देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यकता छः गृहसचिव सिंह

काठमाडाैं । गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक रहेको बताएका छन् ।

आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दज्र्यानी चिह्न प्रदान गर्दै सचिव सिंहले अनुशासित, स्वच्छ र व्यवसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने बताएका हुन् ।

उनले समाजमा प्राविधिक गतिविधिहरूमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको बताए । सचिव सिंहले अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरूलाई शून्य सहनशीलतामा लैजानुपर्ने बताए ।

उनले प्रहरी प्रशासनले सबैले देख्नेगरी सुधारको आवश्यकता रहेको बताए । सचिव सिंहले प्रहरी प्रशासनमा अझै पनि पूर्ण रुपमा सुधार नदेखिएको बताए । उनले प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्ने बताए ।

प्रतिक्रिया