शीतल निवासमा आयोजित भव्य समारोहबीच सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण र निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ गरिएको छ । शपथ ग्रहणसँगै नयाँ राष्ट्रपति पौडेललाई नेपाली सेनाले २१ तोपको सलामी अर्पण गर्यो । यसैगरी निवर्तमान राष्ट्रपति भण्डारीलाई पनि २१ तोपको सलामी तथा सम्मानका साथ बिदाइ गरियो । संविधानले राष्ट्रपतिलाई नेपाली सेनाको परमाधिपति मानेको छ । पौडेलले पद तथा गोपनीयताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपतिलाई सरकारले जति सम्मानका साथ पदभार ग्रहण गरायो, त्यति नै सम्मानका साथ निवर्तमान राष्ट्रपतिलाई बिदाइ गर्यो । राष्ट्रप्रमुख परिवर्तनको यस्तो गौरवमय अवसर संघीय लोकतान्त्रिक गणतन्त्रको उपज हो । गणतन्त्र स्थापना नहुँदासम्म साविकको राष्ट्रप्रमुखको बिदाइ तथा नयाँ राष्ट्रप्रमुखको बहालीको क्षण ज्यादै नै दुःखद् हुने गर्दथ्यो । नयाँ राष्ट्रप्रमुखको बहाली र साविकको राष्ट्रप्रमुखको लाशलाई दागबत्ती दिने समय एउटै हुन्थ्यो । अर्थात राष्ट्रप्रमुखको लाश दरबारबाट निकाल्ने नयाँ राष्ट्रप्रमुखलाई गद्दीमा राख्ने तारतम्य सँगसँगै मिलाइन्थ्यो । अब साविकको राष्ट्र प्रमुखको दर्दनाक बिदाइ र नयाँ राष्ट्रप्रमुखको शोकाकुल बहाली इतिहासको रोचक कथा बनेको छ । निवर्तमान राष्ट्रपतिले नयाँ राष्ट्रपतिलाई पुष्पगुच्छाद्वारा स्वागत गर्ने र नयाँ राष्ट्रपतिले निवर्तमान राष्ट्रपतिलाई त्यसरी नै बिदाइ गर्ने सुखद् तथा उत्सवमय युग नेपालमा सुरु भएको छ ।
हिजो नेपालको राष्ट्रप्रमुख वंशजको आधारमा राजा हुने गर्थे, जसलाई श्री ५ पनि भन्ने गरिन्थ्यो । आज जनप्रतिनिधिहरूले सर्वसाधारण जनतामध्येबाट चुनेका व्यक्ति राष्ट्रप्रमुख बन्ने संवैधानिक व्यवस्था छ । सरसर्ती हेर्दा हिजो राजा जुन स्थानमा थिए, त्यो स्थानमा आज राष्ट्रपति भएको देखिन्छ । यो दृष्टिभ्रम मात्रै हो । तर, यो दृष्टिभ्रमबाट यसअघिका राष्ट्रपति डा.रामवरण यादव र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी मुक्त भएको देखिएन । नयाँ राष्ट्रपति पौडेल यो दृष्टिभ्रमबाट मुक्त हुन्छन् या हुन्नन् ? हेर्न बाँकी छ । राष्ट्रपति भनेको जनताको पद हो । मुलुकमा गणतन्त्र छ भन्ने प्रत्याभूति आफ्नो व्यवहारद्वारा दिने पद हो । तर विगतमा राजाजस्तै अहिले राष्ट्रपति आफ्नो निवास÷कार्यालयबाट आउजाउ गर्दा सडकमा ट्राफिक जामको तमासा नै प्रदर्शन हुन्छ । सुरक्षाकर्मीले ‘सवारी छ’ भन्दै सडकमा हिँडिरेहका जनतालाई दुःखदिने निरन्तरता भनेको गणतन्त्रको तीतो र भद्दा अनुभूति हो । सवारी, तोप–सलामीजस्ता कुरा गणतन्त्रमा सुहाउँदैन । यो त १८औँ/१९औँ शताब्दीको तामझामयुक्त शाही–सामन्ती प्रचलन हो ।
विगतका राष्ट्रपतिको तुलनामा नवनिर्वाचित राष्ट्रपति पौडेल निकै सक्रीय राजनीतिकर्मी हुन् । मुलुकमा वर्तमान शासन पद्धति कायम गर्न पौडेलको ठूलो भूमिका रहेको आमबुझाइ थियो । तर पौडेलले राष्ट्रपति पदमा पुग्ने लोभ गर्दै गर्दा उनी प्रतिको आमबुझाइ केबल भ्रम रहेछ भन्ने देखिएकै थियो । हाम्रो संविधानले परिकल्पना गरेको राष्ट्रपति भनेको सक्रीय राजनीतिबाट विलकुल निरपेक्ष र सर्वोच्च पद हो । यो पदमा राज्यको मूलधारबाट पछि परेको जाति वर्ग तथा समुदायको प्रतिनिधि पुगोस् भन्ने संविधानको अन्तैर्य हो । पौडेल जत्तिको सक्रीय नेताले यो कुरा आत्मासात गर्लान् भन्ने अपेक्षा थियो । तर उमेर र पार्टीभित्र आफ्नो भविष्य नदेखेपछि पौडेलले राष्ट्रपति पदतर्फ आफ्नो दुनो सोझ्याएको बुझ्न गारो छैन । जीवनको उत्तरार्धमा राष्ट्रपति पद प्राप्त गर्नु पौडेलका लागि व्यक्तिगत रूपमा सन्तोषको कुरा हो । राष्ट्रपति पदबाट अवकाश भएपछि राजनीतिमा सक्रीय हुन उनलाई अब उमेर अवस्थाले दिँदैन । यदि इमानदारी छ भने नयाँ राष्ट्रपति पौडेलले सवारी र सलामीलाई खारेज गर्न सक्नुपर्छ । यसका लागि संविधान र कानुनले छेक्दैनन्, त्यसमा परिवर्तन पनि गर्नु पर्दैन । गणतन्त्रको आभास दिन्छु भनेर वाचा गरेका नवनिर्वाचित राष्ट्रपति पौडेलको परीक्षा यहीँबाट प्रारम्भ हुनेछ । राष्ट्रपति पदमा निर्वाचित भएदेखि कार्यभार ग्रहण गरेको अवधीसम्मका चार दिन पौडेलले यो सन्देश दिन सकेका छैनन् ।
प्रतिक्रिया