रवि लामिछानेदेखि कृष्ण लामिछानेसम्म

नारायण गाउँले

प्राथमिक सूचना नभएका हामीले यहाँनिर गर्न सक्ने सबैभन्दा ठूलो काम भनेको धैर्य र संयम नै हो । सूचना भएकाले गर्न सक्ने भनेको न्यायिक निकायलाई सहयोग र सचेत बनाउनु नै हो । तपाईंलाई यति टाढा बसेर फेसबुकमा प्रमाण भेटेको जस्तो लागेको छ भने प्रहरी त्यहीँ छ । उसले पक्कै तपाईंले भन्दा पहिले त्यो प्रमाण भेटेको हुन सक्छ । धैर्य गरौँ ।

सामाजिक सञ्जालले प्रमाण जुटाएर फैसला गरिसक्दासमेत घरेलु हिंसाबारे अमेरिकी प्रहरी र कानुन बेखबर रहने भन्ने नहुनुपर्ने हो । यस्तो मुद्दामा प्रायः कानुनहरू स्पष्ट र कड़ा हुन्छन् । कतै हामीले जुटाएका प्रमाण र निकालेको निष्कर्षमै पो कैफियत छ कि ?

घर–झगडाका अनेक कारण हुन सक्छन् । झगडा हिंसासम्म ओर्लिनुका पनि आफ्नै कारण र चरण हुन सक्छन् । ती कारणबारे पर्याप्त र बहुपक्षीय सूचना नभई कुनै निचोडमा पुग्नु र कसैलाई दोषी तोक्नु अर्को गैरकानुनी काम हुनसक्छ । हिंसा भएकै हो या होइन भन्नका लागि पनि चोखो सूचना आवश्यक पर्छ । हामीले एकोहोरो च्यानलबाट हासिल गरिरहेको सूचना सही या गलत दुबै हुनसक्छ ।

आएका दाबी र अवधारणाहरू सबै गलत नै हुन् भन्न पनि उत्तिकै चोखो सूचना आवश्यक पर्छ । यदि गलत रहेछन् भने सञ्जालमार्फत हामीले अर्को हिंसा गरिरहेका पनि हुन सक्छौँ । सम्भावनाकै आधारमा पर्याप्त जानकारीबिना यस्तो संवेदनशील विषयमा लेख्न–बोल्न मलाई सहज लाग्दैन । त्यसैमा पनि कानुनमाथि भरोसा गर्न सकिने क्षेत्रमा ।

राजनीतिदेखि समाजसेवा र साहित्यसम्म सक्रिय र सचेत व्यक्तिले एकोहोरो हिंसा सहेर बसेको या त्यसैका कारण आत्महत्या गरेको भन्ने अनुमानमा मानको अंश कति होला ? समस्याको सामना गर्नुभन्दा आत्महत्या रोज्नुका पछाडि व्यक्तिले लुकाउन चाहेका आफ्ना कमजोरी पनि होलान् कि ? बिस्तारै विषयका थप पाटाहरू खुल्ने हो भने यो अझै भद्दा देखिन पनि सक्छ ।

बलियो आर्थिक स्वतन्त्रता हासिल नगरी समाजसेवा या राजनीतिमा अगाडि बढ्दा पारिवारिक सन्तुलन बिग्रिन सक्ने उदाहरण भने हामीले देख्दै भोग्दै आएका छौँ । अर्थ र समाजसेवा दुबै पक्षमा सफल केही व्यक्तिसँग सामाजिक सञ्जालले उपलब्ध गराउने भर्चुअल पहुँचका आधारमा आफूलाई पनि त्यही क्लबको सदस्य ठानेर उभिएको सिँढ़ी बिर्सिने अवस्था आउँदो रहेछ । एकपल्ट त्यो क्लबमा छिरेपछि निस्किन पनि सजिलो हुँदैन । स्ट्याटस कायम राख्ने प्रयासमा जीवनका थुप्रै कडीहरू खुकुलो हुँदै जान सक्छन् । कतै कृष्ण लामिछानेजी पनि त्यस्तै ट्रयापमा पर्नुभो कि ?

अपुष्ट र एकपक्षीय सूचनाका आधारमा यस्तो विषयमा बोल्दा लेख्दा उहाँका परिवार र कुनै जीवनप्रति हामीले अर्को अपराध गरिरहेका हुन सक्छौँ । तर, हामीसँग विश्वसनीय सूचना या आधारयुक्त आशंकाहरू छन् र चुप बस्यौँ भने पनि अर्को अन्याय भइरहेको हुन सक्छ । यस्तोमा सञ्जालभन्दा कानुनी निकायलाई हाम्रा अनुमान र सूचना सेयर गर्नु सबैभन्दा उत्तम होला । स्थानीय समाजलाई लुकाएको या दबाएको आरोप लगाउनु व्यर्थ छ । समाज भनेको पनि हामीजस्तै व्यक्तिको समूह हो । समाजले लुकाउने र हामीले देख्ने तर प्रहरीले नदेख्ने भन्ने तर्क बलियो छैन । कतिपय पारिवारिक मुद्दामा हामीले सोचे र चाहेजस्तो समाजले दख्खल दिन पनि सक्दैन । तपाईंले छिमेकको पारिवारिक मुद्दामा कति दख्खल दिन सक्नुहुन्छ भन्ने सोच्नुभयो भने पनि यो स्पष्ट हुन्छ ।

प्राथमिक सूचना नभएका हामीले यहाँनिर गर्न सक्ने सबैभन्दा ठूलो काम भनेको धैर्य र संयम नै हो । सूचना भएकाले गर्न सक्ने भनेको न्यायिक निकायलाई सहयोग र सचेत बनाउनु नै हो । तपाईंलाई यति टाढा बसेर फेसबुकमा प्रमाण भेटेको जस्तो लागेको छ भने प्रहरी त्यहीँ छ । उसले पक्कै तपाईंले भन्दा पहिले त्यो प्रमाण भेटेको हुन सक्छ । धैर्य गरौँ ।

रवि लामिछाने यतिबेला गठबन्धन र ओलीबीच पेन्डुलम बनेको देख्नुभएको होला । धेरैलाई असजिलो लागेको पनि होला । तर, यो उनको चाहनाले होइन, चक्रब्यूहले गर्दा हो । गहिरो गरी सोच्नुभो भने देशको राजनीतिक चक्रब्यूह र सिस्टम यति अभेद्य छ कि कुनै नयाँ अनुहारले यसलाई तोड्छु या बदल्छु भनेर आयो भने ऊ आफैँ तोडिन्छ ।

नागरिकता प्रकरण टुंगियो । तर पासपोर्ट विवादबारे सुन्नुभएकै हुनुपर्छ । प्रहरी छानबिन, सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पासपोर्ट विवादको फाइल पुगेर मुद्दा लाग्ने या नलाग्ने भन्ने निर्णय हुने रहेछ । महान्यायाधिवक्ता प्रधानमन्त्रीले आफ्नै पार्टी र गुटका कट्टर भक्तलाई चुन्ने प्रचलन छ । तर, सरकारले पक्षमा निर्णय गर्दैमा पनि यो विवाद सकिन्न । जो कोही पनि रिट बोकेर अदालत जान सक्छ र पासपोर्टको मुद्दा संवेदनशील मानिन्छ पनि । संयोगवश ओलीजीका पूर्व महान्यायाधिवक्ता नै अहिले सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश छन् । एमाले र कांग्रेसको सक्रिय राजनीति गरिसकेका र सांसद नै बनेकासमेत सर्वोच्चमा न्यायाधीश छन् । अब आफैँ सोच्नुहोस्, एउटा रविले गरोस् त के गरोस् ।

सबैको नसा समाउलान् भनेर आशा गरिएका रविको नसा समाएर उल्टै दलहरू बसेका छन् । भित्र यस्तो छ, बाहिरबाट हेर्नुस् त, दलहरू कति अबोध र मायालु देखिन्छन् । अर्बाैं रुपियाँ खर्चेर गरिएको चुनाबपछि देशको चुनौतीपूर्ण अर्थव्यवस्था, ऋण, बेरोजगारी, कृषि, उत्पादकत्व र स्वास्थ्य समस्याबारे कहीँ कुनै नेताले बोलेको सुन्नुभएको छ ? बालुवाटारदेखि बालकोट या देउबामहलसम्म दर्जनौँ मिटिङ र भेटघाट भएका छन् । तर त्यहाँ एकअर्कालाई कसरी खुइल्याउने र आफू जित्ने भन्नेबाहेक अर्को बहस भएको छ ? सिंगो संसद् कसलाई के बनाउने, कसले कसलाई धोका दिने, कसले पक्का जित्ने, कसले कसलाई समर्थन दिने र फिर्ता लिने जस्ता कुरामा व्यस्त छ । हाम्रा वरिष्ठ भनिएका नेताहरू कसले कति छलकपट गर्न सक्ने भन्नेमा हाम्रो रगत पसिनाबाट तलब खाएर लागेका छन् । न सरकार छ, न प्रतिपक्ष छ । यतिसम्म निर्लज्जता छ कि बिहान दलाल भनेर गाली गरेको छ, बेलुका फूलमाला लगाएको छ । बिहान अबीर दलेको छ र बेलुका विषवमन गरेको छ । यत्तिका लागि तिनले तलबभत्ता थापेका छन् । हामी जसले जे भने पनि हो भनेर ताली बजाएकै छौँ । कोही केही बोल्दैन । बोल्यो भने त्यही धोका, ढोक्सा र भागबण्डाबारे बोल्छ । तुष पोख्न बोल्छ । रविजस्ता केही नयाँ युवामा यस्तो दुर्गतिप्रति रोष त होला, तर ती सत्तालाई त प्रश्न गर्न सक्दैनन् नै, हिजो या भोलि सत्तामा हुनेसँग पनि डराइरहेका देखिन्छन् ।

सिस्टमसँग, बेथिति र चक्रब्यूहसँग लड्ने एउटा भरपर्दो साधन भनेको पत्रकारिता नै हो । आजसम्मका काण्ड, भ्रष्टाचार, बेथिति जे जति बाहिर आएका छन्, ती सबै पत्रकारले नै ल्याएका हुन् । पत्रकारिता नभएको भए हाम्रा नेताहरू चार गुना बढी भ्रष्ट हुन्थे भन्ने हामीलाई थाहा छ । पत्रकारिता आफैँमा स्वच्छ नहोला, तर यसले नेपाली राजनीतिलाई निरन्तर चौकीदारी गरिरहेको छ । प्रतिपक्षको भूमिका निभाइरहेको छ । नत्र त दलहरू सबै तोडफोड र एउटालाई गुल्ट्याएर आफू सत्तामा पुग्न खुल्लमखुल्ला लागेकै छन् । नयाँ केही गर्छु भन्नेले यो हतियारलाई सदुपयोग गरेर सिस्टमसँग लड्नुपर्ने हो । त्यो पनि उल्टो भए जस्तो छ ।

यता तपाईं र म आफूआफू बीच मित्र भन्ने कि शत्रु भन्ने निर्णय माथिबाट छिटो आओस् भनेर कुरी रहेका छौँ ! तपाईंको रंग कालो कि सेतो भन्ने कुरो माथिबाट निर्देशन नआई मेरो विवेकले छुट्याउन सक्दैन । र गज्जब त के भने यो निर्देशनले पहिले पहिले त केही वर्ष काम गथ्र्यो, आजभोलि बिहानको निर्देशनले बेलुकासम्म पनि काम गर्दैन, र पनि हामी निर्देशित नै छौँ ।

प्रतिक्रिया