नेपाली कला परम्परा

देवेन्द्र थुम्केली

यसरी नेपाली कलाको मौलिकता र सांस्कृतिक महत्वलाई उजागर गर्दै जीवन्त बनाउन कलाकारको योगदान विशिष्ट रहँदै आएको छ । यसले नेपालको सांस्कृतिक, धार्मिक, सामाजिक तथा राजनैतिक परिवेशलाई जीवन्त बनाउँदै मानिसलाई सिर्जनशील बन्न अभिप्रेरित गरेको छ

विषय प्रवेश

मानवजातिको उत्कृष्ट सिर्जनात्मक अभिव्यक्तिको रुपमा कलालाई चिन्ने गरिन्छ । कला हृदयको स्पन्दन र ढुकढुकीको अन्तरसंवाद हो । यो भावनाको गतिशील र लयात्मक उद्वेग पनि हो ।

संस्कृति मानवीय गतिविधिको समुच्य रुप पनि हो । यसको मुख्य आधार भनेकै कला हो । संस्कृति मानव जीवनको अभिन्न पक्षका रुपमा विकसित हुँदै आइरहेको छ । इतिहास र सभ्यताको विशिष्टीकरण पनि कलाकै माध्यमबाट हुने भएकाले सु–संस्कृत र सभ्य समाज निर्माणका लागि यसको महत्व अझै बढेर गएको छ । अहिलेसम्म विश्वमा जति पनि सभ्यताको विकास भएका छन् त्यसको प्रमुख आधार कला नै हो । आदिमयुगदेखि नै विकास भएको र त्यसको निरन्तरता अझ विकसित र समृद्ध रुपमा आजसम्म पनि विश्वमा भइरहेको छ । नेपालमा पनि परापूर्वकालदेखि नै कला र सभ्यताको विकास हुँदै आएको पाइन्छ ।

कला इतिहास

आदिम युगमा मानवले सुरु गरेको कलात्मक सोचले चेतना विकासमा विशिष्ट योगदान दिन सक्यो । जङ्गलमा फिरन्ते रुपमा डुलिहिँड्ने मानवले गुफामा बनाएका कला र तिनमा प्रयुक्त विषय अहिले पनि सबैका लागि अध्ययनका विषय बनेका छन् । कला विकासको सुरुआती आधार पाषाणयुगलाई लिनुपर्दछ । उनीहरूले गुफाका भित्तामा बनाएका सिकारसम्बन्धी चित्रको सोच र प्रस्तुति अद्भूत र अद्वितीय छन् । जसबाट त्यसबेलाको परिवेश र मानव जीवनको अध्ययन गर्न सहज भएको छ ।

ती चित्रमा धेरैजसो जङ्गली जनावर र तिनलाई घेरेर ढुङ्गे हतियार, भाला तथा रुखका हाँगाबिगाले मार हानिरहेको दृश्य देखिन्छ । चित्रका मूल विषय पनि जङ्गली जनावर नै रहेका छन् । विकासक्रमसँगै मानिस खेतीपाती र पशुपालनको चरणमा प्रवेश ग¥यो, त्यसबेला पनि कलाप्रतिको अवधारणामा झनै विकसित सोचको विकास भयो नयाँ रूप देखिन थाल्यो । यससँगै मानवले गरेको प्रगतिले सभ्यता र संस्कृति निर्माणमा महत्वपूर्ण सघाउ पुग्यो । मिश्र सभ्यतासम्म आइपुग्दा मानिसले कलालाई जीवन–सङ्घर्षको अवयवका रुपमा लिएको पाइन्छ । मिश्र सभ्यता, मेसोपोटामिया, बेबिलोन, सुमेर, सिन्धुघाँटी, चिनियाँ, ग्रीक, रोमन, भारतीय, नेपाली तथा विश्वको अन्य विभिन्न स्थानमा विकास भएका सभ्यताको मुख्य जगाधार नै कला रहेको छ ।

सभ्यता निर्माणसँगै मानिसमा नयाँ–नयाँ सोचको विकास हुँदै गयो । यसले मानवजाति र समाजको विकास प्रक्रियालाई समृद्ध बनाउन महत्वपूर्ण आधार निर्माण ग¥यो । विश्वमा विकास भएका सभ्यतालाई भिन्न र पहिचानयुक्त बनाउने पक्ष नै कला रहन गयो । जसका कारण ती सभ्यताले नयाँ उचाइ लिन सफल रहे । सभ्यताको विकाससँगै मौलिक दर्शन र संस्कारको पनि विकास हुँदै आयो । जस्तो मिश्रमा मृत्युपछिको जीवनको अवधारण होस् या ग्रीक सभ्यतामा विज्ञान र सत्यता माथिको खोज यी सोचसम्म पु¥याउन मानिसलाई कलाले जहिल्यै उत्प्रेरित गरिरह्यो । जसले समाजमा नयाँ खोज, सोच र विकासको अवधारणालाई सधैं अगाडि बढाउन मानिसलाई अभिप्रेरित गरिरह्यो ।

नेपाली कला इतिहास

नेपालमा कलाको विकास कहिलेदेखि सुरु भयो त्यसको यकिन प्रमाण नपाइए पनि करिब तीन हजार वर्ष अघिदेखि यसको जगाधार निर्माण भएको पाइन्छ । पुरातात्विक खोज अनुसन्धानले बुद्धकालभन्दा दुईसय वर्षअघिको नेपालको कला र संस्कृतिको आधारलाई सङ्केत गरेको छ । कपिलवस्तुको तिलौराकोट, मुस्ताङ, काठमाडौं उपत्यका तथा नेपालका अन्य स्थानमा कला र संस्कृतिको विकास ईसापूर्वअघिदेखि भएको पाइन्छ ।

कतिपय विभिन्न विद्वानले नेपालमा मानवजाति दुईदेखि अढाई लाख वर्ष अघिदेखि बसेको जिकिर गरेका छन् । दाङ उपत्यकामा पाइएका पाषाण तथा नवपाषाण युगीन हतियार भेटिनु तथा बुटवलस्थित तिनाउ नदी किनारामा रामापिथेकस (नरबाँदर) को बंगारा पाइनुले यसलाई बल मिलेको छ । त्यस्तै, नेपालका काठमाडौं उपत्यका, दाङ, कपिलवस्तु, नवलपरासी, झापा, मोरङ, सुनसरी लगायतका थुप्रै ठाउँमा भेटिएका पुरातात्विक सामग्री प्राप्त भएका छन् ।
शासकीय दृष्टिले नेपालमा गोपालवंश, महिषपाल, किराँत, लिच्छवी, मल्ल, शाह, राणा÷शाह आदिले राजकाज चलाएको इतिहास छ । पुरातात्विक दृष्टिले नेपालमा किराँतकालमा बनाइएका कलाकृति प्राप्त भएका छन् ।

यस्तै लिच्छवीकालमा त नेपाली कलाको विकास (खासगरी काठमाडौं उपत्यकामा व्यापक भएको देखिन्छ) भएको मानिन्छ । यस काललाई स्वर्ण युगका रुपमा समेत चित्रित गरिन्छ । यतिवेला चित्र, मूर्ति, वास्तुकलाको विकास र विस्तार अधिक भएको थियो । लिच्छवीकालीन सांस्कृतिक वैभवले नेपाली कलालाई मौलिक ढङ्गले स्थापित गरेको पाइन्छ ।

यससँगै नेपाली कलामा नयाँ ज्ञान, सीप र दक्षतालाई अझ परिमार्जित र विकसित रुपमा अगाडि बढाएको देखिन्छ ।

नेपालको कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा आठौं र नवौं शताब्दीमा खस राज्यको स्थापना भयो । यस क्षेत्रमा विकास भएको सांस्कृतिक वैभवले कलाको क्षेत्रमा गहिरो प्रभाव पा¥यो । साथै त्यसले सामाजिक तथा सांस्कृतिक जीवनमा पारेको प्रभावले खस सभ्यताकै मान्यता पाउन सकेको छ । यसैगरी नेपालकै सिम्रौनगढमा एघारौं शताब्दीमा कर्णाटक शासनकालमा विकास भएको कलाले काठमाडौं उपत्यकामा समेत प्रभाव पारेको पाइन्छ । हुनत् काठमाडौं उपत्यका र सिम्रौनगढको धार्मिक तथा सांस्कृतिक मान्यता मिलेकैले एकअर्काको प्रभाव पर्नु स्वभाविक नै हो । मुस्लिम शासक समसुद्दिनले १३औं शताब्दीमा काठमाडौं उपत्यका लगायतका स्थानमा गरेको आक्रमणले नेपाली कलामा निकै ठूलो क्षति पुग्यो ।

मल्लकालमा नेपाली कलाको विकासले निरन्तरता पाउँदै गयो । यसवेला चित्र, मूर्ति, वास्तु एवम् अन्य भौतिक तथा अभौतिक सम्पदाको विकास भएको पाइन्छ । अझ मल्ल शासनकालमा काठमाडौं उपत्यकाका तीन राज्यमा विभाजित हुनपुग्यो । यिनीहरूबीच कलाकै लागि प्रतिस्पर्धा भएको देखिन्छ । नेपालको कला इतिहासमा हामीले काठमाडौं उपत्यकामा विकास भएको सभ्यताको पाठ्यक्रम तथा सरकारका औपचारिक संरचनाबाट पढ्दै र सुन्दै आएका छौं । खासगरी काठमाडौं उपत्यकाभन्दा बाहिर विकसित भएका कला र सभ्यताको गहन अध्ययन तथा खोजमा विश्वविद्यालय तथा प्रज्ञा–प्रतिष्ठानले अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

नेपालमा प्राचीनकालदेखि हिन्दु तथा बौद्ध धर्ममा आधारित कलाको विकास भएको छ । चित्र, मूर्ति तथा वास्तुकलाको अन्तरसम्बन्ध पनि यिनै धर्मसँग अधिक रहेको पाइन्छ । लिच्छवि तथा मल्ल कालमा मठ–मन्दिर, चैत्य, बिहार, देवल तथा विभिन्न सांस्कृतिक जात्रा तथा पर्वहरूको सुरुवात् विकास भयो । मुस्ताङ, डोल्पा लगायतका उत्तरी क्षेत्रमा बनेका कतिपय गुफा, गुम्बा तथा धार्मिक संरचनामा बौद्ध तथा त्यसक्षेत्रको धर्म–संस्कृतिसँग सम्बन्धित कलाकृति बनेको पाइन्छ ।

यस्तै, मुस्ताङका मानव निर्मित गुफामा बनेका कला तथा अन्य सामग्रीको उपलब्धताले अध्ययनको दायरालाई अझ फराकिलो बनाएको छ । जसले नेपाली कलाको उत्थान तथा विकासमा भूगोल, वातावरण तथा सामाजिक जीवन, धर्म, लगायतका विविध मानवीय गतिविधिले प्रभाव पारकेो देखिन्छ । जसले विविधताको आधार निर्माण समेत गर्न सहयोग पुर्यायो ।

नेपालमा विकास भएका कलाका विविध आयामको सुरक्षा भने भएको पाइँदैन । काठमाडौं उपत्यकामा चित्रकला, मूर्तिकला, वास्तुकला तथा संस्कृतिका अन्य विभिन्न आयामको विकाससँगै तिनको राज्य तथा नागरिक स्तरबाट संरक्षण, प्रवद्र्धन तथा विकास हुँदै अगाडि बढेको देखिन्छ । तर अन्य क्षेत्रमा भौगोलिक अवस्था, संरक्षणको दिगो योजना नहुँदा तथा वातावरणीय प्रभावका कारण पुराना चीजको संरक्षण हुन कठिन भयो । यो सीपको रुपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित भए पनि भौतिक रुपमा भने निकै कम सुरक्षित रहेको पाइन्छ । तैपनि विभिन्न स्थानमा आदिवासी, जनजाति तथा अन्य समुदायले आफ्नो सांस्कृतिक वैभवका रुपमा कलाको विकास मौलिक रुपमा गर्दै र संरक्षित गर्दै आए ।

जुन आज हामीले मौलिक संस्कृतिका रुपमा चिन्ने गर्दछौं । नेपालमा मूर्ति तथा वास्तुकलाका प्रमाण किराँतकालदेखि कै रहेको पाए पनि चित्रकला भने १० औँ शताब्दीपछि बनेका मात्रै प्राप्त भएका छन् । तैपनि यिनले चित्रकलाको विकास र यसको शैलीका बारेमा बुझ्न मद्दत गरेको छ । मूर्ति तथा वास्तुकला बनाउनुअघि चित्रको आवश्यकता पर्ने भएकाले यसको विकास पनि प्राचीनकालदेखि नै भएको हो । माध्यम र सतह (चित्रपट) का कारण यसको दिगोपन हुन नसकेको हो । यहीकारण पुराना चित्र निकै कम भेटिएका हुन् । नेपालको कलालाई हेर्दा यसको ऐतिहासिकता किराँत, लिच्छवि, मल्ल, शाह, राणा हुँदै पछिल्लो चरणसम्म आइपुग्दा निकै फड्को मार्न सकेको हो । साथै आन्तरिक तथा बाह्य प्रभावले नेपालमा परम्परित कलामा उतारचढाव आएको पाइन्छ ।

नेपाली कलामा आन्तरिक रुपमा हिन्दू, बौद्ध तथा शाक्त परम्पराको एकअर्कामा प्रभाव परेको देखिन्छ । हुनत यिनकै जगमा कलाको विकास भएको छ । काठमाडौं उपत्यका तथा यसको वरिपरीका क्षेत्र र हिमाली क्षेत्रमा पौभा÷थाङ्काको व्यापक प्रभाव थियो । हिमाली तथा महाभारत क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मालम्बीले बनाउने थाङ्का चित्र तथा काठमाडौं उपत्यकामा विकास भएको पौभाकला तथा नेवार कलाले नेपालको सांस्कृतिक वैभव र परम्परालाई चिनाउन सक्यो र त्यसको प्रभाव पनि एकअर्कामा पर्यो ।

त्यस्तै, विभिन्न जातजाति तथा समुदायको प्रभाव समेत कलामा पर्यो । खासगरी भारतमा विकास भएका मौर्य, शुंग÷सातवाहन, कुषाण (गान्धार तथा मथुरा), गुप्त, मुगल, पाल/सेन, पहाडी, वशोली, राजस्थानी लगायतका कला शैलीको प्रभाव समेत परेको देखिन्छ ।

काठमाडौं उपत्यकामा ११औँ शताब्दीदेखि विकास भएको परम्परागत नेपाली चित्रकला (पौभा) १५–१६औं शताब्दीसम्म आइपुग्दा चरम विकास भएको कतिपय विद्वानले मानेका छन् । यसलाई नेवारी शैलीका रुपमा हामीले चिन्छौं । यस समयको बीचमा नेपालबाट तिब्बत तथा चीनमा नेपाली कलाकार गएको पाइन्छ । जस्तो अरनिकोको टोली तिब्बत हुँदै चीन पुगेर नेपाली कलाको प्रचार गरेको इतिहास छ ।

परम्परागत कलाको आधार भनेकै प्रतिमाशास्त्रमा आधारित रहेर कला बनाउनु हो । यो परम्परा प्राचीनकालबाट चलिआएको छ । फेरी नेपालमा १७औं शताब्दीमा तिब्बत तथा चिनियाँ प्रभाव पर्न थाल्यो । त्यसैगरी १८–१९औँ शताब्दीपछि तिब्बतमा विकसित भएको परम्परागत कलाको प्रभाव नेपालका हिमाली, महाभारत तथा पर्वतीय क्षेत्र तथा काठमाडौं उपत्यकामा समेत प¥यो ।
यस्तै, नेपालमा परम्परागत कला, लोककला, हस्तकला, आधुनिक÷समसामयिक लगायतका कला चलनचल्तीमा छन् । अझ पछिल्लो समय चित्र, मूर्ति, प्रतिस्थापन कला, पर्फमेन्स आर्ट, भिडियो आर्ट, फोटोग्राफी तथा न्यु मिडिया आर्ट लगायतका सिर्जनात्मक विधाका कलाको विकास भइरहेको छ ।

नेपालमा चलनचल्तीमा रहेका कला

नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक हो । सामाजिक, सांस्कृतिक तथा भौगोलिक अवस्थाले यहाँको कला र संस्कृतिमा विशिष्ट प्रभाव पार्दै आएको छ । नेपालमा प्राचीनकालदेखि नै चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला एवम् प्रदर्शनीकारी कलाको भूमिका अह्म रहँदै आएको छ । नेपालमा कलाको विकास राजकीय, परम्परागत तथा लोक, हस्तकला र आधुनिक एवम् समसामयिक कला गरी पाँच किसिमले भएको छ ।
राजकीय कलामा राज्यद्वारा प्रवद्र्धित कला पर्दछ । यसमा राजामहाराजाको वीरता, उनका चित्र, मूर्ति तथा स्मृति, विजयोत्सव आदिको सन्दर्भ पारेर बनाइएका कला पर्दछन् । हुनत् यसमा धार्मिक कला पनि पर्दछन् तर यिनमा जनताको मनोभाव र संस्कृति पनि जोडिने भएकाले राज्य तथा नागरिकको सहभागिता रहन्छ ।

लामो कालखण्डमा नेपालमा परम्परागत कला (पौभा, थाङ्का तथा मूर्ति) विकास भएको पाइन्छ । यी कलाका आधार धर्म र संस्कृति हुन । नेपालमा हिन्दु तथा बौद्ध धर्ममा आधारित रहेर शास्त्रीय ढङ्गले थाङ्का÷पौभा कला बनाएको पाइन्छ । जसलाई हामीले परम्परागत कला भनेर चिन्दछौ ।


जनस्तरमा विकास भएको कलाको रुपमा हामीले लोककलालाई लिने गर्दछौं । एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्रित हुँदै आएको लोककला लोक अर्थात् जनताका सामाजिक, सांस्कृतिक, धार्मिक विषयको प्रधानता बढी हुन्छ । नेपालमा लोककलाका रुपमा परापूर्वकालदेखि मिथिला, थारु, अवधि, पर्वते, खाम, नेवारी, तामाङ, किराँत, राजवंशी, दनुवार, सन्थाल लगायतका विभिन्न आदिवासी जनजातिका कला विकास भएको पाइन्छ ।

हस्तकला दैनिक जीवन निर्वाह र आवश्यकतामा आधारित रहेर बनाइन्छ । काठ, माटो, ढुङ्गा तथा भौगोलिक र पर्यावरणीय दृष्टिले प्राप्त प्राकृतिक सामग्रीबाट हस्तकला बनाइन्छ । जस्तो जाँतो, ढिकी, गुन्द्री, डोको, हसियाँ, बञ्चरो, ढकिया, सिलौटो, हाँडी, गमला, हलो, मादल, कोल आदि उदाहरणका रुपमा लिन सक्छौं । यस्तै, आधुनिक काल सुरु भएपछि विकास भएको पश्चिमी प्रभावी कलाको पछिल्लो समय बढ्ता प्रभाव छ । अन्तर्राष्ट्रिय रुपमा विकास भएका यस्ता कलामा नेपालका सांस्कृतिक, सामाजिक, धार्मिक तथा समसामयिक विषयवस्तु अधिक रहेको पाइन्छ ।

यसरी नेपालमा ललितकलाको विभिन्न हाँगाको विकास चरणबद्ध रुपमा हुँदै आएको छ । यिनै कलाको जगमा नेपालको मौलिकताको समेत विकास भएको छ । जसले संस्कृतिको विकाससँगै नेपाली इतिहास र पहिचानलाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न सकेको छ ।

कलाको सामाजिक प्रभाव

समाजलाई सांस्कृतिक रुपमा एकैठाउँमा बाँधी राख्न कलाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जनता जनताबीच आशा र भरोसा दिलाउँदै उनीहरूको भावनालाई जोड्दै समृद्धताको उचाइमा जान समेत कलाले एकीकृत रुपमा काम गरेको छ । समृद्ध समाज र राष्ट्रको मुख्य आधारको रुपमा पहिचान स्थापित गरेको छ । यस्तै, सामाजिक तथा सांस्कृतिक एकतासँगै आर्थिक उपार्जन र रोजगारी सिर्जनामा समेत कलाको भूमिका अहम् रहँदै आएको छ । नेपालमा हजारौँ जनताले परम्परा कला (थाङ्का, पौभा, मूर्ति) मार्फत आफ्नो जीवन चलाइरहेका छन् । साथै पर्यटकका लागि समेत नेपाली कला रुचि र आकर्षक विषय भएकाले वर्षेनी करोडौँ रुपैयाँ भित्रिरहेको छ । यसले नेपालको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदन दिन सकेको छ ।

कतिपय विज्ञ र सरोकारीले परम्परागत कला क्षेत्रमा २० देखि २५ हजारको हाराहारीमा आबद्ध रहेको जनाएका छन् । उनीहरूका अनुसार जसले बनाएका कलाको व्यापारबाट नेपालमा वर्षेनी अनुमानित १२ अरबभन्दा बढीका कलाजन्य सामग्रीको निर्यात भइरहेको छ ।

निष्कर्ष

नेपाल कलाको विविधता रहेको एक समृद्ध मुलुक हो । यहाँ विकास भएका कलाको चर्चा र प्रशंसा नेपालमा मात्रै नभएर संसारभरी भएको पाइन्छ । आर्थिक उपार्जनसागै संस्कृति प्रवद्र्धनमा समेत कलाले भूमिका खेल्दै आएको छ । यसरी नेपालमा विकसित परम्परागत कला, लोककला, हस्तकला तथा आधुनिक एवम् समसामयिक कला संस्कृतिका मूल आधार हुन् । नेपालको सांस्कृतिक वैभवता र पहिचानलाई यिनले स्थापित गर्दै राष्ट्रलाई जोड्ने काम गरिरहेका छन् ।

नेपालमा पर्यटन आगमन सुरु भइपछि (२०२० सालको दशकपछि) परम्परागत कलाले व्यावसायिक रूपमा लिँदै गयो । विस्तारै यसको बजारको आयाम फराकिलो बन्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्यो ।

यसरी नेपाली कलाको मौलिकता र सांस्कृतिक महत्वलाई उजागर गर्दै जीवन्त बनाउन कलाकारको योगदान विशिष्ट रहँदै आएको छ । यसले नेपालको सांस्कृतिक, धार्मिक, सामाजिक तथा राजनैतिक परिवेशलाई जीवन्त बनाउँदै मानिसलाई सिर्जनशील बन्न अभिप्रेरित गरेको छ ।

प्रतिक्रिया