होन्डुरस र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना

वेइजिङं । ताइवानका लागि ठूलो राजनीतिक झड्काका रुपमा चीन र होन्डुरसले आइतबार औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेको घोषणा गरेका छन् । ताइपेईले बेइजिङलाई आफ्ना केही सहयोगीहरुलाई पनि जबर्जस्ती र धम्की प्रयोग गरी लोभ्याएको आरोप लगाएको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् ।

टेगुसिगाल्पा (होन्डुरसको राजधानी)ले शनिबार ताइवानसँगको सम्बन्ध ताडेको घोषणा गरेपछि चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको घोषणा गरेको हो । चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले ट्विट गर्दै लेखेकी छन्, ‘चीन र होन्डुरसले हालै कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् । होन्डुरसले विश्वका १८१ देशसँग उभिने र एक चीन नीतिलाई मान्यता दिने निर्णय गरेको छ ।’


राष्ट्रपति जिओमारा क्यास्ट्रोको निर्देशनपछि विदेशमन्त्री एरिक रेइनाले कूटनीतिक सम्बन्ध समाप्त पार्नका लागि ताइवानसँग वार्ता गरेको होन्डुरसको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

विदेशमन्त्री रेइनाले बेइजिङको भ्रमण गरेको दुई दिन र राष्ट्रपति क्यास्ट्रोले सुरुमा जनगणतान्त्रिक चीन (पीआरसी)लाई मुख्य चीनको मान्यता दिने भनेको ११ दिनपछि औपचारिक रुपमा सम्बन्ध स्थापित भएको हो ।
ताइवानले आफूूलाई अलग राष्ट्रका रुपमा हेरे पनि चीनले आफ्नै छुट्टिएको प्रान्तका रुपमा हेर्ने गर्छ र एकीकरण गर्ने भन्दै आएको छ ।

चीनलाई नै मुख्य चीनको रुपमा मान्यता दिने देशहरुको संख्या १८३ पुगेको छ भने ताइवानलाई मुख्य चीनको मान्यता दिने देशहरुको संख्या करिब १२ छ ।
सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीसँग गृहयुद्ध हारेपछि कुओमिन्ताङ पार्टी रिपब्लिक अफ चाइना (आरओसी)का रुपमा ताइवानमा आएर बसेको थियो ।

प्रतिक्रिया