माङसेबुङको १२औँ गाउँसभा, अध्यक्ष र उपाध्यक्षले बाँडे ५५ लाख रुपैयाँ

इलाम । इलामको माङसेबुङ गाउँपालिकाको दोस्रो गाउँसभाको १२औँ अधिवेशन आइतबार सकिएको छ । उक्त गाउँअधिवेशनले अध्यक्ष र उपाध्यक्ष लक्षित नयाँ कार्यक्रम सुरुवात गरेको छ । संघीय सांसद र प्रदेशसभा सदस्यले झैँ आफैंले बाँडफाँड गर्नेगरी ‘अध्यक्ष विकास कार्यक्रम’ र ‘उपाध्यक्ष विकास कार्यक्रम’ सुरुवात गरेको हो ।

अध्यक्ष विकास कार्यक्रमका लागि ३० लाख र उपाध्यक्ष विकास कार्यक्रमका लागि २५ लाख रुपैयाँ विनियोजन गरेका छन् । अध्यक्ष विकास कार्यक्रमअन्तर्गत अध्यक्ष हेमन्त राईले विभिन्न ३४ वटा शीर्षकमा रकम बाँडफाँड गरेका छन् भने उपाध्यक्ष विकास कार्यक्रमअन्तर्गत उपाध्यक्ष विनोदकुमार नेम्वाङले विभिन्न १२ वटा शीर्षकमा रकम बाँडेका छन् ।

अध्यक्ष राईले जनकल्याण आधारभूत विद्यालय इभाङ– ३ मा दुई लाख, चतुरे आरोग्य केन्द्र वडा नम्बर ३ मा एक लाख, भञ्ज्याङ शालिक मर्मत वडा नम्बर ३ मा ५० हजार, दमार साकफारा सडक मर्मत वडा नम्बर ६ मा ५० हजार, शिवालय मन्दिर जोसमनी वडा नम्बर ६ मा दुई लाख, लामपाते कुलो सिँचाई मर्मत वडा नम्बर १ मा २ लाख, मन्दिर शिवालय देउराली वडा नम्बर १ मा एक लाख, इसाई समाज माङसेबुङमा ५० हजार, बदले मन्दिर शिवालयमा ५० हजार विनियोजन गरेका छन् ।

त्यस्तै प्रहरी चौकी मैदान सच्याउने वडा नम्बर १ मा ५० हजार, रेडियो नेपालवाणी एफएम इलामलाई ५० हजार, सम्साजुङ सडकमा दुई लाख, सिङलाबु इभाङ सडक वडा नम्बर २ मा एक लाख, सिंहेश्वरी आवि वडा नम्बर ६ मा ५० हजार, होमियो शिविरमा एक लाख, साकेला थान माङमालुम मर्मत वडा नम्बर ६ मा ५० हजार, गुरु सेवा कार्यक्रम फुलुङगीमा दुई लाख विनियोजन गरेका छन् ।

त्यसैगरी गोर्खा वेलफेयर खानेपानी मर्मतमा एक लाख, सागुरी खेलमैदान वडा नम्बर ४ मा दुई लाख, बाला मन्दिर वडा नम्बर ६ मा दुई लाख, राईगाँउ खानेपानी मर्मत वडा नम्बर १ मा ५० हजार, पूर्वपार्टी अनलाईन झापालाई ५० हजार, फुलुङ्गी तिर्थ मार्गमा एक लाख, रेडियो माङसेबुङ माङसेबुङलाई एक लाख, योग शिविरलाई एक लाख, भाद्रे खानेपानी मर्मत वडा नम्बर ४ मा ५० हजार, चन्द्रेश्वरी आवि वडा नम्बर ६ मा एक लाख, सेमिफुङ चलचित्रलाई ५० हजार विनियोजन गरेका छन् ।

त्यस्तै रेडियो किङ्स झापालाई ५० हजार, बालदिप आवि मर्मतमा ५० हजार, दुर्गम आवि फर्निचर खरिदमा ५० हजार, रत्न सञ्चार बचत समूहलाई ५० हजार, नावलुङ नेपालगाउँ सडकमा र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि (नयाँ बुलन्द अनलाइन) माङसेबुङलाई ५० हजार विनियोजन गरेका छन् ।

उता उपाध्यक्ष नेम्वाङले गुरू निजि आश्रम स्वच्छ खानेपानी व्यवस्थापन माङसेबुङ ५ मा पाँच लाख २५ हजार, किरात युमा चोक्तलुङ पार्क (कोक्मा पाङ्गे) माङसेबुङ १ मा तिन लाख ५० हजार, सुतारगाउँ साठी हुँदै सिम्ले कृषि सडक माङसेबुङ १ मा दुई लाख, डाँडागाँउ रिङरोड बरभञ्ज्याङदेखि विक्रम निवाससम्म माङसेबुङ १ मा दुई लाख, जागृति चर्च भवन निर्माण माङसेबुङ ३ लाई दुई लाख ५० हजार विनियोजन गरेका छन् ।

त्यस्तै उखु खेती विस्तार वडा नम्बर ४ मा ५५ हजार, जयश्वरी आवि माङसेबुङ (फोटोकपी, प्रिन्टर) मा पाँच लाख, माङमालुङ दहगाउँ खाम्नुवा सडक माङसेबुङ २ मा तिन लाख, जनताकल्याण आवि माङसेबुङ २ मा एक लाख, महेन्द्रोय मावि माङसेबुङ १ मा एक लाख ५० हजार, निभारे खोल्सी कुलो मर्मत माङसेबुङ ४ मा एक लाख २० हजार र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश समितिमा एक लाख विनियोजन गरेका छन् ।

गाउँपालिका राईको अध्यक्षतामा भएको गाउँअधिवेशनले विभिन्न योजनाहरु संशोधन, आर्थिक वर्ष २०७८–०७९ को बेरुजु नियमित गर्ने, न्यायिक समितिको प्रतिवेदन पारित, प्रदेश सरकारसँग योजना माग गर्ने निर्णय गरेको छ ।गाउँअधिवेशनले चालू आर्थिक वर्षको स्वीकृत बजेटको ‘समपूरक कोष’ शीर्षकमा खर्च हुन बाँकी रहेको ५० लाख बाँडफाँड गरेको छ ।

सो कोषबाट अध्यक्ष विकास कार्यक्रममा १० लाख, चिसोपानी पञ्चमी कभर्ड हल निर्माणमा ३० लाख, फर्निचर फिक्चर्स खरिदमा सात लाख, कृषि विकास शाखा, पशुसेवा शाखा, स्वास्थ्य शाखा, प्रधानमन्त्री रोजगार सेवा केन्द्रमर्मतमा ३ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी चालू आर्थिक वर्षको स्वीकृत बजेटको ‘अन्य फिर्ता’ शीर्षकमा खर्च हुन बाँकी रहेको ४० लाख ७५ हजार बाँडफाँड गरेको छ ।

सो शीर्षकबाट उपाध्यक्ष विकास कार्यक्रममा २५ लाख, इभाङ प्रहरी चौकी निर्माणमा चार लाख, सशस्त्र प्रहरी बेस क्याम्प भवन निर्माणमा तिन लाख ७५ हजार, दर्शनशाला भवन निर्माणमा तिन लाख र इलेक्ट्रोनिक् सामान खरिदमा पाँच लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै गाउँअधिवेशनले अघिल्लो ११औँ गाउँसभाबाट स्वीकृत करिब ८० लाख रुपैयाँ बराबरको विभिन्न योजनाहरु संसोधन गरेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहालने जानकारी दिए । गाउँअधिवेशनले यसअघि दुई जना सामाजिक परिचालक, एक जना अमिन, एक जना ल्याब असिस्टेण्ड र एक जना भाषिक कर्मचारीको तलबभत्तावापत १६ लाख ४६ हजार सात सय ९० रुपैयाँ नियमित गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्राविधिक कर्मचारीलाई विना कार्यविधि फिल्ड भत्ता दिएकोमा हाल बनेको कार्यविधिअनुसार गर्ने निर्णय गरेको छ । अघिल्लो वर्ष प्राविधिक कर्मचारीको फिल्ड भत्ता वापत चार लाख ३२ हजार तिन सय ४९ रुपैयाँ बेरुजू आएको थियो ।

त्यस्तै अघिल्लो वर्ष गाउँपालिका अध्यक्ष वा उपाध्यक्षको नीजि सचिवले लिएको एक लाख ८० हजार रुपैयाँ बेरुजू नियमित गर्ने निर्णय गरेको छ । गाउँअधिवेशनले गतवर्ष खरिद भएपनि वितरण नभएको विद्युतीय चुल्हो वितरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया