चितुवाको आहारा बन्दै बालबालिका

विगत पाँच वर्षको अवधिमा तनहुँ जिल्लाका १४ जना बालबालिका चितुवाको सिकार बनेको जिल्ला वन कार्यालयले जनाएको छ । भानु नगरपालिकाका मात्रै पाँच जना बालबालिका यो अवधिमा चितुवाको सिकार बनेका छन् । सहायक वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार चितुवाको आक्रमणबाट डेढ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको ज्यान गएको छ । चितुवाको आक्रमणबाट भानु–४ की रञ्जिता लम्साल, भानु–२ का पुष्पा अधिकारी, अमृत गुरुङ र ऋतिक रोका, भानु–१ का कुशल बानिया, शुक्लागण्डकी नगरपालिका–३ का रविन नेपाली, आबुखैरेनी नगरपालिका–१ का पुजन सिञ्जाली, बन्दीपुर–४ का इसाक सुनार र शुक्लागण्डकी–२ नारन रानाको मृत्यु भएको छ । यसैगरी चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठ छन् । घर पालुका जनावर तथा पंक्षिको क्षति त अझै ठूलो छ । यो एक वर्षको अवधिमा मात्रै ६९ वटा बाख्रा, पाँच वटा बुंगुर, तथा एक÷एक वटा गाई, पाडो र सुँगुर चितुवाले मारेको छ । पुग नपुग तीन लाख जनसंख्या बस्ने र राष्ट्रिय निकुञ्जसँगसमेत नजोडिएको सुगम तथा विकसित जिल्ला तनहुँमा त यस्तो अवस्था छ भने मुलुकका दूरदराज तथा घनाजंगलको नजिक कतिसम्म कहालीलाग्दो अवस्था होला ? सहजै अनुमान गर्न सकिन्छ ।

तराईमा गैँडा, हात्ती तथा बाघको आतंक तथा पहाडमा चितुवाको आतंक सामान्य भइसकेको छ । यस्ता हिंस्रक जंगली जनावरहरू बस्तीभित्रै छिर्न थालेका छन् । गत शुक्रबार पर्वत जिल्लामा स्थानीय जनताले बस्तीभित्र आतंक मच्चाएको एउटा चितुवालाई मारेका थिए । प्रहरीलाई समेत रोहबरमा राखेर खिचिएको उक्त फोटो अहिले पनि सामाजिक संजालमा भाइरल बनिरहेको छ । गत वर्ष पर्वतमै स्थानीय जनताले एउटा बुढो चितुवालाई पक्रेर घाँटीमा दाम्लो बाँधी बाख्रालाई जस्तै डो¥याएको फोटो, भिडियो भाइरल बनेको थियो । चितुवा दुर्लभ सूचीमा राखेर संरक्षण गरिएको बन्यजन्तु हो । तर पछिल्ला दिनमा न मानिसहरू चितुवाबाट सुरक्षित भए न चितुवा मानिसबाट सुरक्षित भएका छन् । जंगलमा पानीको स्रोत तथा आहारा रित्तिदै गएपछि चितुवा गाउँभित्र छिरेर ठूलो नोक्सानी पु¥याउने क्रम बढिरहेको छ । आफ्ना बालबालिका नै सिकार गर्ने चितुवालाई पनि स्थानीय जताले खोजी खोजी मार्न थालेका छन् । यसका न चितुवाको दोष छ, न सर्वसाधारण मानिसको दोष छ । आखिर यसमा दोष कसको छ त ? भन्ने प्रश्नको उत्तर गम्भीर रूपमा खोज्नु जरुरी छ ।

पहाडका ग्रामीण क्षेत्रमा चितुवाबाट मानिस मारिने र मानिसबाट चितुवा मारिने घटना बढ्दै जानुका कारणहरू धेरै हुन सक्छन्, तर मुख्य कारण भनेको नीति निर्माणतहमा बस्नेहरूलाई प्राप्त हुने गलत सूचना तथा यस्ता गलत सूचना दिने एनजिओ र आइएनजिओकर्मीहरू नै हुन् । वन्यजन्तु संरक्षणको मामिलामा विदेशबाट डलर ल्याउने एनजिओकर्मीहरू प्रायः फिल्डमा जाँदैनन्, काठमाडौंमै बसेर प्रतिवेदन लेख्छन् । चितुवाको बासस्थानमा मान्छे बस्न थालेको कुरा उनीहरूले आफ्नो प्रतिवेदनमा उल्लेख गर्छन् । तर यथार्थता ठीक उल्टो छ । पहाडी क्षेत्रका डाँडाकाँडाका धेरैजसो खेतबारी तथा बस्तीहरू जंगलमा परिणत भइसकेका छन् । मान्छे नै बस्न छाडेपछि जंगल बढेको छ । जंगली जनावर बढेका छन् । तर, उनीहरूले खाने आहारा बढेन । जसको सिकार मानिस र घरपालुवा जनावर तथा पंक्षीहरू हुन पुगेका छन् । पहाडका गाउ“को बसाई झन्झन् असुरक्षित हुन थालेको छ । आफ्ना बालबच्चा तथा घरपालुवा जनावर चितुवाको सिकार बन्ने, लगाइएको खेतीपाती बाँदर दुम्सी तथा चराचुरुंगीले सखाप पारिदिने अवस्था झन् बढ्दो छ । जसका कारण पहाडका पुराना बस्तीहरू थप उजाड बनेका छन् । वन्यजन्तु र मान्छे संरक्षणको काम स“गै गर्नुपर्छ । तर मानव र वन्यजन्तुबीचको द्वन्द्व जारी छ ।

प्रतिक्रिया