैंकका पिओएस तथा एटिएम टर्मिनलमार्फत गरिने कारोबारलाई अन्तरआबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र सरल समेत बनाउन ठोस टेवा मिल्ने अपेक्षा गरिएको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आधुनिक प्रविधिहरू आत्मसात गर्दै बैंकले सञ्चालनमा ल्याएको यस स्वीचको उच्चतम सदुपयोग गरी आम ग्राहक माझ नवीनतम प्रविधिमा आधारित विभिन्न डिजिटल प्रोडक्ट तथा सेवाहरू पु¥याउन मद्दत पुग्ने हुँदा उनीहरूको दैनिक बैंकिङ अनुभवलाई नै अझ परिस्कृत बनाउनको निमित्त उक्त स्वीच कोषेढुंगा सावित हुने बैंकले विश्वास लिएको छ । बैंकले मुलुकभर ३ सय ५९ शाखा कार्यालय, ४ सय ७३ एटिएम, १ सय ७ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया