रैथाने बाली संरक्षणको लागि खाद्य परिकार प्रदर्शनी

दैलेख । नारायण नगरपालिका दैलेखले रैथाने बाली संरक्षणको लागि खाद्य परिकार प्रदर्शनी गरेको छ । कर्णाली प्रदेशले अर्गानिक प्रदेश बनाउने निर्णयअनुसार नगरपालिकाले रैथाने बाली संरक्षण तथा प्रवद्र्धनको लागि रैथाने बालिबाट बनेका विभिन्न खाद्य परिकारहरु प्रदर्शनी गरेको हो ।

नगरपालिकाको कृषि शाखाले रैथाने बालीको संरक्षण अभियानअन्तर्गत सार्वजनिक क्षेत्रमा खाद्य परिकार प्रदर्शनी कार्यक्रम नारायण नगरपालिकाको प्रांगणमा प्रदर्शन गरेको थियो ।

नगरपालिकाका कृषि शाखा प्रमुख खेमराज शर्माले रैथाने बाली संरक्षणका लागि नारायण नगरपालिकाले विविध कार्यक्रम सञ्चाल गरेको जानकारी दिए । उनले रैथाने बाली संरक्षण गर्नका लागि सार्वजनिक स्थानमा त्यसका परिकार बनाएर प्रदर्शन गर्ने कृषकलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।

रैथाने बाली फापर, कागुनो, धान, कोदो, जौ, उवालगायतका बालीबाट बनेका परिकारहरू प्रदर्शन गरिएको शाखा प्रमुख शर्माले बताए । प्रर्दशनी कार्यक्रममा बोल्दै नगरप्रमुख लोमन शर्माले स्थानीय रैथाने बाली संरक्षणका लागि कृषकहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

उनले पछिल्लो समय खेती नगर्ने नागरिकको संख्या बढ्दै गएको भन्दै कृषि पेसाप्रति जागरुक गर्न रैथाने बालीतर्फ प्रोत्साहन गर्न जरुरी रहेको बताए ।

‘हाम्रा पुर्खाहरूले गर्ने खेती र अहिले खेती गर्ने तरिका फरक छ, त्यस बेला रैथाने बालिबाट उत्पादन भएका खाना खाँदा विरामी संख्यासमेत कमी हुन्थ्यो’, उनले भने, ‘अहिले उत्पादन हुने हरेक वस्तुमा विषादी हुने भएका कारण बिरामी हुने संख्या दिनानुदिन बढ्दै गएको छ, जबसम्म रैथाने बालिको संरक्षण गर्ने सकिँदैन तबसम्म यो समस्या झनै बढ्दै जाने भएकोले रैथाने बालिको संरक्षणमा सबै लाग्नुपर्छ ।’

प्रतिक्रिया