साहित्य महोत्सव

कैलाली । साहित्यमार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले टीकापुरमा पहिलोपटक साहित्य महोत्सव हुने भएको छ । टीकापुर साहित्य समाजको आयोजनामा यही चैत २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको हो । समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक साहित्यकार मोहनविक्रम शाहले महोत्सवको तयारी भइरहेको जानकारी दिए ।

उनले टीकापुरलाई शान्त र सामाजिक सद्भावमा कुनै वैमनस्यता छैन भन्ने सन्देश देशभर पु¥याउने लक्ष्य राखेर महोत्सव गर्न लागेको बताए । उनले भने, ‘सकारात्मकभन्दा बाहिर अहिले पनि टीकापुरका नकारात्मक कुरा बढी हुने गरेका छन् । त्यसलाई चिर्न र यसक्षेत्रका सम्भावनामा साझा बहस चलाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । राष्ट्रियस्तरबाट सयौँ साहित्यकार, राजनीतिक दलका प्रतिनिधि, सामाजिक व्यक्तित्व लगायतको सहभागिता हुने भएकाले साहित्यसँगै सुदूरपश्चिमको कला, संस्कृति र सम्भावनाको खोजी हुनेछ ।’

सुदूरपश्चिम प्रदेश योजना आयोगका सदस्य डा जगतबहादुर सिंह रावलले महोत्सव गौरवको विषय भएको बताए । उनले महोत्सव साहित्यलाई जीवन्त राख्न र साहित्यकार उत्पादनलाई लाभदायक बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘सामाजिक सद्भावका लागि एक माध्यम साहित्यिक कार्यक्रम बन्न सक्छ । हाम्रो सम्बन्धमा कुनै मनमुटाव छैन भन्ने सन्देश पनि कार्यक्रमले दिनेछ ।’ डा रावलले टीकापुरप्रतिको नकारात्मक कुरा विस्थापित गर्दै सकारात्मक कुराको देशभर प्रवाह गर्ने विश्वास लिएर महोत्सव गर्न लागेको धारणा व्यक्त गरे । उनले महोत्सवले टीकापुरको सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गरे । ‘साहित्य महोत्सव टीकापुरको गौरव हुनेछ । टीकापुरले यो महोत्सवबाट अर्को महेशविक्रम जन्माउनेछ’, उनले भने, ‘महोत्सवले टीकापुर कुनै कुरामा कमी छैन भन्ने सन्देश दिनेछ । यहाँका सम्भावना र राम्रा पक्षको प्रचार गर्नुपर्छ ।’

साहित्य महोत्सवको अवसर पारेर बर्सेनि लागि हुनेगरी विभिन्न विधामा पुरस्कारको घोषणासमेत गरिने आयोजकले जनाएको छ । एक लाख राशिको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार, ७५ हजार राशिको टीकापुर साहित्य सर्वश्रेष्ठ पुरस्कार, टीकापुर साहित्य समाज सुदूरपश्चिम प्रतिभा पुरस्कार ५० हजार र टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार २५ हजारको प्रदान गरिने जनाइएको छ ।

महोत्सवलाई भव्य बनाउन स्थानीय र प्रदेश सरकारसँग सहयोग सङ्कलन भइरहेको एवं प्रचारप्रसार तीव्र पारिएको आयोजकले जनाएको छ । महोत्सव तयारीकै विषयलाई लिएर टीकापुरका पत्रकार र सरोकारवालासँग अन्तक्र्रियासमेत गरिएकोे छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले सुदूरपश्चिम प्रदेशका सबै सम्भावनालाई साकार पार्न सबै लाग्नुपर्ने बताए । उनले नेपाली भाषा र साहित्यको उर्वरभूमि सुदूरपश्चिमको दक्षिणपूर्वी क्षेत्र कर्णाली नदीको किनारमा रहेको टीकापुरमा साहित्य आयोजना लागेको बताए ।

‘महोत्सवमा हरेक दिन विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् । हरेक सत्रमा सुदूरपश्चिमको कला, साहित्य, सम्भावना, पर्यापर्यटन र वेशभूषाबारे छलफल हुनेछ’, उनले भने, ‘महोत्सवले भाषा, साहित्य, कला संस्कृति, राजनीति, दर्शन, अर्थ, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग व्यवसाय, पत्रकारिता र सामाजिक क्षेत्रका विज्ञ तथा सो कार्य क्षेत्रसँग सम्बन्धित एक सय ५० जना वक्ता, सहजकर्ता, कवि गजलकार तथा कलाकारका प्रस्तुति रहने छन् ।’ साहित्य महोत्सवमा ४० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया