राष्ट्रपति रनिङ शिल्ड : पहिलो पटक सदरमुकाम बाहिर हुँदै

इलाम । १३औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी २३ देखि २५ फागुनसम्म इलामको फाकफोकथुम गाउँपालिकामा सञ्चालन हुने भएको छ ।

सधैँ इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता यसवर्ष पहिलो पटक सदरमुकाम बाहिर आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समिति इलामले जनाएको छ । सोमबार खेलकुद विकास समितिको कार्यालयमा पत्रकार भेटघाट आयोजना गरी प्रतियोगिताको तयारी तीब्र पारिएको जानकारी गराएको छ ।

प्रतियागिता फाकफोकथुम गाउँपालिका ३ स्थित सिंहदेवी माध्यमिक विद्यालय खेलमैदान आमचोकमा सञ्चालन जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।

प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम चारवटा र जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा एक गरी पाँच वटा विधाको खेल सञ्चालन हुनेछन् । निर्देशिका बमोजिम प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट सञ्चालन हुनेछन् ।

एथलेटिक्स अन्तरगत दौड (ट्रयाक) तर्फ र उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ एवं मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसु संचालन हुनेछन् । जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा रग्वी खेल संचालन हुनेछ ।

प्रतियोगिताका लागि १० वटै स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरिसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोलाले जानकारी दिए । प्रतियोगितामा खेलाडी र व्यवस्थापन टिमका गरी ढ सयदेखि एक हजार जनाको उपस्थिती हुने अनुमान गरिएको बाँस्तोलाले बताए ।

प्रतियोगितामा सम्पूर्ण खेलको नतिजालाई एकीकृत गरी पालिकालाई विजेता तथा उपविजेता घोषणा गरिनेछ । प्रतियोगिताका विजेता तथा उपविजेता टिम र खेलाडीले पदक, नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सफल बनाउन फाकफोकथुम गाउँपालिकाले व्यवस्थापनको काम गरिरहेको छ ।

खेलाडी र व्यवस्थापक टिमलाई व्यवस्थापनका लागि पालिकाले स्थानीय बस्तीहरुमा होमस्टेको अवधारणा अनुसार तयारी गरिरहेको छ । प्रतियोगितालाई लक्षित गरी बसोबास व्यवस्थापन गर्न गाउँपालिकाले स्थानीय एक सय घर तयारी गरेको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १६ लाख खर्च हुने भएपनि प्रतियोगिताका लागि प्रदेश सरकारबाट करिब चार लाख रुपैयाँ मात्र प्राप्त भएकाले अरुकै आशा गर्नुपरिरहेको अध्यक्ष बाँस्तोलाले बताए । बाँकी खर्च व्यवस्थापनका लागि सबै पालिकाहरुसँग सहयोग माग गरिएको उनले बताए ।

उसो त विगतमा सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता पहिलोपटक ग्रामीण क्षेत्रमा संचालन गर्न चुनौतीपूर्ण रहेको खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोला बताउँछन् ।

‘सधैं सदरमुकाममा संचालन हुँदै आएको प्रतियोगिता पहिलो पटक सदरमुकाम बाहिर आयोजना गर्ने हिम्मत गरेका छौं । यसमा थुप्रै अप्ठ्याराहरु छन्’ खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोलाले भने, ‘तर संघीयताको कार्यान्वयन खेलकुद क्षेत्रबाटै गरौं भन्ने उद्देश्यले सदरमुकामबाहिर आयोजना गर्न लागेका हौँ, यो वर्षको प्रतियोगिता सफल बनाइयो भने आगामी दिनमा समेत अन्य पालिकामा संचालन हुनेछ ।’

प्रतिक्रिया