‘जारी’ को निर्देशक सुब्बा

काठमाडौं । लेखकको परिचय बनाएका उपेन्द्र सुब्बा निर्देशक बन्ने भएका छन् । नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’ मा राम्रो कमाइ गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक सुब्बाले चलचित्र निर्देशन गर्न लागेका हुन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कविसमेत रहेका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’ को ‘ट्रेलर’ सार्वजनिक गर्दै योजनागत रूपमा निर्देशक नबनेको सुनाए । उनले भने, ‘म राम्रो निर्देशक बन्छु भन्ने सोचले आएको होइन । राम्रो र फरक कथा भन्छु भन्ने योजनाअनुरूप आएको हुँ ।’ उनले परिस्थिति वश आफू निर्देशक बनेको बताए । निर्देशक सुब्बाले भने, ‘नयाँ पुस्तासम्म यो कथा ल्याउनुपर्छ भनेर चलचित्र नै तयार गरेको हुँ ।’ उनले लिम्बू समुदायमा रहेको जारी प्रथाको कथावस्तुमार्फत वैवाहिक सम्बन्ध, महिला स्वतन्त्रता र दाम्पत्य जीवनको आयामलाई चित्रण गर्ने चलचित्रमा एकअर्कालाई बुझेर अगाडि बढ्नुपर्ने सन्देश रहेको जानकारी दिए ।

अभिनेता दयाहाङ राईले मन परेको कथामा भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘यसले श्रीमान्सँगै श्रीमतीको स्वतन्त्रतालाई समेटेको छ । जीवनसाथी छनोट गर्ने महिलाको अधिकारलाई पनि हामीले यहाँ देखाएका छौँ ।’ सोही मितिमा आफू अभिनित अर्को चलचित्र ‘बिहे पास’ समेत प्रदर्शन हुनुलाई उनले सहजरूपमै लिन आग्रह गरे । उनले भनने, ‘सायद कोरोनापछि तयार भएका चलचित्रलाई दर्शकसम्म पु¥याउन सबैले राम्रो समय हेर्नुभएको हुन् सक्छ । म यहीँ समयमा छायाङ्कनमा समेत हुन्छु । यद्यपि यो सब प्रक्रिया नै हो ।’ अभिनेत्री मिरुना मगरले आफ्नी आमा लिम्बू भएकाले लिम्बू समुदायप्रति लगाव रहेको बताइन् । उनले भनिन्, ‘मैले सानैदेखि देख्दै आएको कुराहरू नै चलचित्रमा गरे । यद्यपि यसलाई कुनै एकभन्दा पनि सबैले महसुस गर्नुहुनेछ । किनकि यो हाम्रै समाजको कथा हो ।’ चलचित्रलाई ‘कबड्डी ४’ का निर्देशक रामबाबु गुरुङले निर्माण गरेका हुन् । उनले राम्रो कथालाई दर्शकसम्म पु¥याउन आफू र आफ्नो टिमले निर्माणमा सहकार्य गरिरहेको बताए । चलचित्र ‘जारी’ आउँदो वैशाख १ मा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया