खप्तडमा खिचिएको गीत सम्मानित

काठमाडौं । डेउडा गायक सुर्य बिरही साउदको गीत ‘मेरा गाउँ जाल्ली मै जसी होल्ली’ गीतले गायक, गायिका तथा भिडियो निर्देशक अवार्ड जित्न सफल भएको छ । सुदूरपश्चिमेली गीतमा चर्चा कमाउन सफल गायक साउदको खप्तड चिनारी (मेरा गाउँ जाल्ली मै जसी होल्ली) डेउडा गीत खप्तडमा छायांकन गरिएको थियो । सुन्दर सदुरपश्चिमको प्रमुख पर्यटकीय तथा सुन्दर क्षेत्र खप्तड पुगेर गीतको निर्माण टिमले भिडियो छायांकन गरेको थियो ।

भिडियोबाट निर्देशक जनक सिंह छैटौँ राष्ट्रिय समावेशी म्युजिक अवार्डबाट सम्मानित भएका हुन् । एक दशकयता नेपाली गीत संगीत तथा चलचित्र क्षेत्रमा क्रियाशील उनलाई यो गीतले सम्मान तथा अवार्ड जिताएको हो । सिंहले पावर इन्टरनेसनल मिडिया नेपाल (निम नेपाल) को आयोजनामा सम्पन्न भएको अवार्ड (निम अवार्ड) २०२३ मा सर्वोत्कृष्ट डेउडा भाका भिडियो निर्देशक पब्लिक च्वाइस अवार्ड जिते । नेपालमा बोलिने सम्पूर्ण भाषाभाषिमा बनेका गीत र गीतका भिडियोलाई प्रोत्साहन स्वरुप निम अवार्ड तथा सम्मान प्रदान गरिँदै आएको छ ।

डेउडा गायक सुर्य र गौरी भट्टको स्वर तथा केशव बडुको संगीतमा तयार भएको सो गीतमा मायाप्रेम तथा सुदूरपश्चिमका नौवटै जिल्लाको सुन्दरताको बयान गरिएको छ । गीतमार्फत जय प्राप्ति म्युजिक अवार्डमा सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्ड, तेस्रो नाटेश्वर म्युजिक अवार्डमा उत्कृष्ट गायकको अवार्ड सुर्य विरही र उत्कृष्ट गायिकाको अवार्ड गौरी भट्टले प्राप्त गरिसकेका छन् ।

सुदूरपश्चिमको चिनारी र विशेष गरी सुदूरपश्चिमका नौवटै जिल्ला र बाजुरा जिल्लामा पर्ने खप्तड पर्यटकीय क्षेत्रलाई समेटेर गीतमा शब्द चयन गरिएको छ । बसिवियाँलो म्युजिकद्वारा सार्वजनिक गरिएको भिडियो जनक सिंहले निर्देशन गरेका हुन् । हरि महराले खिचेको भिडियो सम्पादन विवेक पाण्डेले गरेका हुन ।

गीतबारे प्रतिक्रिया दिँदै गायक साउदले विशेष सहयोगका लागि खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिप्रति हार्दिक आभार तथा आमदर्शक स्रोतालाई धन्यवाद दिए । उनले भने, ‘हामीले अवार्ड पाउनलाई यो भिडियो बनाएका होइननौं । तर, दर्शकस्रोताको माया तथा अवार्ड आयोजक संस्थाले गरेको मूल्यांकनले सम्मानित भइएको छ । यो खुसीको कुरा हो ।’ साउदले यसअघि पुतलीका भेष, प्रितिफूल सारिदे, धन्य माया जाल, आमा, म त भैंसी गोठालो लेकबेसी धाउँछु लगायतका थुप्रै गीत ल्याइसकेका छन् ।

प्रतिक्रिया