रुकुम पूर्व अस्पतालमा औषधि अभाव, बिरामीलाई सास्ती

रुकुमकोट । रुकुम पूर्व अस्पतालमा पर्याप्त औषधि नहुँदा बिरामी समस्यामा परेका छन् । जिल्ला अस्पताल रुकुमकोटमा सामान्य औषधि पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन् ।

जिल्लाको सिस्ने गाउँपालिका–५ स्थित जिल्ला अस्पतालमा दैनिक ५० देखि ७० हाराहारीमा बिरामी आउने गर्दछन् । अस्पतालका डाक्टरहरूले जाँच गराएको पुर्जी हातमा थमाई औषधि लिन निजी मेडिकलमा पठाउने गरेको बिरामीले गुनासो रहेको छ ।

०७६ मंसिरदेखि अस्पतालले सेवा प्रवाह सुरु गरेको थियो । जिल्ला अस्पतालबाट गुणस्तरीय र सर्वसुलभ सेवा पाउने आशमा रहेका जिल्लावासीको सपना अहिलेसम्म पूरा हुन सकेको छैन । आफू अस्पताल जाँदा आवश्यक औषधि नपाएको सिस्ने–५ कि सम्झना बुढाथोकीले बताइन् । अस्पतालबाट फर्किंदै गर्दा धेरैले औषधि नपाएर फर्केको गुनासो सुनेको उनले बताइन् ।
जिल्ला अस्पतालबाट अपेक्षा अनुरूप सेवा प्रवाह नभएको अर्की सबिता बुढाथोकीले गुनासो पोखिन् । भएको स्रोत साधन र जनशक्तिको प्रयोग गरे बिरामीले राम्रो सेवा पाउनेमा द्विबिधा छैन । अस्पतालको प्रशासन शिथिल छ । सिस्ने–६ का वसन्त प्रकाश श्रेष्ठले भने, ‘अनुगमनको संयन्त्र छैन कि जस्तो लाग्छ ।’

‘हाम्रो जिल्लामा अस्पतालको क्षमताभन्दा बढी बिरामी आउने बाक्लो जनसंख्या पनि छैन’, उनले थपे, ‘भएको स्रोत साधनको पनि उपयोग नगरेको देखिन्छ । यहि स्रोतलाई ब्यवस्थापन गर्ने हो भन्ने सन्तोषजनक सेवा प्रवाह हुन सक्छ ।’ कमजोर प्रशासन र व्यवस्थापनकै कारण अस्पतालमा औषधि अभाव भइरहेको श्रेष्ठको बुझाइ छ ।
केही जटिलताले अस्पतालको सेवा प्रभावकारी नभएको अस्पतालका फार्मेसी सहायक विश्व नाथले बताएका छन् । ‘अहिले एन्टिबायोटिक औषधिसँगै इमरजेन्सी इन्जेक्सन छैन’, उनले भने, ‘बच्चाका लागि पल्स अक्सिमिटर, अक्सिजन र नेबुलाइजर मास्क छैन ।’

थप औषधि तत्काल आउने छाँटकाँट नदेखिएको उनको भनाइ छ । पर्याप्त औषधि नहुँदा बिरामीलाई जाँच गर्दै उपलब्ध औषधि दिएर थप औषधिको लागि मेडिकल पठाउने गरेको अस्पतालका डाक्टर पूर्णबहादुर पुनले बताए । स्वास्थ्यचौकीको भवनबाटै जिल्ला अस्पतालको सेवा प्रदान गरिरहेको र औषधि अभाव हुँदा उपचारमा समस्या भइरहेको उनले बताएका छन् । ‘सरकारले ९८ प्रकारका औषधि अस्पतालबाट निःशुल्क बिरामीलाई उपलब्ध गराउने ब्यवस्था छ । डाक्टर पुनले भने, ‘हाम्रो अस्पतालमा मुस्किलले ४०÷४२ प्रकारका औषधि मात्र उपलब्ध छन् ।

‘५० शय्याको अस्पतालमा अहिले १२ बेडबाट सेवा प्रवाह भइरहेको छ । सामान्य अवस्थामा अस्पतालमा भर्ना हुने बिरामीलाई यहि बेडबाट सेवा दिइरहेका छौँ’, उनले भने, ‘दुर्घटना हुँदा घाइतेको उपचारमा समस्या हुन्छ ।’ ११ विशेषज्ञ डाक्टरको दरबन्दीमा एक जना मात्र अस्पतालमा उपलब्ध रहेको अस्पताल स्रोतले बताएको छ । अस्पताल स्रोतले भन्यो, ‘दरबन्दी अनुसारको कर्मचारी, भौतिक संरचना, औषधिको अपर्याप्तताले सेवा प्रवाहमा समस्या छ । बिरामीबाट पटकपटक आलोचित हुनुपरेको छ ।’

अस्पताल व्यवस्थापन समिति, स्थानीय सरकार र प्रदेश सरकारसँग पटकपटक अस्पतालको समस्या राख्दै आए पनि समाधान नभएको अस्पतालले जनाएको छ । यहाँ केही समयअघिबाट शल्यक्रिया सेवा सुरु भएको छ । यो सकारात्मक पक्ष हुँदाहुँदै डिजिटल एक्स–रे सेवा नियमित सञ्चालनका लागि जेनेरेटर नहुँदा बत्तीबाट मात्र सञ्चालन गर्न सकिएको चिकित्सकको भनाइ छ ।

जिल्लामा भनेजस्तो सेवासुविधा नपाउँदा जिल्लाका नागरिक जटिल प्रकृतिको रोगको उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओलीले पटकपटक प्रदेश सरकारसँग औषधिको माग गरे पनि सुनुवाइ नभएको जानकारी दिइन् । सामान्य औषधि अस्पतालमा नहुँदा नागरिकबाट अस्पताललाई हेर्ने दृष्टिकोण फेरिन थालेको छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया