नजिकबाट नियाल्दा ‘खाटा बसेको घाउ’

कल्पना रावल

स्रष्टा जनक रावलको पहिलो कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ को पहिलो सस्करणको प्रकाशनको जिम्मेवारी मिलाप पब्लिकेशनका कृष्ण भुसालले मेरो हातमा दिए । मैले यस कृतिलाई प्रकाशन अगावै नजिकबाट पढने र हेर्ने अवसर पाएँ । फुर्सद पाउनेबित्तिकै कम्प्युटरमा बसिरहने मेरा श्रीमान्लाई ‘के गर्दै हुनुहुन्छ ?’ भनेर सोध्दा मात्र ‘लेख्दैछु’ भन्ने जवाफ आउँथ्यो । योबाहेक हामीबिच अरु विस्तारमा केही कुरा हुँदैन्थ्यो । किनकि श्रीमानकोे लेखिरहने पहिल्यैदेखिको बानी हो । जागिरको सिलसिलामा देश घुमिरहने दैनिकी नै हो र यस्तै क्रमको लेखाइलाई एउटा कृतिको मूर्तरुप पाठकमाझ पस्केका छौं । विभिन्न कालखण्डका उन्नाइस वटा कथालाई उनेर एउटा सिंगो मालाको आकार दिइएको छ । सङ्ग्रहमा सम्पादन कृष्ण भुसाल, भाषा सम्पादन रमेश दहाल र भूमिका लेखन खेमनाथ दहालको रहेको छ । ‘भाव र मेरो भाषा तिमीहरुले छेडछाड नगर हैं । जस्तो छ त्यस्तै राख र शुद्धाशुद्धीमात्र हेर्नु,’ भन्ने स्रष्टाको आदेशात्मक अनुरोधलाई पनि हामीले मनन गर्नुपथ्यो । वैवाहिक वर्षगाँठका पच्चीसौ वर्षको अवसरमा हतार गरेर भए पनि खाटा बसेको घाउलाई हामीले पाठकमाझ ल्याउन सफल भयौं । यो कार्यमा अहोरात्र खटिएका पत्रकार तथा सम्पादक भुसाल, पत्रकार गीता अधिकारी, साहित्यकार रमेश दहाल र साहित्यकार खेमनाथ दहाललाई धन्यवाद व्यक्त गर्दछु ।

संग्रहलाई नजिकबाट नियाल्दा विशेषतः द्वन्द्व, माया, सदभाव, शान्ति र प्रतिशोधले ठाउँ ओगटेको पाएँ । प्रत्येक कथामा थोरै पात्रबीचमा घुमेका फरक फरक धारका कथा हाम्रै समाजभित्रका यथार्थताका चित्रण हुन भन्नुपर्ने हुन्छ । पारिवारिक, सामाजिक, राजनीतिक, प्रेमिल विषयवस्तुलाई समेटने क्रममा द्वन्द्वले पारिवारिक द्वन्द्व, सामाजिक द्वन्द्व र राजनीतिक द्वन्द्वको अन्तरसम्बन्धलाई प्रष्टयाएको पाइन्छ । द्वन्द्वले परिवार, समाज, राष्ट्रमा पारेका र पर्नसक्ने दीर्घकालीन असरलाई अति सरल तरिकाले कथाका माध्यमले सन्देशमूलक बनाउन खोजिएको छ ।

बहुपत्नी प्रथामा सन्तानको रेखदेख, पालनपोषणका लागि सौंताबीचको मनमुटाव र चिसोपनालाई सधै चल्ने परम्परागत युद्वको संज्ञा दिएका छन् कथाकारले । घुमन्ते र डुलन्ते जीवन र जागिरबिच अन्योन्याश्रित, गहिरो, न्यानो, प्रगाढ, सुमधुर सम्बन्धकै कारण समाजमा घटेका घटनाले कथाको मोड लिएको पाइन्छ । समाजको उन्मुक्ति, शासन र सत्ताबाटको उन्मुक्तिको प्रलोभन पारेर, लालसामा लागेर र रातारातको परिवर्तनको लागि अनौंठो सपना बोकेर सशक्त क्रान्तिमा होमिएको एउटा समूहले गर्दा एक दशकसम्म देश र नागरिकले भोग्नुपरेको पीडा र क्षतिको सचित्र प्रस्तुति कथामा छ । श्रीमान, सासुससुराको सेवा गरे स्वर्ग जान पाइने, अनि बिहान बेलुकी ससुराले पुजा गर्दा पढेका श्लोक सुने बैकुण्ठको बाटो खुल्नेजस्ता कुरीतिमा विश्वास गरेर छोरीमान्छेलाई पढ्नबाट वञ्चित गर्ने पुरानो परिपाटीको समाजको चरित्रलाई कथाले उदांगो पारेका छन् । विवाह भनेको सन्तान उत्पादन गर्ने, शारीरिक प्यास मेट्ने र परम्परा थेग्ने एउटा प्रक्रिया मात्र नभई विश्वास, प्रेम र श्रद्धामा कसिलो बनाउनुपर्ने एउटा सम्झौता रहेछ भन्ने कुरा समयले नै सिकाउँदैं जाने कुरालाई फरक ढंगले उठान गरिएको छ । आफूलाई परेमात्र बुझ्ने र अरुको दुःखलाई त रमिता मानेर हेर्ने परिपाटीको अन्त्य २१औं शताब्दीको उत्तराद्र्धमा आइपुग्दा पनि नभएको देखेर कथाकार विरक्तिएको आभाष हुन्छ । कहिले कसको घरझगडा पर्ला र दिनभरि गाउँ डुलेर कुराको विषय बनाउँला भनेर चियो गरी बस्ने समाजका मानिस बारेमा गहिरो रोष व्यक्त गर्दै व्यंग्य गरेका छन् । कथामा अरुको कुरा नकाटी खाना पनि नपच्ने र निद्रा नलाग्ने बानीलाई कहिल्यैं सञ्चो नहुने गम्भिर प्रकृतिको रोग हो भनि प्रष्ट पार्ने कोशिस गरिएको छ ।

वर्षेनी विदेशिन बाध्य युवाको बाध्यता र पीडालाई निकैं मार्मिक ढंगले कथामा उधिनिएको छ । कथामा विदेश नगएर स्वदेशमै केही गर्छु भनेर बस्ने युवाको दर्दनाक पीडा प्रस्तुत गर्दै राजनीतिक वितृष्णा पैदा हुनुका कारण केलाइएको छ । सुख र खुसीको खोजीमा विदेशिएका युवा स्वदेश फर्कदा सबै गुमाउनु पर्दाका क्षणलाई कथाकार पात्रको माध्यमबाट व्यक्त गर्दछन्, ‘घरको चुहिने छानो फेर्न विदेशिएको मोहन, के थाहा थियो र आज आफ्नै सपनाहरु चुहिन्छन् भनेर ।’ कथामा पीडा भोगेको पात्रलाई प्रस्तुत गर्दै कथाकार युवाबारे लेख्दछन्, ‘उसले एउटा गुजारा गर्ने खालको सानै भए पनि काम खोज्यो, पुल्चोकदेखि बबरमहल, सिंहदरबारदेखि बालुवाटार, शितलनिवासदेखि निर्मल निवास, तर अह….उसले कहिकतैं केही पाउन सकेन, उसको कुनै दल भेटिएन । हेलो सरकारदेखि मधेशसम्म, अनि के–केसम्म, उसको कुनै आफ्नो भन्ने नेता भेटिएन, भेटियो त केवल भोलीको एउटा अर्को काम, नयाँ काम अनि दिनभरिको बेफुर्सदिलो काम, उही एउटा सानो जागिर खोज्ने काम ।’

‘स्वप्नहरुको दूर्घटना परिवार र व्यक्तिगत जीवनमा मात्र हुँदैनन् । राष्ट्र र समाजको जिन्दगीमा पनि बारम्बार हुन्छन् । हतारको काम लतपत भनेझैं नसोची हामफाल्दा शरीरमा एकसरो लुगामात्र रहें । कस्तो अचम्मको लाज ? कस्तो सभ्य इज्जत ? गाम्छा र गलबन्दीले छोप्दा जोगिने । आऊ सखि ! त्यो नांगो इज्जत बचाउन केही सहयोग गरौं,’ भन्ने आव्हानका साथ कथामा गलत बाटोले पछिको पिँढीलाई समेत पोल्ने गरी भ्रष्टाचार गर्नु वा गराउनु महापाप हो र तिनलाई ठिक पार्न गठित अख्तियारले आफू पनि भ्रष्टाचाररहित रहन सिक्नुपर्दछ भन्ने भाव छ । जेभए पनि छिमेकी हुन र तिनलाई सुध्रने अवसर दिनुपर्दछ भन्नेमा पात्रको माध्यमबाट मतजाहेर गरेका छन् ।

‘साथ छोडयौं भन्दैमा बदनाम गर्दैं हिड्दिन, मैले माया गरेको मान्छे हौं । माया गर्न छोडे पनि घृणा गर्न सुरु गर्दिन । पैंसाले छानी छानी वैंश किन्न पाउने सहरमा पसेका छौं, मैले जस्तै निःस्वार्थ कसैले गरेछ भने त्यसको कदर भने गर हैं !’ निस्वार्थ भावले गरेको प्रेममा पनि धोका पाउँदा आफूले माया गरेको मानिसलाई प्रतिशोध नलिइ सच्चा मनले शुभकामना दिनु पनि मायाको प्राप्ति हो ।

‘नजिकै पादुका खोला आफ्नै सुरमा चुपचाप बगिरहेको छ, ऊ पनि आफ्नो पुरानो अस्थित्व जोगाउन संघर्ष गर्दै थाकिसकेको छ । त्यसैले त कुनै प्रतिक्रियाविना नै पहिचानविनाको भेगतिर निरन्तर यात्रामा तल्लिन छ ।’ यस आख्यानबाट प्राकृतिक सम्पदाको अतिक्रमण र पहिचानको संघर्ष चलिरहेको आजको वस्तुस्थितिलाइ उजागर गरेको देखिन्छ ।

‘कुरा गरेको पैंसा दिने हो दाई ? हो भने ल ! कति पत्रकार आउँछन्, हाम्रा कुरा लेखेर लिएर जान्छन् । कति विदेशीले हाम्रो फोटो खिचेर लान्छन्, सुनेको उनीहरुको देशमा हाम्रो फोटो बेच्दा धेरैं पैसा आउँछ रे ! तपाई लेख्ने हो कि फोटो खिच्ने हो हजुर ?’ देशको राजधानी काठमाडौंको सडकपेटिमा बास बसेर जीवन गुजारा गर्नेहरुको दयनीय जीवन प्रस्तुत गर्दै उनीहरुको अवस्थाबाट फइदा लिनेको चरित्र चित्रण गर्दछन् कथाकार ।

विभिन्न कालखण्डका विविध रसका कथा पस्कने क्रममा कथाकारले प्रेमिलभावका कथाहरु पनि सुन्दर किसिमले प्रस्तुत गरेका छन् । कथाका पात्रको बयान पनि सुमधुर ढंगले गरिएको पाइन्छ । हिस्सि परेको मुहार, गोरो र बाटुलो, अनि ठूला–ठुला तीखा लजालु आँखा, नागबेली चुल्ठो, अनारका दानाजस्ता टल्कने दाँत, छिनेको कम्मर, छरितो जिऊडाल अनि उन्मक्त हाँसो, सहज र सरल हँसमुख स्वभाव मैंयाका विशेषता हुन् । प्रेमिल कथामा बिचबिचका संवाद अत्यन्तैं मनछुने छन् ।

‘थारु र पहाडबीचको युद्ध हो । कामदार र जमिन्दारबीचको युद्ध हो । शासक र जनताबीचको युद्ध हो । खेत भनेको जोत्नेको हुनुपर्दछ । हाम्रो क्रान्ति सफल भएमा धनी गरीब सबै बराबर हुन्छन् । जमिन नभएकाले जमिन पाउनेछन्, काम नभएकाले काम पाउनेछन्, बास नभएकाले घर पाउनेछन् । आ–आफ्नो जातीय पहिचानको राज्य हुनेछ ।’ पश्चिम नेपालको तराईमा दशवर्षे जनयुद्धमा जनमत बटुल्नका लागि अपनाइएका विधिलाई समेत कथा र त्यसका पात्रको माध्यमबाट पस्किएका छन् । जातिगत उत्थान हुने आशले क्रान्तिमा लागेका युवायुवतीको जीवन बर्वाद भएको यथार्थता दर्शाउँदै आफ्नै जाति र समाजबाट अपहेलित युवतीको भनाइलाई उद्धृत गर्दछन्, ‘जमिन्दार तो पहाडिया मात्र नैंहो, थारु फेन बाटैं । जाँड खैंना, भात खैंना किल नैंहो, मनाई खैंना थारु फेन बाटैं ।’

नारी संवेदनालाई सधै कमजोर ठान्ने पुरुषप्रधान संस्कारले वाक्क भैसकेकी पात्रको पुरुषप्रतिको धारणालाई कथाकार अभिव्यक्त गराउँदछन् । ‘सबै लोग्नेमान्छे उस्तै हुँदो रहेछन्, पासविक ब्वाँसाजस्ता । नारीको भावना, संवेदनशीलता नबुझ्ने र शिकार सम्झेर लुछ्न तम्सिने र मौका मिल्यो कि आफ्नो प्यास मेटिहाल्ने ।’

तिनै नारीपात्र आफ्नो जीवन वर्वाद पार्ने पात्रलाई कुनै बदलाको भाव नराखेर ‘भलै सम्बन्ध दिगो राख्न सकेनौ केही छैन, तर विश्वासलाई कायम राखेको भए हुन्थ्यो । मैले त तिमीलाई बलात्कार गरेकी थिइन् नि कमरेड ! मैले रहरले तिमीहरुजस्ता ब्वासाँहरुको तिर्खा मेटाएकी होइन नि ! मेरो प्रेम साँचो थियो र प्रतीक्षामा बसेकी थिए, नत्र आजको जमानामा एउटा नजाँदै अर्को तयार भएर बसेका हुन्छन् । यहाँ तिमीजस्ताको कुनै कमी छैन नि । याद गर्न पाएका सबै कुरा फिर्ता आउने आश नगर्नु, जसको मलामी गइन्छ ऊ कहिले हाम्रो मलामी आउँदैन । जाऊ ! बाँच, यश गर, मोज गर, नौली–नौली नारी खोज्दै सिनो सम्झँदै लुछ । मैले तिमीलाई जीवनदान दिएँ,’ भन्दै क्षमादान गरेर नारीको महिमा उँचो बनाइ उदाहरण प्रस्तुत गर्दछिन् ।

गाँस, बास र कपासका लागि परिवर्तनको नारा बोकेर हिडेको जत्थासँग वर्षौ क्रान्तिमा होमिएकि एक नारी समाज उन्मुक्तिकै नारा लगाउने आदर्श नेतृत्वको पाशविक व्यवहार र अवसर प्राप्त हुँदा आफ्नै वरिपरिकालाई मात्र समेटेर अरुलाई घर न घाट बनाइएको कारुणिक कथाकि पात्र हिजोको पार्टी नेतृत्व र नारालाई घृणा गर्दछिन् र भन्छिन्, ‘हजारौं निर्दोष नेपाली जनताको रोदन, क्रन्दन, आँशु, वेदना र रगतले सिञ्चित परिवर्तनको हवला दिने सत्ता आज उही पुरानो सत्ताकैं रुपमा बदलिएर स्वार्थ पूरा गर्दैछ । कति दिन टिक्ला र टाउको गिडेर ल्याएको सत्ता ?’

देश र समाजको परिवर्तनको लागि त्याग गरेका आमनागरिक र ज्यानै गुमाएर सहिद भएका आफन्तले सधै नागरिक भएको आभाष दिलाउन लडिरहनुपर्ने विडम्बनाले वर्तमान परिस्थितिलाई दुरुस्तै चित्रण गरेको छ ।

‘मेरो थातबास खोइ ?’

‘मेरो गासबास खोइ ?’

‘अधिकार खोइ ?’

‘आधारभूत आवश्यकताको ग्यारेन्टी खोइ ?’

‘सुरक्षाको प्रत्याभूति खोइ ?’

‘राज्यको स्वाधीनता खोइ ?’

‘मेरो राष्ट्र खोइ ?’

‘राज्यमा न्याय खोइ ?’

विकासका नाममा देश कंगाल हुनेगरी लादिएको व्यवस्था र थोपरिएको करले जनता वाक्क भएका छन् । महँगी र बेरोजगारीले आक्रान्त छन् आमजनमानस । नयाँ विधिबाट शासन गर्छौ भन्ने आजका शासक र गलत भनिएको हिजोको शासकबीच कुनै अन्तर नभेटिँदा आफ्ना सन्ततिको भविष्यको खोजीमा चिन्तित छन्, पुराना पुस्ता ।

‘हेर यो बाटोभरि गाडीको चाप, अनि पेटिभरि मानिसको घुइँचो । यो सब एकै सहरमा किन ? विकासका नाममा नारा लगाइन्छ र राज्यकोषको रकमको दुरुपयोग हुन्छ । त्यतिले मात्र नपुगेर विदेशीको अगाडि नतमस्तक भएर लाजै पचाएर घुँडा निहु¥याएर ऋण माग्छन । अनि त्यसको पनि केही अंश मात्र विकासमा खर्च गर्छन् । गाउँजस्ताको त्यस्तै, नेता कार्यकर्ता र टाठाबाटा जति सहरमा । अनि गरिव र निमुखा सहर नपसेर कहाँ जान्छन् ? अनि सहर कुरुप नभएर के हुन्छ ? हामी देश र देशको माटो आफ्नो भनेर मरिहत्ते गर्छौ । तर, प्रजातन्त्रपछि आजसम्म देशको स्वाभिमानतामा आँच आउँदा किन शासक मौन ? जनताका छोराछोरी जनताकै लागि शासन ग¥छौं भनेर सत्तामा बसेकाहरु सेतोकोट लगाएका कालामान्छे र टाइसुटले बाँधिएर कालोकोट लगाएका सेतामान्छेको आदेशमा देशको शासन चलाउँदैछन् । अनि देश साँघुरिदै गएको छ, जनता खुम्चिँदै गएका छन् ।’

‘छोट्टी कुलघरकि इज्जत हुन् । माइतीको शिर ठाडै रहयाको हेर्नु । हार्न हारेलेऊ, घर जाऊ म माग्न आउँला ।’ कथामा जुहारी खेलेरै जितहारबाट श्रीमान श्रीमति बन्ने पुरानो ढर्राको संस्कृतिको खिल्ली उडाएका छन् कथाकारले । सबैले भन्ने गर्छन् एक्लै आएको हुँ र एक्लै जान्छु भनेर तर यो संसारको रितै हो दुई जना कोही आउँदैनन् र चार जनाविना कोही जान पनि सक्दैनन् । त्यही चार जनाको खोजीले सताइएको र त्यही चार जना नहुँदाको पीडाले पिल्सिरहेका पात्रका कथा समेटिएका छन् । गाउँघरमा अझै पनि छोरीमान्छेलाई चुलोचौका र पँधेरीमै लगाउनुपर्छ, पढाउनु पर्दैन र बिहे गरिदिइहाल्नुपर्छ भन्ने सोचलाई बदल्न सफल भएका छन् कथाकार ।

‘त्यस्तो हैंन काकी ! बिहेवारी गर्नुपर्ने उमेर कहि तोक्या छ र ? उहिले उहिले सात आठ वर्षमा पनि बिहे हुन्थ्यो । अहिले देशको कानुनले बीस वर्ष पारी भन्छ तर भाग्ने भागेकै छन्, आ–आफ्ना रितितिथि हुन्छन् । समुदाय अनुसार सबैको चलन फरक छ । कतिले पढे लेखेर आफू सक्षम भएपछि बिहे गरेका छन् । पढन दिनुस् न, तपाइँहरुकै नाम हुन्छ । यो गाउँमा बिए पास कुनै केटीले गरेकी छ भन्नु त ?’

मानिस भाग्यका कुरा गर्दछन्, तर कथाकार भाग्यमानी हुनुका पनि फरक फरक अर्थ लगाउँदछन् । भाग्यमानी हुनुका पनि त अर्थ हुन्छन् । कसैलाई भगवान् अर्थात् भाग्यविधाताले नै बनाइदिएको हुन्छ, जुनविना आम्दानी, विना मिहिनेत र परिश्रमले पनि प्राप्त हुन्छ । कुनैं कसैको सहयोग र आफ्नो परिश्रमले आफैंले भाग्य निर्माण गरेको भाग्यमानी । भाग्य कर्मले निर्धारण गर्ने र हत्केलामा कोरिएका रेखामुनि भाग्य खोजी बस्दैमा लक्ष्य प्राप्त नहुने सन्देश कथाको माध्यमबाट दिन्छन कथाकार ।

आञ्चलिक भाषा, जातिगत भाषालाई मिठासपूर्ण तवरले कथाकारले कथामा प्रयोगमा ल्याएका छन् । त्याग, तपस्या, परिश्रमले मानिस कर्मप्राप्त गर्ने कुरामा कथाकार विश्वास गर्दछन् ।

प्रतिक्रिया