संगीत अभियात्राको सांगीतिक कार्यक्रम चैत ४ गते धनगढीमा हुँदै

धनगढी । जनवादी कलाकारहरुको संगीत अभियात्राको चैत ४ गते धनगढीमा सांगीतिक कार्यक्रम हुने भएको छ । जनवादी कलाकारहरुको संगीत अभियात्राले देशभरी गर्न लागेको सांगीतिक कार्यक्रम अन्तरगत पहिलो कार्यक्रम धनगढीमा हुन लागेको हो ।

आयोजक संगीत अभियात्राले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै संगीत अभियात्रामार्फत जनताका गीत संगीत लिएर देशव्यापी प्रस्तुत हुन लागेको जनाएको छ । देशव्यापी गरिने सांगीतिक कार्यक्रम सुदूरपश्चिमको धनगढीबाट सुरु गर्न लागेको आयोजकले जनाएको छ ।

जनवादी गीत,संगीतले विभिन्न राजनैतिक परिवर्तनमा ठूलो योगदान पु¥याएको वरिष्ठ जनवादी गीतकार एवं संगीतकार मणि थापाले बताए । उनले भने विभिन्न कालखण्डमा भएका परिवर्तनकारी संघर्षमा जनवादी गीत संगीतले ठूलो भूमिका खेल्यो,राजनैतिक परिवर्तन भए तर जनजीविकामा परिवर्तन आएन् ।

संगीत अभियात्रामार्फत जनतालाई जागरुक र सचेत बनाउन लागिएको उनले बताए । त्यस्तै सम्पूर्ण जनवादी कलाकारहरु एकसाथ भएर संगीत अभियात्रामा लागेको बताउँदै उनले भने यसबाट नेपालका कम्युनिष्टहरु एकजुट हुन पनि सन्देश दिन खोजिएको छ । नेपालका कम्युनिष्टहरु टुटफुटमा जाँदा देशको विकास हुन नसक्ने,जनजीविकामा परिवर्तन आउँन नसक्ने उनले बताए ।
मेला महोत्सवहरुमा पनि जनवादी कलाकारलाई नबोलाएर,जनवादी कलाकारलाई उपेक्षा गरेको कलाकारहरुले गुनासो पनि व्यक्त गरेका थिए ।

कार्यक्रममा जनवादी गायक जीवन शर्मा,माधव प्रधान,उदय श्रेष्ठ,निलिमा पुन,कर्ण विद्रोही,नारायण शर्मा,उदय रिजाल,लक्ष्मण पाख्रिन,अनु शर्मालगायतका जनावादी कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
चैत ४ गते शनिवार धनगढीको ओम पार्टी प्यालेसमा दिउँसो ३ वजेबाट हुने सांगीतक कार्यक्रममा निशुल्क प्रवेश रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया