संगीतमा सफल योगेन्द्र

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा योगेन्द्र उपाध्याय साधनाले खारिएका साधकका रुपमा परिचित छन् । उनी संगीतको रागमा रंगिएका छन् अनि संगीतको सुरमा सुरिएका छन् । संगीतको कर्डहरुमा खेल्दै थुप्रै कर्णप्रिय संगीत सिर्जना गरेका उनीद्वारा यस वर्षमात्रै संगीतवद्ध ४ वटा गीति एल्बम सार्वजनिक भएका छन् ।

यतिबेला उनी थप दुई एल्बमको तयारीमा छन् । योगेन्द्र व्यस्त संगीतकारका रुपमा चिनिन्छन् । संगीत पढेका वा राम्रोसँग संगीत बुझेका साधकहरु भाइरलको भन्दा पनि सधै उत्कृष्ट सिर्जनाको खोजीमा रहने गरेको उनले सुनाए । पछिल्लो समय आफूसँग सहकार्य गरिरहेका गीतकार तथा गायकगायिका उत्कृष्ट सिर्जनामा काम गर्न आतुर रहेको उनी बताउँछन् ।

उनले भने, ‘सबै उत्कृष्ट सिर्जना लोकप्रिय नहुने र सबै लोकप्रिय सिर्जना उत्कृष्ट नहुन सक्छन् । उत्कृष्ट सिर्जना लोकप्रिय भएमा त्यसले सुनमा सुगन्ध थप्छ ।’ आफ्ना अघिल्ला सिर्जनाभन्दा फरक र अब्बल सिर्जना कसरी गर्न सकिन्छ भन्नेमै उनको ध्यान रहन्छ । त्यसैले योगेन्द्रलाई धेरैले भाइरलको पछि नलागेरै सफल भएको संगीतकार भन्ने गर्छन् ।

संगीतकारको छाता संस्था संगीतकार संघका अध्यक्ष एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य चेतन सापकोटाले योगेन्द्रको कामबाट सम्पूर्ण संगीतकारले गौरवको अनुभूति गरेको सुनाए । सापकोटाले आफूले शब्दमा बयान गर्नुभन्दा पनि योगेन्द्रको साधना, त्याग, संगीतप्रतिको तपस्या र सिर्जनाले नै उनलाई अब्बल सावित गरिरहेको जनाए ।

यस्तै, गीतकार तथा प्रा.डा. बिनु बाबा अर्यालले योगेन्द्रको संगीतप्रतिको समर्पण धेरैका लागि उदाहरणीय भएको बताइन् । आफूले एल्बम तयार पार्ने बेलामा धेरै संगीतकारको नाम चर्चा भए पनि योगेन्द्रको संगीतप्रतिको समर्पण र संगीत सिर्जना गर्ने क्षमता देखेरै उनीसँग काम गरेको गीतकार अर्यालले सुनाइन् ।

गीतकार अर्यालको एकल शब्द र योगेन्द्रको एकल संगीतमा केही समयअघि शिव भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’ बजारमा ल्याइएको थियो । त्यसो त संगीतको औपचारिक शिक्षा लिएकैले पनि होला योगेन्द्र हरेक प्रकारका गीतसंगीत सिर्जना गर्न खप्पिस छन् ।

त्रिभुवन विश्वविद्यालयबाट संगीतमा मास्टर गरेका योगेन्द्र रेडियो नेपालको वर्गीकरणमा ए श्रेणीका संगीतकार हुन् । यसले पनि उनको क्षमता प्रष्टै झल्काउँछ । केही वर्षको संगीत सिकाइपछि आजभन्दा १२–१३ वर्षअघि उनले पहिलो पटक संगीत प्रतियोगितामा भाग लिएका थिए ।

पुशपति संगीत कला प्रतिष्ठानको आयोजनामा २०६७ सालमा सम्पन्न भक्तिसंगीत प्रतियोगीतामा उनी प्रथम भए । पहिलो प्रयासमै प्रथम भए पनि उनले आफूलाई सांगीतिक क्षेत्रमा निरन्तर लागिरहे । बरु विभिन्न प्रतियोगितामा भाग लिदै प्रथम स्थान हासिल गर्दै आए ।

उनी कृष्ण प्रणामी युवा परिषद् नेपालको आयोजनामा सम्पन्न राष्ट्रिय भक्तिसंगीत प्रतियोगिता २०६८ सालमा पनि सहभागी भइ प्रथम हुन सफल भए । २०६८ सालमै रेडियो नेपालबाट स्वर परीक्षासमेत पास गरेका योगेन्द्रले २०७१ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगितामा पनि प्रथम भए ।

एकपछि अर्को प्रतियोगितामा प्रथम भएका योगेन्द्रलाई अब भने गीत रेकर्ड गर्नका लागि संगीत स्रोताकै दबाब बढ्न थाल्यो । यता उनका संगीत गुरुले पनि औपचारिक रुपमा गीत रेकर्डका लागि सुझाव दिए । त्यसो त रेडियो नेपालले पनि राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगितामा प्रथम भएको संगीतकारको गीत चाहियो भन्ने स्रोताको माग रहेको बतायो ।

अनि उनले रेकर्ड गरे आफ्नो पहिलो गीत ‘तिमी मेरी’ । त्यस यता उनले पछाडि फर्केर हेर्नु परेन । उनी उत्कृष्ट सिर्जनाको पछि लागे, सफलता उनको पछि लाग्दै आयो । संगीत सिर्जनासँगै उनले संगीतको औपचारिक अध्ययन पूरा गरे ।

हाल उनी विभिन्न संगीत विद्यालयमा संगीतको अध्यापन पनि गराउँदै आएका छन् ।
‘काटिमा कुटी’, ‘क्लियर कट’, ‘सँगै हिडौन’, ‘जीवन मुस्कुराउनेछ’ जस्ता गीति एल्बम बजारमा ल्याएका योगेन्द्रका थुप्रै गीत चर्चित छन् । राम्रो काम गर्नेलाई सबैले हौसला दिन्छन् ।

उनले पनि विभिन्न संघ–संस्थाले सम्मान गर्दै अझ राम्रो सिर्जनाका लागि हौसला दिएको सुनाए । तेस्रो म्युजिक एण्ड फेसन अवार्ड २०७८ मा संगीतकार समान, बिलक्षण प्रतिभा राष्ट्रिय सम्मानजस्ता सम्मानबाट सम्मानित योगेन्दले जिनियस म्युजिक अवार्ड, क्वालिटी म्युजिक अवार्डलगायतका विभिन्न अवार्ड प्राप्त गरिसकेका छन् ।

संगीतको सैद्धान्तिक र व्यवहारिक ज्ञान राख्ने योगेन्द्रले सगरमाथा म्युजिक अवार्ड २०७९, निम अवार्ड २०२३ लगायतका अवार्डमा निर्णायक रहनुका साथै गायन रियालिटी सो नेपाल आइडल सिजन २ र ३ मा प्रि–जज र भ्वाइस अफ नेपाल सिजन ४ मा कोच एडभाइजर (टिम प्रमोद) का रुपमासमेत काम गरिसकेका छन् ।

प्रतिक्रिया