नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा बढ्दै

सन्दर्भ : स्ववियु निर्वाचन

विन्दुकान्त घिमिरे

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको हकहितका लागि हरेक क्याम्पसमा वैधानिक संगठन हुन्छ । जसलाई स्वतन्त्र विद्यार्थी युनियन अर्थात छोटकरीमा स्ववियु भन्ने गरिन्छ । विद्यार्थीहरूले निर्वाचनमार्फत आफ्ना प्रतिनिधिहरू छनौट गर्छन् । त्यसैले स्ववियुको निर्वाचनलाई राजनीतिको प्रशिक्षण स्थल मानिएको छ । स्ववियु निर्वाचनमार्फत विद्यार्थीहरूले राजनीतिको मर्म बुझ्छन्, नेतृत्व क्षमता विकास गर्छन् भन्ने मान्यता रहिआएको छ ।

नेपालमा उच्च शिक्षाको इतिहास ज्यादै छोटो छ । तर विद्यार्थी राजनीतिको इतिहास भने ज्यादै गौरवपूर्ण छ । विद्यार्थी राजनीतिको माध्यमबाटै नेपालमा अग्रगामी परिवर्तन भएको हो । २००४ सालमा ‘जयतु संस्कृतम’को नारासहित विद्यार्थीहरूले आन्दोलन सुरु गरेपछि राणाशासनविरुद्ध माहौल तयार भएको हो । नेपालमा राजनीतिकदलहरू स्थापना गरेको पनि विद्यार्थीहरूले नै हो ।


अत्यन्त गौरवशाली इतिहास बोकेका कारण विद्यार्थी राजनीतिप्रति एउटा वर्गाको अहिले पनि उत्तिकै आकर्षण छ । तर विद्यार्थी राजनीति हिजोको जस्तो पवित्र छैन । हिजो विद्यार्थी राजनीतिमा विचार र सिद्धान्तको मन्थन हुन्थ्यो । विद्यार्थी राजनीति गर्नेहरूले विचार र सिद्धान्तका ठेलीहरूको अध्यायन गर्थे । जसले राम्रो विचार प्रवाह गर्न सक्छ उसैलाई नेताका रूपमा अघि सारिन्थ्यो । तर पछिल्ला दिनमा विद्यार्थी राजनीति ज्यादै नै ठूलो विकृतितर्फ उन्मुख भएको छ । विद्यार्थी राजनीतिमा विचार र सिद्धान्त होइन बाहुबल हावी हुन थालेको छ ।


लड्न भिड्न तथा भौतिक आक्रमण गर्न जो जो माहिर छन् उनीहरूको कब्जामा स्ववियु पुग्ने दुश्चक्र सुरु भएको छ । यो दुस्चक्रले उग्र रूप लिन थालेको ०४६ सालको परिवर्तनपछि हो । यतिबेलासम्म आइपुग्दा त स्ववियु निर्वाचन हो या ? निर्माण व्यवसायीले ठेक्का हात पार्न तैनाथ गर्ने लडाकु दस्ताको छनौट हो ? भन्ने भेउ नै पाउन नसकिने अवस्था बनेको छ ।
यतिबेला हुन गइरहेको निर्वाचनको माहौल हेर्दा स्ववियु नाम गरेको संस्थाको औचित्य करिबकरिब समाप्त भइसकेको छ । स्ववियुको नेतृत्व हत्याउनका लागि एउटा संगठन र अर्को संगठनबीच हतियार बोकेर लड्ने कुरा सामान्य बनेको छ । एउटै संगठनभित्र पनि विभिन्न गुट वा उपगुटबीच खुकुरी हानाहानका घटनाका फोटो तथा भिडियोहरूले सामाजिक संजाल रंगिएको छ ।

नेपालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई राजनीतिक दलहरूको हैसियत मापनको मिनि जनमत संग्रहका रूपमा लिने गरिन्छ । लामो अन्तरालपछि त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । स्ववियु निर्वाचनमा कति प्रतिशत मत खस्यो ? कुन कुन पार्टीका भ्रातृ संगठनहरूले कुन कुन क्याम्पसमा चुनाव जिते ? कुन कुन क्याम्पसमा निर्वाचन बिथोलियो ? भन्ने विषयमा विभिन्न कोणबाट आइरहेका छन् ।

कुन कुन क्याम्पसमा कुन कुन पार्टी निकट विद्यार्थी संगठनहरूले चुनाव जिते ? भन्ने कुराको महत्व आफ्ना ठाउँमा होला, त्यो भन्दा बढी महत्व निर्वाचनमा कति प्रतिशत विद्यार्थीहरूको सहभागिता रह्यो ? भन्ने प्रश्नका उत्तरले राख्छ । यो प्रश्नको उत्तर विश्लेषण गर्दा यसपटकको स्ववियु निर्वाचनले अब यथास्थितिवादी ढर्राबाट मुलुकको राजनीति अघि बढ्न सक्दैन भन्ने सन्देश दिएको छ । पहिलो कुरा त स्ववियु निर्वाचनमा जम्मा ५५ प्रतिशत मत खसेको छ । त्यसमा पनि सहरी क्षेत्रका ठूला क्याम्पसहरूमा ३० देखि ३५ प्रतिशत हाराहारीमा मात्रै मतदान भएको छ । विद्यार्थीहरू मतहाल्न किन गएनन् ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ ।

हुन त स्थानीय तथा आमनिर्वाचनमा पनि ६० देखि ६५ प्रतिशत हाराहारीमा मत खसेको अवस्थामा स्ववियु निर्वाचनमा ५५ प्रतिशत मत खस्नुलाई आश्चर्यजनक रूपमा लिनु नपर्ने धारणा राख्नेहरू पनि छन् । तर स्थानीय तथा आमनिर्वाचनमा उल्लेख्य मतदाताहरू देश बाहिर हुन्छन् । स्वदेश भित्रैका पनि निर्वाचनमा खटिने लाखौँ कर्मचारीहरूले भोट हाल्न पाउँदैनन् । बुढाबूढी, असक्त तथा बिरामीहरूले पनि मत हाल्न पाउँदैनन् । तर, स्ववियु निर्वाचनका मतदाता भनेको सोही शैक्षिक सत्रमा भर्ना भएका नियमित अध्ययन गर्ने विद्यार्थीहरू हुन् । १५ दिनअघि भएका परीक्षामा ९८ प्रतिशत विद्यार्थी सामेल हुने तर परीक्षाको १५ दिनपछि भएको स्ववियु निर्वाचनमा ५५ प्रतिशत मात्रै विद्यार्थीले भाग लिने अवस्था भनेको यथास्थितिको राजनीतिप्रति बढ्दो वितृष्णाबाहेक केही पनि होइन ।

यसैगरी भरखर सम्पन्न स्ववियुको निर्वाचनमा वामपन्थी विद्यार्थी संगठनको बाहुल्यता भएका क्याम्पसहरूमा तुलनात्मक रूपमा धेरै भोट खसेको छ । नेपाली कांग्रेस निकट नेविसंघले चुनाव जित्दै आएका क्याम्पसहरूमा निकै नै कम मात्रामा मतदान भएको छ । गैर बामपन्थी रुझान भएका विद्यार्थीहरूले यसपटक स्ववियु निर्वाचनमा भाग लिन आवश्यक ठानेको देखिएन । समग्रमा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले धेरैजसो क्याम्पसमा बाजी मारेको छ । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी लगायतका संगठनहरू गठबन्धन बनाएर चुनावमा होमिँदासमेत अधिकांश क्याम्पसमा एमाले अखिलले चुनाव जित्नुको अर्थ के हो ? यसले के सन्देश दिएको छ ? कांग्रेस निकट नेविसंघका विद्यार्थीहरू मतदान गर्न नगएका हुन् कि ? नयाँ पुस्ताबीच नेपाली कांग्रेसले आफ्नो सान्दर्भीकता गुमाउँदै गएको हो ? भन्ने प्रश्न पनि निकै पेचिलो बनेको छ । खासगरी नेपाली कांग्रेस पार्टीका लागि यी प्रश्नहरू गम्भीर चुनौती हुन् । पद्मकन्या क्याम्पसमा ३२ प्रतिशत र शंकरदेव क्याम्पसमा ३७ प्रतिशत मात्रै मतदान भएको छ । पद्मकन्या र शंकरदेव त उदाहरण मात्रै हुन् । नेविसंघको परम्परागत वर्चश्व भएका अधिकांश क्याम्पसहरूमा ज्यादै कम मतदान भएको छ ।

के का लागि गठबन्धन ?

सरकार गठन गर्नका लागि हुने सत्ता राजनीतिमा एजेन्डा र स्वार्थ मिल्ने दलहरूबीच चुनावी गठबन्धन हुनुलाई स्वभाविक मानिन्छ । किनकी सत्ता राजनीतिमा बहुमत र अल्पमतको खेल हुन्छ । शासन सत्तामा पुग्नका लागि बहुमत हासिल गर्नै पर्ने हुन्छ । तर स्ववियु भनेको सत्ता होइन । स्ववियु भनेको बहुमत र अल्पमतको खेल हुने ठाउँ होइन । कार्यकारी निकाय पनि होइन स्ववियु भनेको । स्वयंसेवाका रूपमा विद्यार्थीको हक हितबाहेक स्ववियुको कुनै भूमिका हुँदैन । अहिलेका मुख्य दलहरूले विगत पञ्चायतकालमा स्ववियु तथा विद्यार्थी संगठहरूलाई आफ्नै ढंगले परिचालन गरेका थिए । किनकी त्यतिबेला दलहरूमाथि प्रतिबन्ध थियो । स्ववियु तथा विद्यार्थी संगठनमार्फत आफ्ना गतिविधि अघि बढाउनुपर्ने वाध्यता थियो । स्ववियुु तथा विद्यार्थी मोर्चामा काम गरेकाहरू भविष्यमा पार्टी तहमा काम गर्थे । अर्थात उनीहरूले राजनीति सिक्थे ।

तर, अहिले दलहरू शासन व्यवस्थाका अभिन्न अंग बनेका छन् । बहुदलीय व्यवस्थामा दलहरू भनेका अघोषित रूपमा संवैधानिक अंगहरू हुन् । संविधानले सरकारलाई भन्दा पनि उच्च हैसियत राजनीतिकदलहरूलाई दिएको छ । वडा तहदेखि नै दलीय आधारमा निर्वाचन हुन्छ । राजनीतिकदलका संगठनहरू वडा तहमा मात्रै होइन गाउँ तथा टोल तहमा पनि क्रियाशील छन् ।

राजनीतिकदलहरूका लागि अब विद्यार्थी संगठनहरूको आवश्यक नै छैन । स्ववियुलाई राजनीतिक खेल मैदान बनाउनु आवश्यक नै छैन । तर दलहरू चुनावी गठबन्धन नै बनाएर स्ववियु कब्जा गर्ने रणनीतिमा उत्रिए । जुन कुरा अहिलेका चेतनशील विद्यार्थीहरूले पचाउन सकेनन् । त्यस कारण उनीहरू मतदानमा सहभागी भएनन् ।

धेरै विद्यार्थी भएका अधिकांश क्याम्पसमा विद्यार्थी संगठनहरूबीचको विवादका कारण चुनाव हुन सकेन । चुनाव सम्पन्न भएका ठूला क्याम्पसमा पनि असाध्यै थोरै मतदान भयो । काठमाडौं उपत्यकाभित्रका ठूला क्याम्पसहरूमा सत्ता गठबन्धन दलका भ्रातृ विद्यार्थी संगठनले गठबन्धन गरेर भागबन्डा गरी उम्मेद्वार उठाएका थिए । तर, यस्ता क्याम्पसमा निकै थोरै मतदान भयो । के का लागि चुनावी तालमेल गरिएको हो ? भन्ने कुरा सत्ता गठबन्धन दलका भ्रातृ संगठनहरूले विद्यार्थीहरूलाई बुझाउन सकेनन् । किनकी उनीहरूसँग यस्तो कुरा बुझाउने एजेन्डा नै थिएन ।

अहिलेसम्मको परिणाम हेर्दा सबैभन्दा बढी क्याम्पसमा एमाले अखिलले चुनाव चितेको छ । दोस्रोमा नेविसंघ र तेस्रोमा माओवादी अखिल छन् । चुनावी गठबन्धन गरिएका कारण निकै धेरै क्याम्पसमा मिश्रित परिणाम आएको छ । बौद्धिकतहको सहभागिता हुने भएकोले सबैभन्दा गरिमामय तथा महत्वपूर्ण मानिन्छ त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर । यो क्याम्पसमा विगतदेखि नै मिश्रित परिणाम आउने गरेको छ । कीर्तिपुरमा पुरै प्यानल एउटै संगठनले जितेका घटनाहरू ज्यादै कम छन् । यसपटक पनि मिश्रित परिणाम आएको छ । यसपटक अध्यक्ष पदमा भने नेविसंघका श्यामराज ओझा निर्वाचित भए । उनी सुदूरपश्चिम प्रदेशका हुन् । राजधानी काठमाडौं उपत्यका भित्रको राजनीतिमा सुदूरपश्चिमवासीले दलगत आधारमा भन्दा पनि भेगीय आधारमा मतदान गर्दै आएका नजीर नयाँ होइनन् । विगतमा पनि कीर्तिपुरमा एमाले अखिलले अन्य सबै सिट अत्यधिक बहुमतले चुनाव जित्दै गर्दा अध्यक्ष पदमा नेविसंघका लोकराज भट्टले चुनाव जितेका थिए । उनी डडेलधुराका थिए । सुदूरपश्चिमको भेगीय छाया विभिन्न पेसागत संगठनहरूमा पनि देखिने गरेको छ । यसपटकको स्ववियु चुनावमा सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस निकट नेविसंघ करिबकरिब बढारिएको छ । यो प्रदेशमा पहिलोमा एमाले अखिल र दोस्रोमा माओवादी अखिल छ ।

किन घट्यो विद्यार्थीको रुची ?

पद्मकन्या क्याम्पसमा विद्यार्थी राजनीति गरेकी पूर्वमन्त्री पम्फा भुसाल र शशी श्रेष्ठ यतिबेला माओवादी केन्द्रको उपल्लो स्तरको नेतृत्वमा छन् । पद्मकन्या क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियु सभापति बनेका पूर्वमन्त्रीहरू डिना उपाध्याय, कमला पन्त लगायतका नेतृहरू नेपाली कांग्रेसको उच्च तहमा छन् । नेपाली कांग्रेका महिला केन्द्रीय सदस्यमध्ये अधिकांश पद्मकन्या क्याम्पसको स्ववियु चलाइसकेका क्याडर हुन् । तर त्यो क्याम्पसमा यतिबेला ३२ प्रतिशत मत मात्रै खस्नु भनेको सानो आश्चर्य होइन ।

यसैगरी अहिले ३७ प्रतिशत मात्रै मतदान भएको शंकरदेव क्याम्पसले पनि धेरै नेताहरू उत्पादन गरेको छ । त्यति मात्रै होइन वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा समेत विद्यार्थी राजनीतिकै उपज हुन् । नेपाली कांग्रेसमा त ०५० साल यता नेविसंघका क्याडरहरूकै होल्ड छ । नेकपा एमालेमा अखिलका क्याडरहरू नेतृत्व तहमा पुग्न नसके पनि तल्लो तहमा उनीहरूकै वर्चश्व छ ।

समग्रमा भन्नुपर्दा स्ववियु सभापति भएका धेरै नेताहरू पछि सांसद र मन्त्रीसमेत भएका छन् । यसले पनि नेतृत्व विकासको मुख्य आधार स्वतन्त्र विद्यार्थी युनियन भएको पुष्टि गर्छ । नेपाली कांग्रेसका नेताहरू गगन थापा २०५५, शंकर भण्डारी २०४९ र किशोरसिंह राठौर २०५१ सालमा त्रिचन्द्रको स्ववियू सभापति निर्वाचित भएका थिए । एमाले महासचिव शंकर पोखरेल त्रिवि केन्द्रीय क्याम्पसको पूर्वस्ववियु सभापति हुन् । मकवानपुर २ बाट निर्वाचित सांसद महेश बर्तौला पनि मकवानपुर बहुमुखी क्याम्पसका पूर्वस्ववियू सभापति हुन् । त्यस्तै कांग्रेस सांसद प्रदीप पौडेल २०५३ सालमा अमृत साइन्स क्याम्पसका स्ववियू सभापति हुन् । कांग्रेसका सहमहामन्त्री तथा सांसद बद्री पाण्डे २०५३ सालमा वाल्मीकि क्याम्पसका स्ववियु सभापति हुन् । पोखरा महानगरका मेयर धनराज आचार्य पोखरास्थित पृथ्वीनारायण क्यापसका पूर्वस्ववियू सभापति हुन् । यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । यस्ता उदाहरणहरू हजारौँ छन् ।

यति हुँदाहुँदै पनि पछिल्लो दिनमा स्ववियु निर्वाचनको आकर्षण घटेर गएको छ । आखिर किन घट्यो त ? के का लागि हो विद्यार्थी राजनीति ? भन्ने प्रश्न खडा भएको छ ।
स्ववियु निर्वाचनलाई मिनि आमनिर्वाचनका रूपमा हेरिन्छ । नेपालमा त्रिविमा ०१८ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो । सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा ०३६ सालपछि प्रत्येक दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको छ । स्ववियु निर्वाचन किन पनि मिनि आमनिर्वाचन हो भने यो निर्वाचनमा राजनीतिक दलका भ्रातृ संगठनका रूपमा रहेका विद्यार्थी संगठनबीच चुनावी प्रतिस्पर्धा हुन्छ ।

कुन राजनीतिक पार्टीको भविष्य कस्तो छ ? भन्ने मापन स्ववियु निर्वाचनद्वारा हुन्छ । किनकी उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरू स्ववियु निर्वाचनका मतदाता हुन् । त्यसैले स्ववियु निर्वाचनलाई राजनीतिकदलहरूले पनि प्रतिष्ठाको विषय बनाएका हुन्छन् । राजनीतिक दलहरूको संगठन विस्तार गर्ने माध्यम पनि स्ववियु निर्वाचन नै हो ।

त्रिभुवन विश्व विद्यालय तथा अन्य विश्वविद्यालयको विधानमा पनि दुई÷दुई वर्षमा स्ववियु निर्वाचन हुने प्रावधान छ । ०५९ सालमा शाहीशासन सुरु हुनु अघिसम्म हरेक दुई÷दुई वर्षमा स्ववियुको निर्वाचन हुन्थ्यो । तर, त्यस यता भने स्ववियु निर्वाचनको निरन्तरता बिथोलिएको छ । यसअघि ०६५ चैत ६ र ०७३ चैत १५ मा स्ववियु निर्वाचन भएको थियो ।

विद्यार्थीहरूले विद्यार्थी नेता छान्ने चुनाव हो स्ववियु निर्वाचन भनेको । तर राजनीतिकदलहरूले स्ववियु निर्वाचनलाई स्थानीय तथा आमनिर्वाचनभन्दा पनि महत्व दिने गरेका छन् । युवा मतदाताहरूको मनोविज्ञान मापन हुने भएकोले स्ववियु चुनावलाई राजनीतिक दलले पनि महत्व दिएका हुन् । तर यतिबेला स्ववियु तथा विद्यार्थी राजनीतिको अवधारणाबारे युवा पुस्तामा ठूलो परिवर्तन आएको छ ।

उच्च शिक्षाका लागि क्याम्पस भर्ना हुने विद्यार्थीहरू दुई खाले छन् । एक खाले फुर्सदको समय प्रयोग गर्दै राजनीति गर्ने छन् । अर्काखाले घुँडा धसेर पढ्ने र अवसर खोज्न विदेश जानेहरू छन् । नेपालभित्र उनीहरू संभावना देखेका छैनन् । स्ववियुमा राजनीति गर्नेहरूको हातमा अहिले मुलुकको राजनीति पुगेको उनीहरूले देखेका छन् । राजनीतिकर्मीहरूले देश बिगारेकै कारण आफूहरू विदेश पलायन हुनु परेको यथार्थता पनि उनीहरूलाई थाहा छ ।

त्यसैले स्ववियुका नाममा हुने गरेको विद्यार्थी राजनीतिप्रति उनीहरूमा ठूलो घृणा पैदा भएको छ । स्नातक तह उत्तीर्ण गरेको व्यक्तिलाई प्राज्ञिक भन्ने गरिन्छ । प्राज्ञिकको अर्थ हो विद्वान । यस हिसाबले स्ववियु निर्वाचन भनेको विद्वान व्यक्तिहरूले विद्वान नेतृत्व छान्ने चुनाव हो । तर व्यवहारमा ठिक उल्टो देखिएको छ । विद्यार्थी राजनीति गर्नेहरूले हतियार बोकेर हिँड्नु सामान्य हुँदै गएको अहिलेको अवस्थामा विद्यार्थी संगठनसमेत अपराधिक क्रियाकलाप गर्ने ग्याङमा परिणत हुँदै जाने खतरा उत्पन्न भएको नयाँ पुस्ताले देखेको छ ।

प्रतिक्रिया