फिल्मकाे पात्रबाट चिनिएका विपिन कार्की

काठमाडाैं । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता थोरै हुन्छन् । जसमध्ये हुन् विपिन कार्की ।

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा उनले निर्वाह गरेको चरित्रले पहिचान स्थापित भएका उनको अभिनय उचाइ ‘जात्रा’पछि बढेको हो ।

‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रंगमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा अन्यभन्दा फरक देखिन्छन्।

‘जात्रा’ शृङ्खलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव सहजै स्वीकारेका थिए। तर चरित्र निर्माण गरेका निर्देशक दीपेन्द्रकुमार खनालको आग्रहमा उनले त्यो भूमिका गरेनन्।

“दर्शकले विश्वास गर्नुहुन्न कि ? साजसज्जा गर्नेले राम्रो गर्न सक्नुभएन भने ? जस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको थिए’, अभिनेता कार्कीले भने। यद्यपि निर्माण भएको उक्त चरित्रलाई ‘फूलबारी’ मा प्रस्तुत गरिएको थियो।

अवकाश प्राप्त गरेको शिक्षकको भूमिकासँगै उनले उमेरमा आफूभन्दा अग्रज कलाकार दयाहाङ राईको काकाको भूमिका निर्वाह गरे। फिल्म बन्ने समयमा पात्रलाई निर्वाह गर्ने भूमिकाबारे विश्वास नभए पनि प्रदर्शनपश्चात् स्वाभाविक देखिएको उनी बताउँछन् ।

‘चरित्र बाँच्ने कोशिस गर्छु । त्यहाँ म पात्र हुँ । त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु’, कार्की भन्छन्, ‘प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन सकेको छैन । दर्शक पनि विस्तारै कलाकारभन्दा पात्रसँग जोडिन थाल्नुभएको छ ।’

उनले प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रसाद २’ मा गाउँले बाबुरामको भूमिका निर्वाह गरे। ‘प्रसाद’ कै दोस्रो शृङ्खला भए पनि यसको कथावस्तु फरक रहेको कार्कीले जानकरी दिए। ‘नामको विश्वास धान्ने काम गरेका छौँ । पहिलो शृङ्खला मन पराउनु भएकोलाई निराश बनाउने छैनौँ’, उनले भने।

जातीय विभेद र महिलामाथि हुने दुर्व्यवहारका घटनामा आधारित चलचित्रलाई सुशील पौडेलले लेखेका हुन्।

सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय छ । रासस

प्रतिक्रिया