शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा

५ खर्ब ८५ अर्ब रेमिटेन्स भित्रियो

काठमाडौ । चालु आर्थिक बर्षको पुस मसान्त सम्म शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाले बचतमा देखिएको छ । सोमबार नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको ६ महिने देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले सो कुरा देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ ।

त्यसैगरी यो अवधिमा रेमिटेन्स २४.३ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा ५ खर्ब ८५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो । गत वर्षको यही अवधिमा ४ खर्ब ७० अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो । वैदेशिक रोजगारीमा जानेको संख्यामा ६ महिनामा गत वर्षको यही अवधिको तुलनामा ६४ प्रतिशतले वृद्धि भएको पनि तथ्याकंले देखाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा २ लाख ७५ हजार नयाँ श्रम स्वीकृतिमा रोजगारीको लागि बाहिरिएका थिए । त्यस्तै, श्रम स्वीकृति नवीकरण गरेर जानेको संख्या पनि ९.५ प्रतिशतले बढेर एक लाख ४२ हजार नाघेको पनि सोही प्रतिवेदनमा उल्लेख छ । रेमिटेन्समा भएको बृद्धि, पर्यटन क्षेत्रबाट प्राप्त आम्दानी, आयातमा आएको कमीको कारण मुलुकको भुक्तानी सन्तुलन सकारात्मक दिशमा गएको छ ।

वैदेशिक व्यापार

आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु निर्यात ३२ प्रतिशतले कमी आई ८० अर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४०.१ प्रतिशत र २५.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ३.६ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई ७९२ अर्ब ६७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५१.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.४ प्रतिशत, २४.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले कमी आई ७११ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४६.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.६० अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.११० अर्ब ९१ करोड बराबरको भएको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति

६ महिने अवधिमा चालु खाता २९ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.१ प्रतिशतले कमी आई ४ अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.११ अर्ब ३४ करोड रहेको थियो ।

यो अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति

२०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा १३३७ अर्ब २९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२.० प्रतिशतले वृद्धि भई ११८३ अर्ब ३७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई रु.१५३ अर्ब ९१ करोड कायम भएको छ । २०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।

तरलता व्यवस्थापन

यो अवधिमा बैंकबाट रिपोमार्फत ३१८ अर्ब ९ करोड, सोझै खरिद बोलकबोलमार्फत ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत २६९२ अर्ब ८३ करोड गरी कुल ३०९४ अर्ब ७६ करोड खुद तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद ३३०६ अर्ब ९६ करोड तरलता प्रवाह गरिएको थियो ।

त्यसैगरी बैक तथा वित्तीय संस्थाले विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ७६ करोड खुद खरिद गरी ३५८ अर्ब ९० करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६७ करोड खुद खरिद गरी ८० अर्ब २६ करोड तरलता प्रवाह गरिएको थियो । अमेरिकी डलर २ अर्ब २८ करोड बिक्री गरी २९६ अर्ब २२ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब १८ करोड बिक्री गरी रु.२६० अर्ब ७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

प्रतिक्रिया