‘सौन्दर्य र संस्कृति चिन्तन’ विमोचित

काठमाडौं । संस्कृतिकर्मी तथा प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवालीद्वारा लिखित ‘सौन्दर्य र संस्कृति चिन्तन’ को विमोचन भएको छ । जनसांस्कृतिक महासंघ नेपाल, अखिल नेपाल लेखक संघ र भुँडीपुराण प्रकाशनले संयुक्त रुपमा गरेको उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उक्त कृति सार्वजनिक गर्दै नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनमा ज्ञवालीको विशिष्ट योगदान रहेको बताए । उनले कृतिमा प्रगतिवादी सांस्कृतिक पक्षलाई गहन ढंगले उठाउन खोजिएको विचार व्यक्त गरे । कार्यक्रममा प्रगतिशील लेखक संघका अध्यक्ष डा.मधुसूदन गिरीले समाजको प्रगतिशील रुपान्तरणमा कला साहित्यको भूमिका विशिष्ट रहने बताउँदै ज्ञवालीको कृतिले नेपाली समाजमा रहेका वर्गीय विभेदलाई केलाएको बताए ।

भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको यस कृतिमा प्रगतिवादी दृष्टिकोण र संस्कृतिलाई केलाइएको प्रा.डा.हेमनाथ पौडेलले बताए । उनले कृतिले जनयुद्धको सौन्दर्यलाई निकै गहन ढंगले उठान गरेको जिकिर गरे । भाषाविज्ञ डा. गोपाल ठाकुरले नेपाली समाजमा रहेको विभेदलाई चिर्न र समाजको प्रगतिशील रुपान्तरणका लागि ज्ञवालीद्वारा लिखित यस कृतिले महत्वपूर्ण भूमिका खेल्नेमा आफू आशावादी रहेको बताए । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले कृतिमा नेपाली समाज, दर्शन, संस्कृति, राजनीति र विश्व परिवेशका विविध आयामका बारेमा चित्रण गरिएको बताए । उनले समाजवादी लक्ष्यलाई समाउन कला, साहित्य र संस्कृतिको जग बलियो बन्नु पर्ने धारणा व्यक्त गरे ।

लेखक ज्ञवालीले पुस्तक विभिन्न समयमा लेखिएका खोजपरक कार्यपत्रहरु र अन्वीक्षणात्मक लेखहरुको संकलन भएको बताए । उनले भने, ‘संस्कृति र सौन्दर्य चिन्तन कृतिमा जनयुद्ध र त्यसले निर्माण गरेको संस्कृतिका बारेमा बहस गरिएको छ । साथै समाज रुपान्तरणका लागि गरिएको उत्सर्ग र त्यसले बनाएको संस्कृतिका विविध आयाम र परिवेशलाई उतार्ने कोशिस गरिएको छ ।’ सौन्दर्य, संस्कृति तथा समालोचनामा केन्द्रित रही पुस्तक तयार पारिएको ज्ञवालीले बताए ।

अखिल नेपाल लेखक संघका अध्यक्ष डा.धनप्रसाद सुवेदीले ‘सौन्दर्य र संस्कृति चिन्तन’ कृतिमा लेखकले नेपाली समाजको अवस्था र त्यसको अवस्थालाई माक्र्सवादी दृष्टिकोण अनुसार चित्रण गरेको बताए । जनसांस्कृतिक महासंघ नेपालका महासचिव सुवर्ण हमालले ज्ञवाली नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनको एक विशिष्ट प्रतिभा भएको बताए ।

प्रकाशक संस्थाका केशव पराजुलीले संस्कृतिका क्षेत्रमा गहिरो विमर्श पुस्तकमा गरिएको बताए । उनले लेखक तथा चिन्तक ज्ञवालीले यो कृतिमा गहन अध्ययन, प्रशस्त परिश्रम गरेर अनुसन्धानात्मक, खोजमूलक, विश्लेषणात्मक एवं चिन्तनपरक लेख रचनाहरु पस्केको जिकिर गरे । पराजुलीले भने, ‘पुस्तकमा सांस्कृतिक रुपान्तरण वा सांस्कृतिक परिवर्तनद्वारा नयाँ संस्कृति निर्माणको प्रश्नलाई गाढा विश्लेषण गरिएको छ भने सांस्कृतिक प्रवृत्तिहरु केलाउँदै पुरानो र नयाँ संस्कृतिको द्वन्द्व, सांस्कृतिक क्षेत्रका विद्रूपता, विश्लेषण गरिएको छ ।’

प्रतिक्रिया