उद्योग क्षेत्रमा २८ खर्ब लगानी

काठमाडौँ । करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २७ खर्ब ८२ अर्ब बराबरको लगानीको प्रस्ताव आएको हो ।

आर्थिक वर्ष २०१७/१८ सालदेखि २०७९/८० सम्म आठ हजार नौ सय ७४ उद्योगका लागि उक्त लगानी प्रस्ताव भएको थियो । उक्त तथ्यांक अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ । तथ्यांक अनुसार हालसम्म दर्ता भएका उद्योगले छ लाख ७० हजार दुई सय ५५ जनालाई रोजगारी उपलब्ध गराएको उल्लेख छ ।

साढे एक खर्बको प्रतिबद्धता

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्यांक अनुसार स्वदेशी र विदेशी लगानीका एक सय ८३ वटा उद्योगका लागि एक खर्ब ५५ अर्ब बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो ।

यस्तै, आठ महिनाको अवधिमा दुई सय ३९ विदेशी लगानीका उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार उक सय ९६ लगानी प्रतिबद्धता आएको छ । जसमा फागुनमा मात्रै तीन अर्ब ४४ करोड ९८ लाख ३८ हजार छ सय विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा मात्र रु दुई अर्ब ६४ करोड नौ लाख, भदौमा रु तीन अर्ब ४४ करोड ६५ लाख, असोजमा रु एक अर्ब ८५ करोड ४७ लाख र कात्तिकमा रु तीन अर्ब ६५ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

त्यसैगरी मंसिरमा ८० करोड आठ लाख, पुस महिनामा चार अर्ब ८५ करोड २० लाख, माघमा एक अर्ब ३९ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८÷७९ को साउनमा पाँच अर्ब ५३ करोड ५० लाख, भदौमा छ अर्ब ३२ करोड, असोजमा एघार अर्ब ९६ करोड पाँच लाख, कात्तिकमा ९८ करोड, मङ्सिरमा पाँच अर्ब १५ करोड ५१ लाख, पुसमा रु ६१ करोड २० लाख, माघमा ५३ करोड ९५ लाख र फागुनमा दुई अर्ब २३ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

साढे १३ अर्ब बाहिरियो

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा झण्डै साढे १३ अर्ब नेपाली विदेशीएको छ । उद्योग विभागले सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार तीन सय २४ लाभांशवापत रकम फिर्ताको सिफारिस भएको हो ।

विभागले आठ महिनामा रोयल्टीवापत दुई अर्ब आठ करोड ९३ लाख ९७ हजार १०७ नेपाली रुपैयाँ, ११ लाख ४८ हजार सात ६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८२५ भारतीय रुपैयाँ र ७ हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ । विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।

प्रतिक्रिया