फाकफोकथुममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इलाम । १३औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय खेलकुद प्रतियोगिता २०७९ आज (मंगलबार)देखि इलामको फाकफोकथुम गाउँपालिकामा सुरु भएको छ ।

फाकफोकथुम गाउँपालिका– ३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले गरेका हुन् ।

सधैं इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता प्रदेश सरकार खेलकुद विकास बोर्डअन्तर्गत जिल्ला खेलकुद विकास समितिले पहिलो पटक सदरमुकाम बाहिर सञ्चालन गरेको हो ।

यसअघि राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत ११औँ संस्करणको प्रतियोगिता भने सूर्योदय नगरपालिकाको करफोक माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको थियो ।

प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम चारवटा र जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा एक गरी पाँच वटा विधाको खेल सञ्चालन हुनेछन् । राष्ट्रपति रनिङ शिल्ड सञ्चालन निर्देशिकाबमोजिम प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट सञ्चालन हुनेछन् ।

एथलेटिक्स अन्तरगत दौड (ट्रयाक) तर्फ र उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ एवं मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसु सञ्चालन हुनेछन् । जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा रग्वी खेल सञ्चालन हुनेछ ।

प्रतियोगिताका लागि १० वटै स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरी छनोट भएका खेलाडीहरु सहभागी भएका छन् । प्रतियोगितामा खेलाडी र व्यवस्थापन टिमका कररिब एक हजार जना सहभागी भएको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिए ।

प्रतियोगितामा सम्पूर्ण खेलको नतिजालाई एकीकृत गरी पालिकालाई विजेता तथा उपविजेता घोषणा गरिनेछ । प्रतियोगिताका विजेता तथा उपविजेता टिम र खेलाडीले पदक, नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको व्यवस्थापनको काम फाकफोकथुम गाउँपालिकाले गरेको छ ।

खेलाडी र व्यवस्थापक टिमलाई गाउँपालिकाले स्थानीय बस्तीहरुमा होमस्टेको अवधारणाअनुसार राख्नेछ । त्यसका लागि एक सय घरलाई होमस्टेको रुपमा तयारी गरेको छ । प्रतियोगिता उद्घाटन कार्यक्रमको अवसरमा लिम्बू जातिको मौलिक नाच च्याब्रुङ (केलाङ) एवम् पञ्चेबाजासहितको टोलीले अतिथिहरुलाई स्वागत गरेका थिए ।

अहिले उद्घाटन कार्यक्रमको अवसरमा मार्चपास र झाँकी प्रदर्शन भइरहेको छ । कार्यक्रममा फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलसहित सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागीता रहेको छ ।

प्रतिक्रिया