साँखुका बासिन्दाबाट सिक्नुपर्ने पाठ

साँखु बजारभन्दा पूर्वतर्फ मनोहरा नदीमा मिसिने एउटा सानो खोला छ । त्यो खोला नै श्रीस्वस्थानी व्रत कथामा उल्लिखित शालीनदी भएको जनविश्वास छ । यही जनविश्वासका कारण हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखु क्षेत्रमा एक महिने माधवनारायण (श्रीस्वस्थानी) मेला लाग्ने गर्छ । यस वर्षको एकमहिने श्रीस्वस्थानी मेला गत आइतबार सम्पन्न भएको छ । यस वर्ष ३० लाख भक्तजनहरू मेलामा सहभागी भएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिले जनाएको छ । मेलाबाट मन्दिरमा चढाइएको रकम बाहेक १ करोड २ लाख रुपैयाँ सहयोग संकलन भएको समितिले जनाएको छ ।

श्रीस्वस्थानी व्रतको आरम्भ तथा सांगेका दिन व्रतालुहरू साँखु शालीनदीमा स्नान गर्न जाने चलन पुरानो हो, तर केही दशक अघिसम्म व्रतालु तथा दर्शनार्थीको उपस्थिति निकै पातलो हुन्थ्यो । फाट्टफुट्ट मात्रै मान्छेहरू पुग्थे । अघिपछि त एक्लै दुक्लै दिउँसो पुग्दा पनि डर लाग्ने सुनसान अनकन्टार खोल्सो थियो यो । तर पछिल्ला दशकमा स्थानीय जनताले शालीनदीको प्रचार प्रसारलाई व्यापक बनाए । शालीनदी क्षेत्रका जीर्ण मन्दिरहरू पुनःनिर्माण गरे । थप मन्दिरहरू निर्माण गरे । अन्य पूर्वाधार पनि निर्माण गरे । काठमाडौं सहरबाट साँखु क्षेत्रमा जाने सडकलाई फराकिलो र व्यवस्थित बनाए । यातायातका साधनको समुचित व्यवस्था मिलाए । यतिबेला काठमाडौंको साँखु क्षेत्र पशुपतिनाथ र स्वयम्भुनाथ पछि सबैभन्दा बढी भक्तजनहरू पुग्ने धार्मिक गन्तव्य बनेको छ ।

एक महिनामा सहयोग स्वरूप संकलन भएको एक करोड रुपैयाँको महत्व आफ्नो ठाउँमा होला । राजधानी काठमाडौं सहरबाट करिब १५ किलोमिटर दुरीमा रहेको साँखुमा ३० लाख दर्शनार्थी आवतजावत गर्दा यातायात व्यवसायीहरूले गरेको आम्दानीको पनि छुट्टै आर्थिक महत्व छ । दर्शनार्थीहरूले गर्ने किनमेलको आर्थिक महत्व पनि छुट्टै छ । हरेक वर्ष दर्शनार्थीको संख्या बढ्दो छ । वर्षमा एकपटक लाग्ने एकमहिने मेलाका अवसरमा मात्रै होइन अघिपछि पनि साँखु क्षेत्रमा पर्यटकहरू थपिन लागेका छन् । राजधानी काठमाडौं घुम्न आउने नेपाली पर्यटकहरू धेरैजसो साँखु क्षेत्रमा पनि पुग्न थालेका छन् । लुकेर रहेको धार्मिक गन्तव्यलाई उजागर गर्न साँखुबासीको वर्तमान पुस्ताको ठूलो योगदान छ । त्यसवाहेक दान तथा सहयोग रकमको सदुपयोग गर्दै थप पूर्वाधार विस्तार गरिएको छ ।

नेपालमा धार्मिक पर्यटकीय संभावना बोकेका स्थानहरू निकै धेरै छन् । तर, धार्मिक पर्यटक आकर्षित गर्ने मामिलामा धेरै कमीकमजोरी विद्यमान छन् । गोरखाको मनकामनाकै उदाहरण लिउँ । एक जना व्यापारीले केबुलकार निर्माण गरिदिए यता मनकामना मन्दिरमा पनि दर्शनार्थीहरूको संख्या निकै बढेको छ । तर, त्यसको लाभ उनै व्यापारीले उठाएका छन् । केबुलकारको भाडा निकै महँगो भएका कारण मनकामना क्षेत्रले खासै आम्दानी बढाउन सकेको छैन । यति महत्वपूर्ण धार्मिक तीर्थस्थल आवतजावतका लागि कुनै एक व्यक्तिको सिन्डिकेट कायम राख्ने कि ? नराख्ने ? भन्नेतर्फ मनकामनावासीले ध्यान दिनु जरुरी छ । मन्दिर व्यवस्थापन समिति आफँैले सहुलियत दरमा केबुलकार सञ्चालन गर्नेतर्फ सोच्नु जरुरी छ । मनकामना क्षेत्रको देखासिखी गर्दै मुलुकका अन्य धार्मिक क्षेत्रमा समेत धमाधम केबुलकार बनिरहेका छन् । केबुलकार बन्नु राम्रो कुरा हो, बाटोमा पर्ने स्थानीयहरूको रोजगारी खोसिनेबाहेक केबुलकारले खासै ठूलो नोक्सान पु¥याएको देखिन्न, तर मनोमानी रूपमा भाडा तोकिनु भनेको एक प्रकारको लुट हो ।

धार्मिक क्षेत्रका यस्ता केबुलकारहरू कुनै व्यक्तिले भन्दा पनि समुदायले सञ्चालन गर्नुपर्छ । यसैगरी मन्दिरमा चढाइने भेटी तथा चन्दा पारदर्शी गरिनुपर्छ । जति धेरै पारदर्शी र सदुपयोग गरियो त्यति नै धेरै चन्दा तथा भेटी संकलन हुन्छ भन्ने ताजा उदाहरण हो, ‘म्याग्दीको गलेश्वर धाम ।’ पारदर्शी नगरिँदासम्म म्याग्दीको गलेश्वरधाममा वार्षिक १०÷२० हजार रुपैयाँ आम्दानी हुन्थ्यो, तर पारदर्शी बनाउन थालिएपछि यतिबेला वार्षिक एक करोड रुपैयाँभन्दा बढी संकलन हुन्छ । जबकी दर्शनार्थीहरूको संख्या खासै धेरै बढेको छैन ।

प्रतिक्रिया