स्ववियु निर्वाचनको औचित्य

आउँदो चैत ३, ५ र ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको पूर्वसन्ध्यामा अशुभ संकेतहरू देखिएका छन् । आफूलाई विद्यार्थी नेता भन्नेहरूले मुठभेड तथा अराजकतालाई प्राथमिकता दिएका छन् । स्ववियु कब्जामा लिने अभिष्टका लागि बल प्रयोगका घटना बढेका छन् । प्रतिस्पर्धी संगठनका बीच मात्रै होइन, एउटै संगठनभित्र पनि सांघातिक आक्रमणका घटना बढेका छन् । दिनदहाडै क्याम्पसभित्र नांगा खुकरी प्रदर्शन भएका छन् । केही वर्षअघि आफूबाहेक अरूलाई टेन्डरमा भाग लिन नदिन निर्माण व्यवसायीहरूले जे जसरी गुन्डा परिचालन गर्थे, त्यही झल्को स्ववियु चुनावको पूर्वसन्ध्यामा देखिएको छ । सबैभन्दा विडम्वनाको कुरा के छ भने, यसरी मुठभेडमा उत्रनेहरू जिम्मेवार राजनीतिकदलका कार्यकर्ताहरू नै हुन् ।

देशको नेतृत्व लिने ‘पाइप लाइन’मा बसेका जिम्मेवार राजनीतिकदलका युवा कार्यकर्ताहरूका यस्ता गतिविधिहरूले भोलिको नेपाल अझै कहालीलाग्दो हुने संकेत गरेको छ । मुठभेडका कारण धेरैजसो ठूला क्याम्पसहरूमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ । स्ववियुको निर्वाचनलाई नेपाली राजनीतिको ‘ब्याड’ अर्थात ‘नर्सरी’ भन्ने गरिन्छ । जसरी नर्सरीमा विरुवा तयार गरेर जंगल हुर्काइन्छ, त्यसरी नै विद्यार्थी राजनीतिका क्रममा प्रशिक्षित हुने युवाहरूले भोलि राजनीतिक दल तथा मुलुक हा“क्ने हुन् । नर्सरीमै रोगले आक्रमण गरेपछि बन विनास सुनिश्चित भए जस्तै विद्यार्थी राजनीतिमा खराब चरित्रका युवा हाबी भए भने भोलि लोकतन्त्रको सुरक्षा र संवर्धन कसले गर्ने ? यो प्रश्न कम पेचिलो छैन ।

नेपालको अग्रगामी कित्ताको राजनीति हिजोका विद्यार्थी नेताहरूले हाँक्दै आएका छन् । नेपालमा विद्यार्थी राजनीतिको इतिहास प्रजातन्त्रको इतिहासभन्दा लामो छ । स्वदेश भित्रको जयतु संस्कृतम आन्दोलन र प्रवासी विद्यार्थीहरूको चेतनाको उपज हो, ‘२००७ सालको जनक्रान्ति ।’ विद्यार्थी नेताहरूले धेरै ठूलो संघर्ष र बलिदान गरेको इतिहास ताजै छ । नेपालमा स्ववियु निर्वाचन हुन थालेको ०१९ सालदेखि हो । विद्यार्थीको हकहित त स्ववियुको घोषित जिम्मेवारी हुँदै हो । स्ववियु निर्वाचनकै क्रममा विद्यार्थीहरू विचार र सिद्धान्त लिएर प्रस्तुत हुन्थे । विचार र सिद्धान्तमा बहस हुन्थ्यो । मुलुकको सर्वांगीण विकास कसरी गर्न सकिन्छ ? जनतालाई कसरी अधिकार सम्पन्न गर्न सकिन्छ ? भन्ने मुद्दामा बहस हुन्थ्यो । तर आज स्ववियु निर्वाचनका क्रममा यस्ता बहसहरू इतिहासका दन्त्य कथाजस्ता बनेका छन् ।

स्ववियु निर्वाचन तथा विद्यार्थी राजनीति यथावस्थामा अगाडि बढ्यो भने मलुक दुर्घटनातर्फ धकेलिने निश्चित छ । अपराधको बाटो अवलम्वन गरेर स्ववियु कब्जा गर्ने र स्ववियुमा पुगेर भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाएको छ । यो प्रवृत्तिबाट दीक्षितहरूको प्रभुत्व प्रमुख राजनीतिदलमा बढिसकेको छ । यस्तै अवस्था रहेमा भोलि राजनीतिक दलहरू अपराधकर्मबाहेक अरू केही पनि नजानेको झुण्डको कब्जामा पुग्छ । त्यसबेला मुलुकको हालत के होला ? यदि राजनीतिक भ्रष्टाचार र राजनीतिक अपराधीकरण रोक्ने हो भने स्ववियुको प्रावधान तत्काल खारेज गर्नुपर्छ । हिजो पञ्चायतकालमा राजनीतिकदलमाथि प्रतिबन्ध लगाइएकोले वैचारिक बहस तथा निकासका लागि स्ववियु जरुरी पनि थियो, त्यतिबेला स्ववियु प्रभावकारी पनि थियो । तर अबको खुला राजनीतिमा स्ववियु आवश्यक हो वा होइन बहस हुनु जरुरी छ ।

स्नातकतहभन्दा माथिको शैक्षिक संस्थालाई प्राज्ञिक थलो मानिन्छ । प्राज्ञिक थलोमा बाहुबलको प्रतिस्पर्धा कुनै पनि हालतमा स्वीकार्य हुँदैन । शैक्षिक स्थल बाहुबलको थलो बन्दै जानुमा राजनीतिकदलहरूको नेतृत्व तह पनि उत्तिकै दोषी छ । भोलि पार्टी हाँक्ने युवा कार्यकर्तालाई बाहुबलीको प्रतिस्पर्धामा उतार्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो भन्ने हेक्का दलका नेताहरूले राख्नुपर्छ । स्ववियु कब्जा गर्दैमा राजनीतिक भविष्यको मार्ग प्रसस्त हुन्छ भन्ने सोच विद्यार्थी नेताहरूले अब नराख्दा हुन्छ । अबको राजनीति अघि बढ्ने भनेको विषयबस्तुमा विज्ञताका आधारमा हो । किनकी लोकतन्त्रमा जनताले आफ्ना प्रतिनिधि छनौट गर्दा धेरै विकल्प पाउ“छन् । उम्मेद्वारभन्दा मतदाताको चेतनास्तर माथि चढिरहेको छ । कुन उम्मेद्वार के विषयको ज्ञाता हो ? भन्ने हेक्का अबको मतदाताले राख्छन् । खुकुरी नचाएर नेता बन्छु भन्ने सोच भनेको मिति गुज्रिएको औषधिजस्तै हो भन्ने हेक्का राख्नु जरुरी छ ।

प्रतिक्रिया